हाम्रो यात्रा विकास तर्फ कि विनास तर्फ !

सरोज पोखरेल

सानै बर्षातले ठूलै सन्देश दिएर गयो गएको साता । नेपालगन्ज जस्तो उदाउँदो सहरमा बनेका बाटो, ढल लगायतका नयाँ संरचनाले २ घण्टाको वर्षालाई समेत झेल्न सकेन र जनजीवन कायल भयो । पहाडका डोजरले खोस्रिएको पीडा प्रकृतिले सहन सकेन र सैयौं ठाउँमा पहाडै बगेझै बग्यो ।
सन्देशका पक्षहरु धेरै छन् । भू–उपयोग तथा व्यवस्थापन, मानव बस्ती व्यवस्थापन, जोखिम न्यूनीकरण तथा विपत् व्यवस्थापन, जलाधार व्यवस्थापन, पर्यावरण तथा प्रकृति संरक्षण लगायतका विषयका विविध आयामका बारेमा एउटा लेखमा विवेचना गर्न सकिने कुरै भएन । यहाँ एउटा पाटोका बारेमा मात्र चर्चा गर्न खाजिएको छ, त्यो हो विकास र विनासको अन्तरसम्बन्धमा रुमल्लिएको हाम्रो विकास तथा समृद्धि यात्रा ।
विकासको सार
विकासलाई बुझ्ने मामलामा हरेक व्यक्ति र समाजका आ–आफ्नै परिभाषाहरु तथा समझहरु छन् । विकासको अर्थ मानव जीवनमा खोज्दै जाँदा यो कालजयी नभएर बढी सामयीक जस्तो, साध्य नभएर बढी साधन जस्तो देखिन्छ । सो कुरा, हाम्रो वरिपरी भएको भनिएको विकास कति टिकाउ वा दीगो हुन्छ ? त्यसले कति धेरै जनसँख्यालाई फाइदा पु¥याउँछ ? र यसले मानव तथा प्रकृति माथी कति कम वा बढी अन्याय गर्दछ भन्नेकुरामा निर्भर गर्दछ ।
बढी बुझक्कड भै राख्नु पर्दैन, सामान्य व्यक्तिले सजिलै भनिदिन सक्छ विकास के हो भन्नेकुरा । फराकीला बाटाहरु, बडेबडे घर तथा कारखानाहरु, ठूला भवन भएका अस्पताल र शैक्षिक संस्थानहरु, ठूला पुल, पक्की बाटो र त्यसमा गुड्ने आधुनिक गाडीहरु कै सेरोफेरोमा भटिन्छन् आम मान्छेले बुझेको विकासका अर्थहरु । यतिवेला रेल र पानी जहाजहरु पनि थपिएका छन !
सामान्य रुपमा जुनकुराको अभाव छ, त्यही पाउनु, देख्नु वा प्रयोग गर्नु मै मान्छेले विकासको सार खोजिरहेको हुन्छ । त्यसैले विकासको आम बुझाइ बढी भौतिक जस्तो लाग्छ । जुनकुरा एकदमै सामान्य हो । यस्तो हुनु पर्छ वा हुँदैनको बहश गर्न सकिएला तर यसको महत्व विलोप भएको छ ।
समाजको बुझाइ निर्धारण गर्ने धेरै पक्षहरु हुन्छन् । सामाजिकीकरण वा अन्तरपुस्ता सिकाइ, शिक्षा, अवलोकन वा भ्रमण लगायत धेरै पक्षले बुझाइ वा समाजिक मान्यता निर्धारणमा भूमिका खेलिरहेका हुन्छन् । तर मूलरुपमा समाजको आम बुझाइ निर्धारण गर्नमा यस्तो खास बर्गको भूमिका अहं हुने गर्दछ, जसलाई त्यो बुझाइ र परिभाषाले प्रत्येक्ष फाइदा पु¥याइरहेको हुन्छ । बाँकी जमात थोरै प्राप्तिको लालसामै खुसी हुन्छन् । जसरी बर्षा याममा खडेरी पछि पानी पर्दा दुई चार कठ्ठा जमिन भएका किसान बिघौं बिगाहका मालिक भन्दा बढी खुसी हुन्छन् । अहिलेको हाम्रो समाज र राजनीतिको मुलप्रवाहमा रहेको विकास तथा सम्वृद्धिको मायाजालबाट पनि केही व्यक्ति तथा प्रबृत्तिले फाइदा लिने निश्चित जस्तै देखिन थालेको छ ।
विनास उन्मुख विकास

मानव जीवन र प्रकृतिको सम्बन्धमा हेर्दा मान्छे आफ्नो सुख, सुविधाका लागि साँच्चै हिंस्रक भएको जग जाहेर छ । हामी नेपालीको ध्यान पनि तिव्र रुपमा भौतिक निर्माण र बृद्धिमा नै केन्द्रित छ । तर तिव्र आर्थिक वृद्धि र पूर्वाधार निर्माणका लागि पैसाको लागत भन्दा कैयौं गुणा बढी लागत हामीले स्वाश फेर्ने, हामीलाई आश्रय र जीविका दिने वातावरण तथा प्रकृतिले बेहोर्नु पर्ने हुन्छ । त्यसो भन्दैमा फेरी पछौटे भएर कसैलाई बस्न मञ्जुर पनि छैन । जीवन अझबढी सुविधायुक्त बनाउन रहर सबैमा छ । यही सुविधायुक्त जीवनको खोजाइमा मावन जीवन दिन प्रतिदिन जोखिममा धकेलिँदैछ । जीवन, सम्पत्ती र जीविका ‘चोक्टा खान गाकी बुढी झोलमा डुबी मरी’ भने झैं अँझ लथालिङ हुँदैछ ।
आम रुपमा हेर्दा भौतिक निर्माण कार्यमा प्रकृति मैत्री हुने कुरा त अलि असम्भव नै लाग्छ, तर प्रकृतिका सामान्य नियम अनुकुल संरचना निर्माण गरियो भने जोखिम कम गर्न भने सकिन्छ भन्नेकुरा उत्तरको छिमेकीले सिद्ध नै गरिसक्यो । नयाँ बनेका संरचनाले नै नेपालगन्ज जस्ता सहरहरु २ घण्टाका वर्षात् थेग्न नसकेको देख्दा उदेक लाग्छ । कि हाम्रो तिब्र विकासको महत्वाकांक्षाले हामीलाई ‘पानी आरालो तिर बग्छ, उसलाई बग्ने ठाउँ दिनु पर्छ भन्ने’ जस्ता अति सामान्य कुरा पनि नबुझ्ने बनाइसक्यो ?
पहाड तिर जाँदा जताततै डोजरले खोस्रिएको मात्र देखिने, तराई हे¥यो तथाकथित ठूला योजनाहरु नै प्रकृतिका सामान्य नियम विपरित बनाइने दृष्टान्तहरु तिव्र रुपमा बढिरहेका छन् । हामीलाई बने पछि पुग्या छ । मुग्लिन नारायगणगढको बाटो माथि डोजरले खोस्रिंदाको असरले बटो थुनिंदैमा हाम्रो चेत खुल्नेवाला छैन । बाजुराको कोल्टीमा हाइड्रोको कुलो अलिक माथि डोजरले बाटो बनाउन खोस्रिंदा एक हप्ता कोल्टी बजारमा बिजुली नबली अन्धकारको म पनि साँक्षी थिएँ । लाग्छ, हामी चेत गुमाएका यान्त्रीक मानव जस्ता आफ्नै विनाश लिलाको गीत गाउनमा मजा लिइरहेका छौं ।
समयमै बाटो सच्याऔं
हामीलाई छिटो छिटो विकास चाहिएको कुरा सत्य हो । भौतिक संरचनालाई नै मुख्य विकास ठान्नु पनि हाम्रो ठूलो भूल होइन होला । तर, होस् गुमाउँदै विकास भन्दै दौडने प्रवृत्ति, आइपर्न सक्ने क्षति तथा जोखिम न्यूनीकरण प्रति घोेर वेवास्ता नै हाम्रो मुख्य समस्या बनेको छ । प्रकृतिका सामान्य नियम प्रति सुझबुझ राखिएको छैन । र, अहिले हामी यस्तो विकासको मोडललाई काँध थापिरहेका छौं जहाँ विकासका नाममा हुने र भैरहेको विनाशमा काही जवाफदेही हुनु पर्दैन । त्यसैले यो विकास र समृद्धिको उल्टो बाटो हो । टाउकाले टेकेर संमृद्धिको बाटो हिंड्न सकिंदैन । यसलाई सुल्टाएर खुट्टाले टेक्ने बनाउनु आवश्यक छ ।
संरचना निर्माणमा प्रकृति अनुकुल विकासको अवलम्वन विनास तर्फको यात्रा रोक्नका लागि एकमात्र समाधन हो । यसका लागि विकास योजना छनौट, कार्यान्वयन तथा गुणस्तर नियन्त्रण अनि त्यसले पार्ने प्रभावका बारेमा जवाफदेहीताको प्रणालीको व्यवस्था अनिवार्य भैसकेको छ । राजनीतिज्ञ तथा विकासका अगुवाहरूको समयमैं चेत खुलोस्, समयमै बाटो सच्याऔं ।
सुनिदैछ ७ नम्बर प्रदेशले पहाडमा डोजर संचालनमा नियमन गर्ने नीति बनायो रे ! हेरौं स्थानीय देखि संघीय सरकार सम्मका सरकारहरुले जनताको विकास लालसाको प्रकृति अनुकुल दीगो र जवाफदेही समाधान कसरी निकाल्छन ? यसैमा हाम्रो यात्रा कति विकास तर्फ वा कति विनास तर्फ भन्ने तय हुने छ ।

प्रतिक्रिया

प्रतिक्रिया