नेपालगन्ज–कोहलपुर जोडेर एउटै मेगा सिटि बनाउने प्रदेश सरकारको योजना बिस्तारै अगाडि बढ्न थालेको छ ।
प्रादेशिक सरकारको नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गरेको नेपालगन्ज महानगरको अवधारणा कार्यान्वयन प्रक्रियाले बिस्तारै गति लिने भएको छ । त्यसका लागि कुन बाटो अगाडि बढ्ने भन्ने कुरामा सम्बद्धहरु बीच छलफल, बहस सुरु भएको हो ।
‘काठमाडौं विकास प्राधिकरणको मोडेलमा लैजाने कि नयाँ कुनै मोडेलको विकास गर्ने भन्ने कुरामा छलफल अघि सारेका छौं’, प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि सम्बद्ध मन्त्रालयले अवधारणालाई बिस्तारै प्रारुपमा लैजान्छ ।’ डा. श्रेष्ठका अनुसार, प्रशासनिक र संस्थागत संरचना तयार गरेर कार्यान्वयन प्रक्रिया अगाडि बढ्नेछ ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पटकपटक नेपालगन्जलाई महानगरका रुपमा विकास गर्ने, उक्त महानगर आर्थिक विकासको दृष्टिले देशकै केन्द्र बन्ने अवधारणा प्रस्तुत गर्दै आएका छन् । नीति तथा कार्यक्रम र पछिल्लो बजेटले नेपालगन्ज–कोहलपुर, तुल्सीपुर–घोराही र भैरहवा–वुटवललाई छुट्टाछुट्टै ३ वटा महानगर परिकल्पना गरेको छ । ‘यो एउटा महत्वपूर्ण सोंच हो’, प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले योजना आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री पोखरेलको अवधारणाबारे भने, ‘यसले क्रमशः कार्यान्वयनको स्वरुप ग्रहण गर्नेछ ।’
नीति तथा कार्यक्रम र बजेटले प्रदेश ५ का तीन वटा महानगरको परिकल्पना गरेर कार्यान्वयनका लागि पूर्वाधार तयार गर्न बजेट पनि छुट्याएको छ । यी तीन वटै महानगरको लिङ्का लागि विद्युतीय बस सेवा प्रस्ताव गरिएको छ । ‘अन्तिम स्वरुप आइसकेको छैन’, डा. श्रेष्ठले बिस्तृत कानुनी प्रारुप तयार भएपछि मुख्यमन्त्रीको नीति तथा कार्यक्रमले कार्यान्वयनको स्वरुप ग्रहण गर्ने जानकारी दिए ।
महानगरबारे सुरुदेखि नै पक्षधर रहेका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले आफुले २० बर्षदेखि ‘ग्रेटर नेपालगन्ज’का नाममा महानगरको वकालत गरिरहेको बताउँछन् । ‘मेरो सोंच नेपालगन्ज, खजुरा र कोहलपुरलाई जोडेर विशाल महानगर बनाउने भन्ने हो’, मुख्यमन्त्रीको अवधारणाबाट आफु खुशी भएको प्रतिक्रिया दिंदै नगर प्रमुख राणाले भने, ‘मेरो सोंचसँग मुख्यमन्त्रीको अवधारणा मिलेपछि मलाई खुशी लागेको छ ।’ डा. राणाले महानगरको अवधारणा बिस्तारै कार्यान्वयनमा जाने कुरामा विश्वस्त हुँदै दैनिक नेपालगन्जसँग भने, ‘आगामी निर्वाचनसम्म यसले मूर्त रुप लिनेछ ।’ त्यसअघि आ–आफ्ना स्थानीय तह विद्यमान रहेकाले अध्ययन गर्ने, प्रारुप तयार गर्ने र कार्यान्वयनका विधि, प्रक्रिया निर्माणमै समय बित्दै जाने डा. राणाको भनाइ छ । ‘अहिले नै महानगर कार्यान्वयनमा आउँछ भन्ने कुरा चाहीँ त्यति सजिलो विषय होइन’, नगर प्रमुख डा. राणाले भने, ‘आगामी निर्वाचनसम्म आवश्यक पूर्वाधारहरु पनि निर्माण हुँदै जान्छन् ।’
प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले महानगरको अवधारणा कार्यान्वयनमा जाँदै गर्दा प्राधिकरण मार्फत महानगरका लागि चाहिने पूर्वाधार निर्माणदेखि अहिले निर्माण भैरहेका संरचनाहरुमा एकरुपता खोज्नुपर्ने बताए । ‘त्यसका लागि एउटा कानुनी संयन्त्रले काम गर्नैपर्छ,’ डा. थापाले भने । मुख्यमन्त्रीको अवधारणा अनुसार, नेपालगन्ज र कोहलपुरलाई जोडेर महानगर बनाउँदा जानकी गाउँपालिकाका पनि कतिपय वडाहरु समेटिने देखिन्छ । त्यसबारे नेपालगन्ज उपमहानगरपालिकाको पछिल्लो नगरसभामा विषय प्रवेश पाइसकेपनि अन्य स्थानीय तहले यसबारे खासै बोलेका छैनन् । ‘स्थानीय पालिकाले पनि आ–आफ्नो ढंगले सकारात्मक तयारी थाल्न सक्छन्’, प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले भने ।
नेपालगन्जका नगरप्रमुख डा. राणाको अवधारणामा भने नेपालगन्जसँगै खजुरा र कोहलपुर नगरपालिका जोडिने प्रस्ताव छ । साथमा जानकी, बैजनाथका समेत केही वडा ‘ग्रेटर नेपालगन्ज’को प्रस्तावभित्र पर्छ । ‘जनसंख्यादेखि भौतिक पूर्वाधारसम्मका धेरै अध्ययनले यसलाई अन्तिम रुप दिनेछ’, डा. राणाले भने, ‘ढुक्क हुनुस् आगामी स्थानीय तहको निर्वाचनसम्म यसले साकार स्वरुप ग्रहण गर्नेछ ।’