नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह पुरीले नेपाल भारत बीचको पछिल्लो विकसित सम्बन्धले नेपालीहरुका लागि अवसरको ढोका खोलेको बताएका छन् । शुक्रबार नेपालगन्जमा निजी क्षेत्रका विभिन्न प्रतिनिधिमूलक सहभागितामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत पुरीले भने, ‘नेपालगन्जका लागि अझ बढी अवसरको सिर्जना हुँदैछ ।’
नेपालगन्जलाई ‘गेट वे अफ इन्डिया’ का रुपमा चित्रण गर्दै राजदुत पुरीले मानसरोवरका लागि खुलेको रुटले नेपालगन्ज र आसपासको क्षेत्रलाई विकासको लागि ठूलो सम्भावना देखा परेको बताए । ‘आउनुस् दक्षिण भारतसम्म पुगेर यस क्षेत्रका पर्यटकीय सम्भावनाको प्रचारप्रसार गर्नुस्’, उद्योगी, व्यवसायी, होटल तथा पर्यटन क्षेत्रमा क्रियाशिल प्रतिनिधि, पत्रकार लगायत सम्मिलित कार्यक्रममा राजदुत पुरीले भने, ‘मानसरोवरका लागि आउने भारतीय दुई, चार दिन घुम्ने वातावरण बनाउनुस् ।’ मानसरोवरका लागि आउने धार्मिक पर्यटनहरु एक दिन आउँदा र एक दिन फर्कदा मात्रै नेपालगन्ज बस्ने गरेको बताउँदै उनले भने, ‘बर्दिया राष्ट्रिय निकुञ्जदेखि वरिपरिका पर्यटकीय ठाउँमा उहाँहरुलाई घुमाउनुस् ।’ त्यसका लागि पर्यटकीय प्रवद्र्धन आवश्यक रहेको राजदुत पुरीको भनाइ थियो ।
राजनीतिक भन्दा विकास र आर्थिक क्षेत्रसँग जोडिएर कुरा गरेका राजदुत पुरीले नेपाल–भारत सीमासँग जोडिएका समस्याहरु छिट्टै हल भएर जाने विश्वास व्यक्त गरे । ‘संयुक्त सीमा चेकपोष्ट बनेपछि भन्सार नाकाका सानातिना समस्याहरु आफै हल हुन्छन्’, व्यापारीका गुनासा सुन्दै पुरीले भने ।
नेपालगन्ज–दिल्ली उडानबारे ‘धेरै कुरा नेपाल सरकारकै तयारीमा निर्भर रहेको’ तर्क गरेका राजदुत पुरीले रनवे बिस्तार, अध्यागमन लगायतका भौतिक पूर्वाधार निर्माणदेखि उडान सुरक्षासम्मका सुनिश्चितता पछि मात्रै सम्भव भएको बताए । ‘यो सामान्य कुरा होइन’, राजदुत पुरीले भने, ‘विश्व स्तरीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि भौतिक पूर्वाधार अघि सुरक्षासम्मका धेरै प्रक्रियाहरु पार गर्नुपर्छ ।’ राजदुत पुरीले नेपाल सरकारले चाहेमा विमानस्थल बिस्तारमा समेत भारतले सहयोग गर्ने बताउँदै भने, ‘नेपालगन्जका लागि दिल्ली उडान धेरै टाढा भने छैन ।’
भारतले नेपाली र नेपाल सरकारको चाहना र आवश्यकतामा सहयोग गर्दै आएको धारणा राखेका राजदुत पुरीले नेपाल–भारतबीच हुने आसन्न ‘इकोनोमिक समिट’ले आर्थिक विकासका सम्भावनालाई नजिकबाट बाटो देखाउने विश्वास पनि गरे ।
नेपालगन्ज उद्योग वाणिज्य संघले राजदुत पुरीको स्वागत सम्मानसँगै शुक्रबार अन्तरक्रिया गरेको हो । संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालगन्जलाई ‘गेटवे अफ कैलास’ बनाउने कुरामा भारतको महत्वपूर्ण सहयोग रहने विश्वास गरिन् । ‘टुरिजम र टे«डको दृष्टिले नेपालगन्ज नाका अत्यन्तै महत्वपूर्ण छ’, अध्यक्ष राणाले प्रधानमन्त्री केपी ओलीको पछिल्लो भारत भ्रमणपछि नेपालमा पर्यटन र कृषिको विकासलाई भारतले सहयोगको सूचिमामाथि राखेको जानकारी दिंदै भनिन् । ‘आयुर्वेदिक औषधी उद्योग स्थापनाका लागि पनि यो क्षेत्र प्राथमिकतामा छ’, राणाले भनिन् । अध्यक्ष राणाले ‘इन्डो नेपाल टे«ड कन्फ्रेन्स’ लगायतका तयारीबारे जानकारी दिंदै नेपाल–भारत दुई देश बीचका आर्थिक, सामाजिक सम्बन्धहरु सकारात्मक रुपमा अगाडि बढिरहेको बताइन् ।
महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले भारतले सुख्खा बन्दरगाह निर्माण कार्यलाई तदारुखताका साथ अगाडि बढाएर नेपालगन्जको विकासमा महत्वपूर्ण योगदान दिन राजदुत पुरीको ध्यानाकर्षण गराए । ‘नेपालको तर्फबाट प्रक्रिया पुरा गरिसकेको नेपालगन्ज–दिल्ली उडानको तयारीलाई भारत तर्फको प्राविधिक विषयमा सहजीकरण गरिदिनुस्’, राजदुत पुरीसँग श्रेष्ठले भने । राजदुत पुरीलाई छिट्टै नेपालगन्ज हुँदै दिल्ली उडानको प्रक्रिया पुरा गरेर यात्रा गर्न अधिकांस वक्ताले आग्रह गरेका थिए ।
पूर्व नगर प्रमुख विजय कुमार गुप्ताले ‘दिल्लीसँगको एयर कनेक्टिभिटी, ब्रोडगेज रेल्वे लाइन र इन्टिग्रेटेड चेकपोष्ट’ बिस्तार गरी नेपालगन्जलाई भारतसँगको ‘गेट वे अफ नेपाल’का रुपमा विकास गर्न आग्रह गरे । मान सरोवर यात्राका लागि नेपालगन्ज आइपुगेका नेपालका लागि भारतीय राजदुत पुरी शुक्रबार दिनभर धार्मिक तथा सामाजिक भेटघाटमा व्यस्त रहे । ‘नेपालगन्ज यस्तो महत्वपूर्ण ठाउँ रहेछ जहाँ डेढ सयबर्षदेखि शिख समुदायले आश्रय स्थल बनाएका छन्’, राजदुत पुरीले बाँके जिल्लाका तीन वटा महत्वपूर्ण गुरुद्वाराको भ्रमण गरेपछि प्रतिक्रिया दिंदै भने । उनका अनुसार, सन् १८५७ देखि शिख समुदाय नेपालगन्जमा रहँदै आएको पाइएको छ । उनले समुदायका अगुवासँग भेटघाट पनि गरेका छन् ।