ईरिक्सा दर्ता गर्न दबाव, अतिक्रमण विरुद्ध छड्के, निशानामा ‘मोडीफाई बाइक’
समाचारदाता
दैनिक नेपालगन्ज
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जको ४० वटा स्थानलाई नो पार्किंङ्ग एरिया तोक्ने भएको छ । सहरमा यत्रतत्र सवारी साधन पार्किंङ गर्दा जाम, दुर्घटना र आवतजावतमा कठिनाई हुने अवस्थालाई ब्यवस्थित गर्न ४० वटा स्थानलाई नो पार्किंङ क्षेत्र तोक्ने काम अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका इन्चार्ज प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए ।
‘अहिले मुख्य सडकको २८ वटा स्थानमा नो पार्किंङको बोर्ड राखिएको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै इन्चार्ज रोकायले भने, ‘सडक ब्यवस्थित नहुँदा सम्म अन्य पक्षमा काम गर्न गार्हो हुन्छ ।’ यसअघि फुटपाथ कब्जा र अतिक्रमण विरुद्ध कारवाही थालेको वडा प्रहरी कार्यालय र ट्राफिक प्रहरीले अहिले रोयल इनफिल्ट(बुलेट) बाइकको नाममा तथाभावी मोडीफाई गर्ने विरुद्ध कारवाही कडा परेको छ ।
५०० सीसी बाइकको नाममा ३५० सीसीले पनि ठूलो ध्वनि गर्ने यन्त्र जडान गरि स्वरुप परिवर्तन गरेको पाइएकोले बाँकेमा १० वटा मोटरसाइकललाई कारवाहीका लागि यातायात कार्यालय भेरीमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
नो पार्किंङमा सवारी साधन पार्किंङ गर्ने विरुद्ध सक्रिय रहेको ट्राफिक प्रहरीले २० जनाबाट १ हजार ५ सय रुपैयाका दरले जरिवाना असूल गरेको जनाएको छ । ट्रालीको स्वरुप परिवर्तन गरी ढुवानी कार्यमा संलग्न २ वटा ट्याक्टरलाई भेरी यातायातमा पठाएको ट्राफिक प्रमुख रोकायले बताए ।
‘हालसम्म गाबिस र नगरपालिकामा दर्ता गरी संचालनमा रहेका इरिक्सालाई यातायात कार्यालय भेरीमा दर्ता हुने निर्देशन दिइएको छ’, रोकायले भने, ‘करिब १०० जना रिक्साधनीलाई कार्यालयमा झिकाएर दर्ता गर्न १५ दिने म्याद दिइएको छ ।’ ‘सो म्याद भित्र दर्ता नभएका इरिक्सा सडकमा चल्न नै नदिने हिसाबले तयारी अघि बढाइएको छ’, रोकाय भन्छन्, ‘नेपालगन्ज धेरै अस्तब्यस्त अवस्थामा छ, यसलाई सुधार गर्ने प्रयास भइरहेको छ ।’
रातो प्लेट र कालो प्लेट बीचको फरक समेत नबुझेका ईरिक्सा चालकले कसरी सवारी चालक अनुमति पत्र प्राप्त गर्छन् भन्ने विषय अहिलेको लागि गम्भीर बनेको छ । अनियन्त्रित रुपमा ईरिक्सा भित्रिएको बाँकेमा प्रहरीले पटक पटकको प्रयास पछि १ हजार ५ बढी ईरिक्सालाई यातायात कार्यालयमा दर्ता गराउन सकेको छ । अहिले विस्तारै सहरको ट्राफिक ब्यवस्थापनमा सक्रियता बढाउँदै लगेको ट्राफिक प्रहरीले यसपछि भित्री गल्लीहरुमा पनि सडक अतिक्रमण पसल र ब्यवसाय संचालन गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउने बताएको छ ।
‘सडक अतिक्रमण गरि फुटपाथ कब्जा गर्नेहरु जरिवाना र सामाग्री जफ्त गर्ने सम्मको कारवाही चलाइएको छ’, रोकायले भने, ‘अहिले उपमहानगरपालिका, वडा प्रहरी र ट्राफिक प्रहरी हेरेपछि अतिक्रमण रहेको क्षेत्र खाली हुने गरेको छ ।’
‘विस्तारै सकारात्मक निकास सहितको प्रयास भइरहेको छ’, दैनिक नेपालगन्ज संग रोकायले भने, ‘पसल संचालक र ब्यवसायीहरुले आफ्नो सामाग्री धेरै हद सम्म नियन्त्रणमा राख्न थालेका छन् ।’