मनोचिकित्सा : स्वास्थ्य कि मानसिक समस्या ?
दैनिक नेपालगन्ज/हिमाल गैरे
नेपालगन्ज उपमहानगरपालिका वडा नं.१७ का रामवृष यादव बिहे गरेकी आफ्नो छोरी मानसिक स्वास्थ्यमा समस्या भएपछि उपचारकालागि भौतारिन लागेको ६ महिना भयो । उनका ज्वाई पछिल्लो १ वर्षदेखि रोजगारीका सिलसिलामा कतारमा रहेका छन् ।
लखनउमा डेढ लाख बराबरको पैसा र समयको बर्वादी पछि बल्ल उनले नेपालगन्जमा रहेको भेरी अञ्चल अस्पतालमा मानसिक रोगको समेत उपचार पाउने गरेको भर्खर मात्रै थाहा पाए । उनले लखनऊ आइसी वोएन हस्पिटलमा छोरीको उपचार गराए पनि औषधीको नकरात्मक असरले जीऊ सुन्निने समस्या आएपछि औषधी सेवन गराउन छाडेका थिए । उनकी छोरीले एक्लै बरबराउनुका साथै फरक व्यवहार देखाउन लागेको केही समयपछि धाँमी झाक्री कहाँ देखाइ रहेका थिए । तर, छोरीको लक्षणमा सकरात्मक परिर्वतन नदेखिएपछि उनी लखनऊ धाउन लागेको बताए ।
वर्षौदेखि धाँमी झाँक्रीको उपचार शरणमा पुगेका दाङ विजौरीकी पुजा थापा आफ्ना एक आफन्तको उपचारका लागि भेरी अञ्चल अस्पतालको मानसिक बहिरंगको ‘फलोअप’ मा आएकी थिइन् । निकै थोरै रकमको औषधीले समेत आफन्तको लक्षणहरुमा सकरात्मक परिवर्तन आएपछि उनी दङ्ग परेकी थिइन् । यी दुई प्रतिनिधिमूलकपात्रहरु मात्रै हुन् । बाँके जिल्लामा मानसिक स्वास्थ्य समस्याको अवस्था विकराल बन्दै गएको एक तथ्याङ्कले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको पछिल्लो ५ वर्षको तथ्याङ्कको विश्लेषण गर्ने हो भने झण्डै ४ सय २५ ले आत्महत्या गरेका छन् । चिकित्सकका अनुसार, यस समयमा नै मानसिक स्वास्थ्यको उपचार पु¥याउन पाएको भए झण्डै ७० प्रतिशत मानिसहरुको ज्यान जोगाउन सकिने थियो । तर, पछिल्लो आर्थिक वर्ष एवं यस वर्ष भने आत्महत्याको घटनाहरु घटेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
‘पछिल्लो वर्ष निर्वाचन संगै मानिसहरुमा आशा पलाएको हुनसक्छ । मानिसहरु निर्वाचनका गतिविधहरुमा ब्यस्त रहें भने राजनैतिक स्थिरताको संकेतले मानिसमा आशा पलाउनु पनि आत्महत्याका घटनामा कमीआएको हुनसक्छ,’ बाँके जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक टेक बहादुर तामाङले दैनिक नेपालगन्ज भने, ‘बेरोजगारी, घरेलु हिंसा, निराशापन नै आत्महत्याका कारणहरु हुन सक्दछन् ।’
५ वर्ष भन्दा बढी बन्द अवस्थामा रहेको मानसिक रोगको बहिरंग सेवा २०७४ असार देखि पुनःआरम्भ सुरु भएपनि लामो समय बन्द रहेकाले भेरी अञ्चल अस्पतालमा मानसिक रोगको उपचार सेवा पाइन्छ भन्ने जानकारीको अभावले समेत रामवृष यादव जस्ता असंख्य बिरामीहरु लखनऊ उपचार गराउन जाने गरेको पाइन्छ ।
गत असारदेखि मानसिक रोगको बहिरंग सेवाले पुर्नजन्म त पायो तर छुट्टै वार्ड र जनशक्तिको अभावमा मानसिक रोगको सेवाप्रवाहमा जटिलता भने कायमै छ । हाल मनोचिकित्सक डा. सुमन अर्याल आएदेखि औषतमा दैनिक १५ देखि २० मानसिक रोग लागेका मानिसहरु आफ्नो बाहिरंग सेवा लिन आउने गरेको भेरी अञ्चल अस्पतालले जनाएको छ ।
‘हाल जनरल वार्डबाट नै भएपनि जटिल मानसिक रोग लागेका बिरामीहरुलाई सेवा आरम्भ गरेका छौं । तर, म एउटा डाक्टर मात्रैले प्रभावकारी सेवाप्रवाहमा कठिनाई भएको छ । कम्तिमा २ साइकेटिक नर्स, १ तालिम प्राप्त मनोपरामर्शकर्ता र छुट्टै वार्ड भए सेवाप्रभावमा सहजताहुने थियो,’ मनोचिकित्सक डा. सुमन अर्याल दैनिक नेपालगन्जसँग भने ।
सेवालिनआउने बिरामीहरु मध्ये पहिलोमा डिप्रेशन (उदाशिनता) रहेको र क्रमशः एन्जाइटी डिसअर्डर (मनोत्रास÷मनोचिन्ता), माइग्रेन हेडयेक, टेन्सन हेडयेक, माद्यपानको लतको अवस्था बढिरहेको डा.अर्यालले बताए । ‘सस्तो औषधी भएपनि मानिसहरु रोग लुकाउने गर्दा आत्महत्याको संख्या बढ्दै गएको हो । नियमितको उपचार र मनोपरामर्श सेवाबाट आत्महत्या धेरै रोकथाम गर्न सकिन्छ’, डा. अर्यालले भने ।
बिरामीलाई औषधी सेवन संगै बिरामीलाई ‘काउन्सेलिङ’ अत्यन्त जरुरी हुन्छ । तर पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको नेपालगन्जका सम्भवत कुनै अस्पतालमा समेत तालिम प्राप्त मनोपरामर्शकर्ताबाट मनोपरामर्श सेवा सञ्चालन हुन नसकेको चिकित्सक बताउँछन् ।
मानसिक रोगको सेवा प्रवाहमा चुनौति भएको स्वीकार्दै भेरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाश थापाले बजेट अभावका कारण धेरै गर्न नसकिएको गुनासो व्यक्त गरें । ‘धेरै लामो समय देखि बन्द सेवापुनः शुरु गरेका छौं विस्तारै सेवा प्रभावकारितामा पनि लाग्नेछौं’, डा. थापाले भने ।
मनोविद् राजेश कुमार झाका अनुसार, समयमा नै लक्षण पत्ता लगाउन सके आत्महत्या झण्डै ९० प्रतिशत रोक्न सकिने बताउँछन् । मानसिक स्वास्थ्यतथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी–नेपाल) काविगत १० वर्ष देखिको अनुभव सुनाउँदै आत्महत्याको प्रमुख कारण डिप्रेशन रहेकाले समयमा नै उपचार र नियमितको मनोपरामर्श सेवाबाट आत्महत्या रोकथामगर्न सकिन्छ ।
‘अहिले युवाहरुमा रोजगारी, विलासिताका सामानको उपयोग, शिक्षामा देखिने ‘हाई एक्सपेक्टेशन’ (महोत्वकांक्षी स्वभाव), शिक्षा, जागिर वा प्रेममा हुने असफलताहरु पनि आत्म हत्याका कारकहरु हुन्’, मनोविद् झाले दैनिक नेपालगन्जसंग भने, ‘आत्महत्याको बारेमा कुराकानीगर्ने, समयमा नै उपचारमा ल्याई मनोपरामर्श सेवागर्ने, आत्म हत्या तथा मानसिक स्वास्थ्य समस्याका बारेमा जनचेतना जगाउने क्रियाकलापहरु संचालन गरेर आत्म हत्याको अधिकाशं घटनालाई रोकथाम गर्न सकिन्छ ।’
पछिल्लो समयमा बालबालिका तथा किशोरकिशोरीहरु संग नियमित कुराकानी गर्ने गर्नुपर्ने मनोविद् झाले सुझाए । परिवारका सदस्यले यदी नियमितको व्यवहार फरकपन वा प्रभावित भएको पाएमा केही समस्या भएको हुन सक्ने कुरामा हेक्का राख्नुपर्ने मनोविद् झाको सुझाव छ । विद्यालय एवं कलेजमा बालबालिका÷किशोरकिशोरीलाई गिज्याउने, होच्याउने गर्दा समेत यस्ता घटना निम्त्याउन सक्ने बताए ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो आँकडा अनुसार, हरेक १० जनामा ४ जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको र २०३० सम्ममा त्यो संख्या दोब्बर हुने विश्व स्वास्थ्य संगठनको पूर्वानुमान रहेको छ ।
मानसिक रोग लागेमा समाजबाट तिरस्कृत हुने डरले पनिमानसिक रोग लुकाउने गरेको मनोविद्हरुले बताउने गर्दछन् । तत्कालीन द्वन्द्वले आक्रान्त यस क्षेत्रमा मनोसामाजिक समस्याका साथै मानसिक स्वास्थ्य समस्या भएका धेरै बिरामी रहेको भए ‘नियमितको औषधीउपचार र मनोपरामर्श सेवाले मानसिक स्वास्थ्य समस्या निको हुन्छ’ भन्ने जनचेतनाको अभावमा धेरै बिरामीहरु अझै लुकेरै बसेका छन् ।
यस क्षेत्रमा मानसिक स्वास्थ्यको निकै राम्रो ‘स्कोप’ छ । सबैको साथ भएमा भेरी अञ्चल अस्पतालबाट प्रभावकारी सेवा दिन सकिने डा. अर्यालले बताए । नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताललाई प्रादेशिक स्तरीय अस्पताल बनाउने चर्चा चलिरहेको बेला भेरी अञ्चलको मानसिक रोग बहिरंग सेवालाई व्यवस्थित गर्न यस क्षेत्रका बिरामीहरुले सेवा पाउनुका साथै उपचारका लागि बाहिरिने लाखौं रकम बच्नुका साथै सास्ती खेप्नुपर्ने समस्या समाधान हुने बिरामीका आफन्तहरुले बताउँछन् ।