बाँकेमा होटल स्तरीकरण सुरु

खाद्य स्वच्छताको उद्देश्यले होटलको स्तरीयकरण सुरु गरिएको हो ।

समाचारदाता
दैनिक नेपालगन्ज
क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले खाद्य स्वच्छता कायम राख्ने उद्देश्यले होटलहरुको स्तरीकरण गर्न सुरु गरेको छ ।

 
बाँकेका प्रमुख जिल्ला अधिकारीले रमेश कुमार केसीले एक कार्यक्रमको बीच होटल बाटिकाबाट होटल स्तरीकरण अभियान सुरु गरेका छन् । जस अनुसार होटल बाटिकाले १०० मा ६८ अंक प्राप्त गरेको छ । उक्त होटलले (ग) श्रेणीको सन्तोषजनक हरियो स्टीकर प्राप्त गरेको छ । यस्तै होटल स्नेहाले ८७ अंक सहित उत्तम अंक प्राप्त गरको छ । होटल बालिकाको स्टीकर बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी र स्नेहाको स्टीकर उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले टाँसेका थिए ।

 
होटल व्यवसायमा गरिने सेवा प्रभावहमा गुणस्तर अभिबृद्धि गर्ने, खाद्य बस्तुको स्वच्छता कायम गरि सर्वसाधारण उपभोक्ताको स्वास्थ्य र सुविधा कायम गर्ने, होटल तथा रेष्टुरेन्टहरुमा स्वच्छ प्रतिस्पर्धा कायम गराउने, होटलहरुले सेवाको गुणस्तर अभिबृद्धि लैजाउन भन्ने मुल उद्देश्यका साथ होटलहरुको स्तरीकरण गर्न सुरुवात गरिएको क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख जोत्सना श्रेष्ठले जानकारी दिइन् ।
होटलकोे स्तर वर्गीकरण गर्दा खाद्य स्वच्छताको ५० सुचकमा ९० देखि माथि अंक ल्याउने होटललाई ३ तारा र (क) सहित अति उत्तम लेखिएको हरियो स्टीकरको स्तरीकरण लोगो प्रदान गरिन्छ । यसैगरी ८० भन्दा माथि ८९ अंक ल्याउनेलाई २ तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टीकर, ६५ देखि ७९ सम्मको अंक ल्याउने १ तारा र (ग) सहित सन्तोषजनक हरियो स्टीकर, ५० देखि ६४ अंक ल्याउनेलाई सामान्य (ङ) सहित सामान्य लेखिएको पहेलो स्टीकर प्रदान गर्ने गरि खाद्य स्वच्छता स्तर निर्धारण गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी प्रमुख श्रेष्ठले जानकारी दिइन् । ५० भन्दा कम अंक ल्याउने होटल तथा रेष्टुरेन्टलाई स्टीकर दिने ब्यवस्था नभएको श्रेष्ठले जानकारी बताइन् ।

 
खाद्य स्वच्छताको ५० सुचकलाई प्रतिसुचक २ अंक आधार मानी होटल तथा रेस्टुरेन्टहरुको स्तरीकरण गरि लोगो वितरण गर्न लागिएको होटलको स्तरीकरण कार्यमा संलग्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक एकराज बुडाथोकीले जानकारी दिए ।

 
खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशक संजिव कुमार कर्णको उपस्थितिमा पहिलो चरणमा सोमबार शुभारम्भ गरिएको खाद्य स्वच्छता स्तर वर्गिकरण कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी र उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता वसन्त गौतमले खाद्य स्वच्छता र गुणस्तरियतामा जोड दिएका थिए ।

 
कार्यक्रमको सभापतिको आशनबाट बोल्दै विभागका महानिर्देशक कर्णले उपभोक्ताको अधिकार संरक्षण गर्दै प्रत्येक होटल तथा रेन्टुरेन्ट ब्यवसायीले खाद्य स्वच्छता र गुणस्तरियतामा ध्यान दिनु पर्नेमा जोड दिए । बाँकेका प्रमुख जिल्ला अधिकारी केसीले होटल ब्यवसायीले ब्यवसाय गर्दा खाद्य स्वच्छतामा ध्यान दिनु पर्ने बताए ।

 
संविधानले नै उपभोक्ता अधिकारलाई मौलिक हकको रुपमा ब्यवस्था गरेकाले खाद्य स्वच्छता र गुणस्तरियतालाई केन्द्र बिन्दुमा राखेर होटल ब्यवसायीले होटल संचालन गर्नु पर्ने उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष गौतमले बताए ।
नेपाल पत्रकार महासंघका बाँके अध्यक्ष ठाकुर सिंह थारु, नेपालगन्ज उद्योग ब्यापार संघका अध्यक्ष नन्दलाल बैश्य, होटल ब्यवसायी संघका कार्यवाहक अध्यक्ष प्रेम बहादुर खत्री लगायत होटल ब्यवसायीहरुले ब्यवसायिक इमान्दारिता र स्वच्छता कायम राखेर होटल ब्यवसाय संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।

 
कार्यक्रममा क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख श्रेष्ठले खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धि निर्देशिका २०७४ बारे जानकारी गराएकी थिइन् ।

 
आज मंगलबारदेखि सुर्खेतरोड आसपासमा होटलहरुको निरिक्षण गरि होटलको स्तरीकरण गरि लोगो बितरण गर्ने कार्यक्रम रहेको खाद्य निरिक्षक एक राज बुढाथोकीले जानकारी दिए । बाँकेमा अधिकांस होटलले मापदण्ड पुरा नगरि ब्यवसाय संचालन गरेको सन्दर्भमा खाद्य स्वच्छता कायम राख्न खाद्य स्वच्छताको आधारमा होटल तथा रेस्टुरेन्टको स्तरिकरण मुल्याङ्गन गर्ने कार्यले खाद्य स्वच्छता र उपभोक्ता अधिकार संरक्षणमा मद्दत पुग्ने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष गौतमले प्रतिक्रिया दिए ।

 
स्थानीय स्तरमा संचालित होटल रेस्टुरेन्टमा खाद्य स्वच्छता कायम गर्न र यसरी खाद्य स्वच्छता कायम गर्ने होटल रेस्टुरेन्टलाई खाद्य स्वच्छताको आधारमा स्तरीकरण गर्ने कार्यमा सहयोग गर्न स्थानीय स्तरमा खाद्य स्वच्छता समुह गठन गर्नु पर्ने ब्यवस्था रहेको र सो अनुसार छिट्टै समुह गठन गरिने खाद्य निरिक्षक बुढाथोकीले जानकारी दिए ।
खाद्य स्वच्छता समुहमा होटल रेष्टुरेन्ट ब्यवसायी संघ संस्थाको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि अध्यक्ष, खाद्य ब्यवसायीहरुको महासंघले तोकेको स्थानीय प्रतिनिधि, उपभोत्ता हक हित सम्बद्ध सस्थाका प्रतिनिधि, इलाका÷ वडा प्रहरी कार्यालयका प्रतिनिधि, स्थानीय तहको प्रतिनिधि, स्थानीय सेवा प्रदायक खाद्य ब्यवसाय संचालक सदस्य र खाद्य अनुसन्धान अधिकारी वा खाद्य निरिक्षक सदस्य सचिवको रुपमा रहने ब्यवस्था निर्देशिकाले गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया