दीपक श्रेष्ठ/बर्दिया
सुन कारोवारमा मिसावटको हद पार गरेको भेटिएको छ । बर्दियाको गुलरिया बजारमा गरेको एउटा अनुगमनका क्रममा अधिकाँश सुनका गहनामा मिसावट फेला पारिएको हो ।
बर्दिया प्रशासनले गरेको अनुगमनको परिणामले सुन कारोबारमा भएको कालो पक्ष उजागर गरेको छ । अनुगमनपछि बर्दियाका विभिन्न नगरबाट १२ जना सुनचाँदी पसलका सञ्चालकहरुलाई कालो बजारी र ठगी गरेको आरोपमा पक्राउ गरिएको छ । ‘सुनका गहनामा ८ प्रतिशत सम्म मिसावट फेला परेको छ,’ बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले आइतवार पत्रकार सम्मेलन गरेर भने, ‘दोषीहरुलाई हदैसम्मको कारबाही गरिनेछ ।’
उपभोक्ताहरुको हित संरक्षणको लागि स्थानीय प्रशासनले अनुगमन गरेको हो । अनुगमनका क्रममा लिइएको गहना गुणस्तर तथा नाप तौल विभाग काठमाडौंमा परिक्षण गर्दा गहनामा ८ प्रतिशत सम्म सुनमा अन्य धातु मिसाइएको खुलेपछि बर्दिया प्रशासन हर्कतमा आएको हो । ‘पक्राउ गरिएकाहरुबारे थप अनुसन्धान भइरहेको छ,’ प्रजिअ कुरुम्बाङ्गले शनिवार एक साथ अप्रेशन चलाइएको खुलासा गर्दै पत्रकारहरु सँग भने ।
पक्राउ पर्नेमा गुलरिया, राजापुर र बासगढी नगरपालिका सुन पसले छन् । राप्ती लुम्बीनी सुनचाँदी पसलका भिम बहादुर सेन्चुरी, न्यु स्याङ्जा गण्डकी सुनचाँदी पसलका सञ्चालक विजयलक्ष्मी सुनार र संतोषी सोनी, गण्डकी सुनचाँदी पसलका इश्वरकुमार विश्वकर्मा पक्राउ परेका छन् । राजापुर नगरपालिकामा पनि अप्रेशन चलाएको बर्दिया प्रशासनले दंङ्गाली सुनचाँदी पसलका कविराम वि.क., लुम्बिनी सुनचाँदी पसलका भगवान कुमार सोनी र फुलाराम ज्वयलर्सका परशुराम सुनार र निम प्रकाश सुनारलाई पक्राउ गरेको छ ।
बाँसगढी नगरपालिकाबाट गण्डकी सुनचाँदी पसलका यमलाल विश्वकर्मा, मोडेल सुनचाँदी पसलका इन्द्रकुमार सुनार, सिता सुनचाँदी पसलका सिता सुनार, पोखरा सुनचाँदी पसलका त्रिभुवन सुवर्णकार, पर्वत मनिषा सुनचाँदी पसलका शिवबहादुर सुनार र स्याङ्जा सुनचाँदी पसलका संगिता सुनार पक्राउ गरिएको छ ।
सुन पसल सञ्चालकहरुलाई कालो बजार तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तरगत कारवाही हुने र सजाय अन्तरगत ९ महिना कैद वा दुई लाख सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ब्यबस्था छ । ‘थप अनुसन्धान पछि सबै कुरा खुल्दै जान्छ,’ प्रजिअ कुरुम्बाङ्गले भने ।