दैनिक नेपालगन्ज
तपाई होटललाई के आधारमा स्तरिय भन्नु हुन्छ ? चिटिक्क परेको वाहिरी वातावरण वा भान्साको राम्रो ब्यवस्थापन र खाद्य स्वच्छता ? यदि तपाई बाहिरी आवरण राम्रो देखेकै आधारमा होटलमा खाना ÷नास्ता खान जाँदै हुनुहुन्छ भने बिचार गर्नुस तपाई खाद्य अस्वच्छताका मारमा पनि पर्न सक्नु हुन्छ ।
खाद्य स्वच्छता कायम राख्ने उदेश्यले क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले नेपालगन्जले गरेको होटल, रेस्टुरेन्टहरुको स्तरिकरण मुल्याङ्कनबाट यस्तो तथ्य बाहिर आएको हो । केही होटलहरु बाहिरी रुपमा चिटिक्क परेको देखिए पनि भान्साको सरसफाई र खाद्य स्वच्छतामा उचित ध्यान दिएको नपाइएको होटलहरुको अनुगमनमा संलग्न उपभो क्ता हित संरक्षण मञ्च बाँकेमा अध्यक्ष वसन्त गौतमले जानकारी दिए ।
अनुगमनमा क्रममा केहि होटलले भान्साको सरसफाई र खाद्य स्वच्छतालाई उचित ध्यान दिएको नपाईएको गौतमले बताए । अनुगमनबाट केहि होटलले सरसफाई र खाद्य स्वच्छतालाई त्यति ध्यान दिएको नपाइएको क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत बिवेक कुमार सुवेदीले जानकारी दिए ।
खाद्य स्वच्छताको आधारमा स्तरिकरण गरिएका नेपालगन्जका १२ मध्ये २ वटा होटलहरुले मात्रै अतिउत्तम पाएका छन् । ‘५० भन्दा कम अंक ल्याउने होटल तथा रेष्टुरेन्टलाई स्टीकर दिने ब्यवस्था छैन,’ क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख जोत्सना श्रेष्ठले भनिन्, ‘खाद्य स्वच्छताको ५० सुचकलाई प्रतिसुचक २ अंक आधार मानी होटल तथा रेस्टुरेन्टहरुको स्तरिकरण गरि लोगो बितरण गरिएको छ ।’
नेपालगन्जको सुर्खेत रोडमा रहेको होटल सिग्नेट र न्यूरोडमा रहेको होटल कल्पतरुले मात्रै अतिउत्तम स्तर पाएको क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी खाद्य निरिक्षक नेत्रा बोगटीले जानकारी दिइन् । स्तरिकरण गर्ने कार्यमा संलग्न खाद्य निरिक्षक बोगटीका अनुसार, हालसम्म स्तरिकरण गरिएका १२ होटल मध्ये होटल सिग्नेटले ९२ र होटल कल्पतरुले ९० मात्रै अतिउत्तम अंक पाएका छन् । अन्य १० होटलले ८७ देखि ५६ अंक सम्म प्राप्त गरेका छन् ।
सोमबारको होटल अनुगमन एवं स्तरिकरणको कार्यमा क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत बिवेक कुमार सुवेदी, खाद्य निरिक्षक नेत्रा बोगटी, प्राबिधिक सहायक प्रतिज्ञा पण्डितका साथै उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतम, होटल ब्यवसायी संघ बाँकेका अध्यक्ष निम बहादुर थापा र हानका प्रतिनिधि प्रेम बहादुर भण्डारीको सहभागिता रहेको थियो ।
होटल ब्यवसायमा गरिने सेवा प्रभावहमा गुणस्तर अभिबृद्धि गर्ने मुल उदेश्यका साथ होटलहरुको स्तरियकरण गर्न सुरुवात गरिएको क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख जोत्सना श्रेष्ठको भनाइ छ । ‘खाद्य बस्तुको स्वच्छता कायम गरि सर्वसाधारण उपभोक्ताको स्वास्थ्य र सुबिधा कायम गर्न खोजिएको हो,’ उनले भनिन्, ‘होटल तथा रेष्टुरेन्टहरुमा स्वच्छ प्रतिस्पर्धा कायम गराउने, होटलहरुले सेवाको गुणस्तर अभिबृद्धि गर्दै लैजाउन भन्ने पनि खोजिएको छ ।’
होटलकोे स्तर वर्गिकरण गर्दा खाद्य स्वच्छताको ५० सुचकमा ९० देखि माथी अंक ल्याउने होटललाई ३ तारा र (क) सहित अति उत्तम लेखिएको हरियो स्टीकरको स्तरिकरण लोगो प्रदान गरिन्छ । यसै गरि ८० भन्दा माथी ८९ अंक ल्याउनेलाई २ तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टीकर, ६५ देखि ७९ सम्मको अंक ल्याउने १ तारा र (ग) सहित सन्तोषजनक हरियो स्टीकर, ५० देखि ६४ अंक ल्याउनेलाई सामान्य (ङ) सहित सामान्य लेखिएको पहेलो स्टीकर प्रदान गर्ने गरि खाद्य स्वच्छता स्तर निर्धारण गरिएको श्रेष्ठले भनिन् ।
उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता वसन्त गौतमले खाद्य स्वच्छता र गुणस्तरियतामा जोड दिएका थिए । संबिधानले नै उपभोक्ता अधिकारलाई मौलिक हकको रुपमा ब्यवस्था गरेकाले खाद्य स्वच्छता र गुणस्तरियतालाई केन्द्र बिन्दुमा राखेर होटल ब्यवसायीले होटल संचालन गर्नु पर्ने गौतमले बताए । बाँकेमा अधिकांश होटलले मापदण्ड पुरा नगरि ब्यवसाय संचालन गरेको सन्दर्भमा खाद्य स्वच्छता कायम राख्न खाद्य स्वच्छताको आधारमा होटल तथा रेस्टुरेन्टको स्तरिकरण मुल्याङ्गनको कार्यलाई नियमित गर्नु पर्ने आम उपभोक्ताको माग रहेको छ ।