बर्षा र बाढी पछि सडक सम्पर्क विहीन भयो नरैनापुर

नेपालगञ्ज, असार १८ । अविरल बर्षाका कारण बाँकेको राप्तीपारि विकट नरैनापुर गाउँपालिकाको सदरमुकाम नेपालगञ्जसंग सडक सम्पर्क टुटेको छ । आइतबार रातिदेखि परेको अविरल बर्षापछि सडक पूरै अबरुद्ध भएको छ ।

 

निर्माणाधीन हुलाकी सडक निर्माणका क्रममा लापरबाही गरिँदा आवतजावत प्रभावित भएको हो । पुल निर्माणको काममा ढिलाई हुँदा उचित डाइभर्सनको अभावमा गएरातिदेखि आवतजावत ठप्प भएको छ । ‘ठाउँ ठाउँमा पुल बनिरहेका छन् तर पुल बनाउनुअघि डाइभर्सन बनाउनुपर्ने मापदण्डलाई बेवास्ता गरिएकाले अहिले पानी परिरहँदा सडक पूरै सडक अवरुद्ध भएको छ,’ गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आक्रोश पोख्नुभयो । बर्षायाममा यस्तै अवस्था हुन्छ भनेर आफूले पहिल्यैदेखि नै हुलाकी सडक आयोजना प्रमुख, ठेकेदार र प्रमुख जिल्ला अधिकारीलाई सचेत गराउँदै आएको भएपनि सुनुवाई नहुँदा यो अवस्था आएको उहाँले बताउनुभयो । ‘न भारततिर जान सक्ने अवस्था छ, न नेपालगञ्ज आउने अवस्था छ, म त २ नम्बर वडामा रहेको मेरो घरबाट ४ नम्बरमा रहेको गाउँपालिका कार्यालय पनि जान सकिरहेको छैन,’ अध्यक्ष शाहले भन्नुभयो ।

 
५०/६० घर डुबानमा

अविरल बर्षापछि कट्कुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुरका दर्जनौं घर डुबानमा परेका छन् । पानीको सहज निकास नभएका कारण सयौं घरहरु डुबेका हुन् । भारतले अन्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि बर्षेनी त्यहाँका गाउँहरु डुबानमा पर्ने गरेका छन् । ‘एक त लक्ष्मणपुर बाँध र कल्कलवा तटबन्धले बर्षेनी डुबान हुन्थ्यो, अब त झन् भारतले सीमामा बाँध जस्तो सडक बनाएपछि समस्या थपिएको छ,’ अध्यक्ष शाहले भन्नुभयो । मातनिया र बनिया गाउँका १५ बढी घरमा पानी पसेर विचल्ली भएको कट्कुइँयाका स्थानीय सहाजद अलि जोलाहले बताउनुभयो ।

 

नरैनापुरका ५०/६० घरमा पानी पसेर क्षति पुर्याएको जानकारी आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । नरैनापुरका वडा नम्बर ५ मटेहिया र वडा नम्बर ६ गंगापुरका राप्ती नदी तटीय बस्तीहरु बाढीको जोखिममा पर्दै आएकोमा पछिल्लो समय भारतले सीमामा बनाएको बाँधजस्तो सडकका कारण अन्य वडाहरु पनि डुबानमा पर्ने अवस्था आएको हो । नदी तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँमा आएर बस्न गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया