क्रियटिभ भ्वाइस : नेपालगन्जको खेलकुदले काँचुली फेर्दैछ

राजपरिवारका सदस्यहरु शिकार खेल्न बर्षमा एकपटक काठमाडौं बाहिर निस्कन्थे । उनीहरु शिकार खेल्नमा सौखिन थिए । बिशेषगरी तराइका घना जंगल राजपरिवारको पहिलो रोजाइ हुन्थ्यो । यसैक्रममा २०२० सालमा राजा महेन्द्र शिकार खेल्न नेपालगन्ज आएका थिए ।

 
नेपालगन्जस्थित रामलिला मैदानमा कडा सुरक्षा घेराबीच क्याम्प खडा गरेर बसेका राजा महेन्द्रसमक्ष बिन्तीपत्र चढाइए पश्चात रंगशालाको प्रारुप तयार भएको पाका खेलाडी गोविन्द श्रेष्ठ स्मरण गर्छन् । ‘हामी सानै थियौं, हालको रामलिला मैदानमा त्यतिबेला खाली जमिन थियो, राजा क्याम्प खडा गरेर बसेका थिए, सेनाको सुरक्षाघेरामा । हामी डेलिगेसन गएका थियौं ।’ घरवारीटोल निवासी श्रेष्ठले सुनाए, ‘हामी बाहिरै बस्यौं । सिनियर दाईहरु भित्र जानुभो राजालाई बिन्तिीपत्र चढाउन । यो सब प्रतापबहादुर शाहले मिलाएका थिए ।’ प्रतापबहादुर शाह ब्याडमिन्टन खेलाडी एवं उद्यमी प्रशान्त शाहका बुवा हुन् ।

 
नेपालगन्जका खेलप्रेमी अगुवाहरुमाझ व्यवस्थित खेलमैदानको आवश्यकता बोध भएपछि राजासँग जमिन माग्ने निस्कर्ष निस्केको रहेछ । तत्कालीन समयमा राजाको नजिक पुग्न पनि त्यति सहज थिएन । राजासमक्ष बिन्तीपत्र चढाउने वातावरण स्थानीय प्रतापबहादुर शाहले तयार गरेका थिए । उनको खेलकुदमा निकै अभिरुची थियो । र, प्रतापका बुवा तीर्थ बहादुर शाह स्वयं राजाका एडिसी थिए । यसहिसाबले राजपरिवारसँग उनीहरुको हिमचिम राम्रै थियो । यसैकारण पनि राजासँग नेपालगन्जीयाको भेट गराउन सजिलो भएको श्रेष्ठ स्मरण गर्छन् ।

 
उता शिकार खेल्नका लागि नेपालगन्जको पश्चिम क्षेत्रमा पर्ने खजुरा पालिका अन्तर्गत सितापुर, राधापुर रहेको ठाउँमा त्यतिबेला घना जंगल थियो । राजा महेन्द्रका लागि शिकार खेल्ने स्थलका रुपमा त्यही सितापुर राधापुरलाई चयन गरियो । राजाको सवारी हुने बेला स्थानीय नामुद शिकारीलाई पनि बोलाइन्थ्यो । ती शिकारीले राजालाई शिकार गर्न सघाउँथे । राजालाई जसरी पनि खुशी बनाउने प्रपञ्च पहिल्यै तयारी हुन्थ्यो । त्यतिबेला भारतबाट पनि पारंगत शिकारी निम्त्याइएका थिए । उनहीहरुको सहयोगमा राजाले दिलखुश हुनेगरी शिकार गरेको बुझाइ छ ।

 
राजा सरकार भन्दा शासक थिए । उनको हुकुमी प्रमाङ्घीबाट शासन चल्थ्यो । त्यसैले राजाको मुड हेरेर नै माग्ने चलन थियो । राजा खुशी भएका बेला जनताले पनि इच्छाएका केही कुरा माग्न सक्थे । यही परिवेशमा स्थानीय स्तरमा बिन्ती पत्र चढाउने निधो भयो । राजा खुशी मुडमा थिए । हुकुमी प्रमांगीबाट शासन चल्ने भएका कारण राजाको ठाडो आदेशमा खेलमैदानका लागि जमिन मिलेको श्रेष्ठ बताउँछन् । ‘खेतीयोग्य जमीन थियो, यिनीहरुलाई सरकारी रेटमा मुआब्जा दिइयो, र यहाँ रंगशालाका लागि पुर्वाधार सुरु भयो,’ उनी भन्छन्, ‘नेपालगन्ज रंगशाला निर्माणको सुरुवाती बिन्दु नै यही हो । ’ यसको नामारण महेन्द्र रंगशाला गरियो ।

 
त्यसो त बिसं. २०१० सालतिर नै नेपालगन्जमा खेलकुदले परिचय पाइसकेको थियो । राजा महेन्द्रकै राज्याभिषेकमा भेरी अञ्चल टिमको कप्तानी गरेर काठमाडौ भलिबल खेल्न पुगेको पहिलो पुस्ताका खेलाडी सच्चिदानन्द चौवे स्मरण गर्छन् । उनकै भनाइमा पनि कुस्ती, एथलेटिक्स र भलिबल सुरुवाती दिनमा भित्राइएका खेल थिए । क्रमिक रुपमा हकी, फुटबल, क्रिकेट भित्रिएको उनी बताउँछन् ।

 
यसरी एक दशकदेखि खेल गतिविधि हुन थालेपछि एउटा व्यवस्थित मैदानको आवश्यकताबोध भएको थियो नेपालगन्जीयामा । अझ बिशेषगरी फुटबलका लागि ठुलो मैदान थिएन । हाल चारबाहिनी रहेको ठाउँमा फुटबल खेलिन्थ्यो । केही समय विद्युत प्राधिकरणको छेउ–बलिउड अभिनेत्री मनिषा कोइरालाको घर भएको ठाउँ)मा फुटबल खेलियो । तत्कालीन फुटबल खेलाडीहरुले महेन्द्र क्लब पनि गठन गरेका थिए । उनीहरुले फुटबल मैदानको आवश्यकता महसुस गरी राजासमक्ष जमिन माग्ने निस्कर्षमा पुगेका थिए । र, उनीहरुले राजाको औपचारिक वा अनौपचारिक भ्रमणमा बिन्तीपत्र चढाएर खेल मैदान बनाउने अठोट गरिसकेका थिए । रंगशालाका लागि जमिन प्राप्त गर्न राजालाई बिन्तीपत्र चढाउने निधो भयो । यसको नेतृत्व प्रतापबहादुर शाहले गरेका थिए । बद्रीनाथ शर्मा, हनिफ माडसाप पनि अग्रमोर्चामै थिए । उक्त डेलिगेसनकै कारण राजा महेन्द्रको ठाडो आदेशमा रंगशालाका निम्ति जग्गा प्राप्त भयो ।

 

राजा वीरेन्द्रको निर्देशनमा रंगशाला

वि.सं. २०२८ सालमा भेरी अञ्चल खेलकुद विकास समितिको सचिव पदमा अशोक थापाले नियुक्ती पाइसकेका थिए । अञ्चलाधिश पदेन अध्यक्ष हुने प्रावधान थियो । प्रताप बहादुर शाह उपाध्यक्ष थिए । जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको कर्मचारी मिलन केन्द्रको भवनमा खेलकुदको कार्यालय थियो । प्रशिक्षकहरुलाई नियुक्त भइसकेका थिएनन् । राजा वीरेन्द्रले सुर्खेत भ्रमण गर्न लागेको खबर प्राप्त भयो । क्षेत्रगत रुपमा हुने राजाको भ्रमणले त्यहाँको विकासमा ठुलो प्रभाव पार्ने सम्भावना रहन्थ्यो । नेपालगन्जका खेलकुद अगुवाहरुले सुर्खेतको वीरेन्द्रनगर जाने निधो गरे ।

 

‘प्रतापबहादुर शाहकै नेतृत्वमा हामी सबै सुर्खेत गएर राजासमक्ष बिन्तिपत्र चढायौं,’ लामो समय खेलकुदको प्रशासनिक जिम्मेवारी सम्हालेका अशोकजंग थापा भन्छन्, ‘राजाको ठाडो निर्देशनमा रंगशाला निर्माण कार्य सुरु भयो, सेना पुलिसले धेरै सघाए निर्माण कार्यमा ।’ प्रतापबहादुर शाह (ब्याडमिन्टन खेलाडी प्रशान्त शाहका बुवा)ले लामो समय भेरी अञ्चल खेलकुद विकास समितिमा उपाध्यक्ष भएर पनि काम गरेका थिए । विं.सं. २०३८ सालमा बृहत राष्ट्रिय खेलकुद आयोजना गर्ने सोंच आयो । दरवारनिकट शरदचन्द्र शाहले राष्ट्रिय खेलकुद परिषदको बागडोर सम्हालेका थिए । बृहत राष्ट्रिय खेलकुदको परिकल्पना आएसँगै भौतिक पुर्वाधार निर्माण सुरु भएका थिए । यसहिसाबले २०३३, ३४ सालतिर व्यवस्थित रंगशाला निर्माणको अवधारणा अगाडि आएको हुन सक्ने श्रेष्ठ बताउँछन् । यद्यपी यसको वास्तविक तथ्य खोजीकै बिषय बनेको छ ।

 

रुप फेर्दै रंगशाला

२०५५ सालमा चौथो राष्ट्रिय खेलकुद नेपालगन्जले आयोजना गर्ने अवसर पायो । १२ बर्ष सुस्ताएको राष्ट्रिय खेलकुद व्युँताउने प्रयास भएको थियो । नेपालगन्जका उद्योगपति खेलप्रेमी रतन टण्डनले आवास तथा भोजनको सम्पुर्ण जिम्मेवारी लिएपछि नै चौथो राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी नेपालगन्जले पाएको थियो । त्यतिबेला भौतिक पुर्वाधारतर्फ खासै चासो गएन । बजेट पनि खास थिएन । रंगरोगन बाहेक उल्लेख्य भौतिक पुर्वाधार निर्माण हुन सकेन । नेपालगन्जले यतिबेला फेरि आठौं संस्करण आयोजना गर्ने अवसर पाएको छ । यसै सिलसिलामा नेपालगन्जले धेरै भौतिक पुर्वाधार प्राप्त गर्दैछ ।

 

नेपालकै सर्वाधिक गर्मी हुने ठाउँ नेपालगन्जका लागि अत्यावश्यक पौडी पोखरी भब्य बन्दैछ । अन्तर्राष्ट्रिय भारोत्तोलन एकेडेमी र सुटिङको व्यवस्थित एकेडेमी निर्माण कार्यले गति समातिसकेको छ । उता फुटबल मैदान, प्यारापिट र एथलेटिक्स ट्रयाक पनि आठौंकै सेरोफेरोमा बनिसक्नेछ । भलिबल र ब्याडमिन्टन सञ्चालन हुने कभर्डहलले नयाँ छानो पाइसकेको छ, भुईंमा पार्केटिङ र विद्युतीकरणपछि यसले पनि नयाँ रुप प्राप्त गरिसक्नेछ । आठौं राष्ट्रिय खेलकुदका नाममा नेपाल सरकारले नेपालगन्ज रंगशाला परिसर बाहेक बाँके बर्दिया, दाङमा करोडौंका भौतिक पूर्वाधार निर्माण गर्दैछ । यद्यपी नेपालगन्ज, कोहलपुर र खजुरामा भलिबल, क्रिकेट, जुडो लगायत खेलका सुविधासम्पन्न पूर्वाधार निर्माण हुने देखिएको छ ।

निस्कर्ष यत्ति हो, नेपालगन्जको खेलकुदले काँचुली फेर्दैछ ।

प्रतिक्रिया

प्रतिक्रिया