समाचारदाता
दैनिक नेपालगन्ज
अख्तियार दुरुपयोग अनुसन्धानले स्थानीय तहमा हुने भ्रष्टाचारहरुमा निगरानी बढाउन सुरु गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले बाँकेका स्थानीय तहहरुमा सेवाग्राहीहरुसँग काम गरिदिन घुस माग्ने कर्मचारीहरुमाथि निगरानी बढाएको हो ।
अख्तियारले एक साताभित्र सेवाग्राहीसँग माटो पटान तथा ग्राभेल सडक निर्माण कार्यको कार्यसम्पन्न प्रतिवेदन तयार गर्न घुस माग्ने दुई जना इन्जिनियरलाई घुस सहित पक्राउ गरेको छ । असार १५ गते बैजनाथ गाउँपालिकाका इन्जिनियर मजिद खाँलाई घुस सहित नियन्त्रणमा लिएको अख्तियारले शुक्रबार डुडुवा गाउँपालिकाका इन्जिनियरलाई लाई सोही प्रकृतिको कामका लागि सेवाग्राहीसँग घुस लिंदै गर्दा नियन्त्रणमा लिएको छ ।
आयोगको कोहलपुर कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलका अनुसार, डुडुवा गाउँ कार्यपालिकामा कार्यरत इन्जिनियर तेजराज खड्का सेवाग्राही सँग घुस लिइरहेको अवस्थामा नेपालगन्जको विपी चोकबाट नियन्त्रणमा परेका हुन् । इन्जिनियर खड्काले सेवाग्राही सँग १ लाख रुपैयाँ घुस माग गरेका थिए । खड्कालाई अख्तियारले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।