नेपालगन्जका चिटिक्क होटलका भान्सा परीक्षण गरिंदै

होटल स्तरीकरणको निरन्तरता
समाचारदाता
दैनिक नेपालगन्ज
होटल चिटिक्क पार्ने तर भान्सारको सरसफाई नगर्ने होटलहरु अब स्तरीयकरण नपर्ने भएका छन् । खाद्य स्वच्छता कायम राख्ने उद्देश्यले क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले होटलहरुको स्तरीकरण सुरु गरेपछि भान्सा फोहोर राख्ने होटल अब पहिचान हुने भएका छन् ।
‘अनुगमन गरी स्वच्छतामा लापरवाही गर्ने होटलहरुलाई स्तरीयकरण नगर्ने व्यवस्था रहेको छ’, स्तरीकरणमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतमले भने । स्तरीकरण पछि कुन होटलले कति स्वच्छता राखेको छ भन्ने उपभोक्ताले सहजै जानकारी पाउने उनले बताए । ‘जुन होटलले ५० भन्दा कम अंक ल्याउछ त्यस्ता होटललाई स्तरीकरणको स्टिकर दिने व्यवस्था छैन’, क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख जोत्सना श्रेष्ठले भनिन् ।
सोमबार सुरु भएको होटल स्तरीकरणलाई मंलगबार पनि निरन्तरता दिइएको छ । त्यसक्रममा नेपालगन्जको सुर्खेत रोडमा रहेका होटल सिग्नेट इन कृष्णा, सिद्धार्थ कटेज एण्ड रेष्टुरेन्ट, स्वतिक कटेज र होटल सिटी प्यालेसको अनुगमन गरि स्तरीकरण गरिएको छ ।
जस अनुसार होटल सिग्नेट इन कृष्णाले १०० अंकमा ९२ अंक प्राप्त गरि अति उत्तमको श्रेणीमा पर्न सफल भएको छ । यस्तै सिद्धार्थ कटेजले ७२ अंक र धम्बोजी स्थित होटल स्वतिकले ६६ अंक ल्याई सन्तोषजनक हरियो स्टीकर प्राप्त गरेका छन् । यसैगरी होटल सिटी प्यालेसले १०० मा ८३ अंक ल्याएको स्तरीकरण गर्ने कार्यमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतमले जानकारी दिए ।
सोमबारबाट शुभारम्भ गरिएको होटल स्तरीकरणमा होटल बाटिकाले १०० मा ६८ अंक प्राप्त गरेको थियो भने होटल स्नेहाले ८७ अंक सहित उत्तम अंक प्राप्त गरका थिए । होटल स्तरीकरण गर्ने कार्यमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरिक्षक एकराज बुढाथोकी, खाद्य अनुसन्धान अधिकृत विवेक बञ्जरा, उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतम सहित होटल ब्यवसायीका प्रतिनिधि प्रेम बहादुर भण्डारीको सहभागिता रहेको थियो ।
होटल ब्यवसायमा गरिने सेवा प्रभावहमा गुणस्तर अभिवृद्धि गर्ने, खाद्य वस्तुको स्वच्छता कायम गरि सर्वसाधारण उपभोक्ताको स्वास्थ्य र सुविधा कायम गर्ने, होटल तथा रेष्टुरेन्टहरुमा स्वच्छ प्रतिस्पर्धा कायम गराउने, होटलहरुले सेवाको गुणस्तर अभिवृद्धि लैजाउन भन्ने मुल उद्देश्यका साथ होटलहरुको स्तरीयकरण गर्न सुरुवात गरिएको क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य खाद्य निरिक्षक बुढाथोकी जानकारी दिए ।
खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धि निर्देशिका २०७४ आइसकेको सन्दर्भमा यसैको आधारमा होटलहरुको स्तरीकरण गर्ने कार्य भएको र यसमा मुख्य गरेर भान्सा र वरिपरिको सरफाई, भान्सामा प्रयोग गरिने समानहरुको गुणस्तरियता हेरिने गरेको बताइएको छ ।
स्थानीय स्तरमा संचालित होटल रेस्टुरेन्टमा खाद्य स्वच्छता कायम गर्न होटलको स्तरीकरण गर्ने कार्य सकारात्मक भएको कार्यले उपभोक्ताको गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने अधिकार संरक्षणमा मद्दत पुग्ने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष गौतमले प्रतिक्रिया दिए ।
होटलकोे स्तर वर्गीकरण गर्दा खाद्य स्वच्छताको ५० सुचकमा ९० देखिमाथि अंक ल्याउने होटललाई ३ तारा र (क) सहित अति उत्तम लेखिएको हरियो स्टीकरको स्तरीकरण लोगो प्रदान गरिन्छ ।
यसैगरी ८० भन्दा माथि ८९ अंक ल्याउनेलाई २ तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टीकर, ६५ देखि ७९ सम्मको अंक ल्याउने १ तारा र (ग) सहित सन्तोषजनक हरियो स्टीकर, ५० देखि ६४ अंक ल्याउनेलाई सामान्य (ङ) सहित सामान्य लेखिएको पहेलो स्टीकर प्रदान गर्ने गरि खाद्य स्वच्छता स्तर निर्धारण गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी प्रमुख श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया