१२/१४ वर्षका बालिका बलात्कारका घटनामा पनि अस्पतालका रिपोर्टका कारण दोषीहरु मुक्त भएका छन्
स्वास्थ्य परीक्षण प्रतिवेदनमा चिकित्सकहरूलाई निकै दबाब आउने गरेको खुलासा सम्बद्धहरुले नै गरेका छन् । ‘स्वास्थ्य प्रतिवेदन दिएको ३÷४ दिनपछि पीडितहरुनै आउँछन रिपार्टे फेरिदिनुस् भन्दै,’ भेरी अञ्चल अस्पतालकी नर्सिङ प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले बुधवार आयोजित एक कार्यक्रममा भनिन् ।
‘हामीलाई कामै गर्न पनि गा¥हो छ,’ नर्सिङ प्रमुख श्रेष्ठले भनिन्, ‘कतिपय घटनामा स्वास्थ्यकर्मी समेतलाई दवाव र धम्की आउने गरेकाले भरसक यस्ता घटना हेर्न नपरे हुन्थ्यो भन्ने मानसिकतामा स्वास्थ्यकर्मी हुन्छन् ।’ बलात्कारका घटना ढिलोगरी अस्पताल आउने गरेको बताउँदै श्रेष्ठले समयमै अस्पताल सम्म आउने वातावरणका लागि सचेतना अभियान सुरु गर्नुपर्ने सुझाव दिइन । चिकित्सकले देखेको कुरा लेख्ने उनको भनाइ थियो ।
इन्सेक नेपालगन्जले सरोकारवालाहरुबीच अन्तक्र्रिया गरेको हो । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधीवक्ता रुकमेणा पोख्रेलले पीडितलाई न्याय सुनिश्चित गर्न स्वास्थ्य परीक्षण प्रतिवेदन ठोस आधार हुने भएकाले चिकित्सकहरु त्यसप्रति संवेदनशील हुनुपर्ने धारणा राखिन् । ‘चिकित्सकको रिपोर्टको सपोर्टले होष्टाइल केशमा समेत दोषीले सजाय पाएका छन्,’ पोख्रेलले भनिन्, ‘रिपोर्टले साथ नदिंदा पीडितले हो भनेका मुद्दामा समेत न्याय पाइएको छैन ।’ उनले खुट्टा भाँचिएका घटनामा समेत स्वास्थ्य परीक्षण प्रतिवेदनमा त्यसको विपरीत प्रतिवेदन आउने गरेको तथ्य राख्दै भनिन्, ‘यस्ता गल्तीले पीडित न्यायबाट वञ्चित हुने गर्दछन् ।’
कार्यक्रममा भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले अस्पतालमा फरेन्सी एक्सपर्टको कमी भएको उल्लेख गर्दै राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । डा. थापाले जनताको अपेक्षा र प्राविधिक तथा दक्ष जनशक्ति बीच अन्तर हुँदा कमजोर हुनसक्ने बताए । मेसु थापाले कमजोरीहरु सच्याउँदै अघि बढ्ने बताए । ‘भएकै साधनस्रोतबाट उत्कृष्ट सेवा सुविधा प्रवाह गर्न राज्यका विभिन्न निकायसँग हर सम्भव समन्वय गरिरहेका छौं,’ डा. थापाले भने ।
भेरी अञ्चल अस्पतालका डा. बद्री चापागाईले बलात्कारको घटना पुष्टि गर्न आवश्यक प्रविधि अभाव आंैल्याए । पोष्टमार्टममा पनि उपकरण र दक्ष जनशक्ति अभावले मृत्युको यकिन कारण खुलाउन समस्या पर्ने गरेको डा. चापागाईले खुलाए । ‘पोष्टमार्टम घटनामा मृत्युको अभिलेखीकरण मात्र भएको छ,’ उनले भने, ‘गहन अध्ययनका लागि उपकरण नहँदा के कारणले मृत्यु भयो भन्ने कुरा खुलाउन सकिएको छैन ।’
उच्च अदालत वार एशोसिएशन नेपालगन्जका अध्यक्ष बलबहादुर चन्दले चिकित्सकहरु स्वास्थ्य परीक्षण र प्रतिवेदन तयार गर्दा संवेदनशील हुनुपर्ने धारणा राखे । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा मानव अधिकार निगरानी समितिका संयोजक बसन्त गौतमले चिकित्सकले घटनाको विस्तृत विवरण नसोध्ने, कतिपय अवस्थामा चलखेल हुने, अदालत जान नपरोस भन्ने मनसायले चिकित्सकले बीचको प्रतिवेदन बनाउने गरेको आम नागरिकको गुनासो रहेको बताए ।
पीडित मैत्री वातावरण र गोपनीयताका सवाललाई चिकित्सकले ध्यान दिनुपर्ने संयोजक सुझाव थियो । माइती नेपालका संयोजक केशव कोइरालाले समय र वातावरणलाई ध्यान दिनुपर्ने बताए । अधिकारकर्मी मैमुना सिद्दीकी, सपना भट्टराई लगायतले पनि महिला हिंसाका घटनामा अस्पताललाई संवेदनशील हुन आग्रह गरे । ‘१२÷१४ वर्षका बालिका बलात्कारका घटनामा पनि अस्पतालका रिपोर्टका कारण दोषीहरु मुक्त भएका छन्,’ फातिमा फाउण्डेसनकी कार्यबाहक अध्यक्ष मैमुनाले भनिन् ।
‘विभिन्न १४ वटा बलात्कारका घटनाका स्वास्थ्य परीक्षण प्रतिवेदनमा एउटै प्रकृति भएको पाइएको छ’, नेपाल पत्रकार महासङ्घका अध्यक्ष ठाकुरसिंह थारुले भने, ‘स्वास्थ्य परीक्षण प्रतिवेदन न्याय पाउने आधार भएकाले स्वास्थ्यकर्मी गम्भीर हुन जरुरी छ ।’ पत्रकार थारुले सरोकारवाहरु यौनहिंसाका घटनामा अस्पतालबाट आउने प्रतिवेदन विश्लेषण गरेर सुधारमा ध्यान दिनुपर्नेमा सचेत बनाए ।
‘यस् सबैखाले समस्यामा सरोकारवालालाई एकै ठाउँमा ल्याउन खोजिएको हो,’ आयोजक इन्सेक नेपालगन्जका संयोजक भोला महतले भने, ‘निरन्तर छलफल अन्तक्र्रियाबाट अवस्थामा सुधारको अपेक्षा गर्न सकिन्छ । ’ इन्सेकले आयोजना गरेका विभिन्न कार्यक्रममा बलात्कार र महिला हिंसाका घटनामा अस्पतालको लापरवाहीको विषयमा प्रश्न उठने गरेकाले वास्तविकता, समस्या र चुनौती के के हुन् र समाधानका उपाय खोज्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको महतको भनाइ थियो । इन्सेक संयोजक महतले यस विषयमा निचोड निकाल्न सके पीडितहरूले न्याय पाउन सहज हुने बताए । ‘हामी हाम्रो तर्फबाट निरन्तर यसबारे चासो राख्छौं,’ महतले भने, ‘तर, सरोकारवाला राज्यका निकायनै यसमा गम्भीर हुनपर्छ ।’