बाँकेमा ‘लायन्स सर्भिस सेन्टर’ बनाइँदै

डेढ करोड लागतमा लायन्स क्बलहरुका लागि साझा सेवा केन्द्र बनाउन लागिएको हो
समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्जमा ‘लायन्स सर्भिस सेन्टर’ बन्ने भएको छ । आफ्नो कार्यकाल समाप्त हुँदै गर्दा डिष्ट्रिक गभर्नर मधुसुदन शर्मा रिजालले नेपालगन्जमा लायन्स सर्भिस सेन्टर निर्माण घोषणा गरेका छन् । शनिबार लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका गभर्नर शर्माले सर्भिस सेन्टरको शिलान्यास गरेका हुन् । लायन्स पार्क गाभर भ्याली चिसापानीमा आयोजित औपचारिक कार्यक्रममा सर्भिस सेन्टर निर्माण घोषणा गर्दै शिलान्यास गरिएको लायन्स लिडर कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।

 
जिम्मेवारी हस्तान्तरणका लागि गरिएको कार्यक्रम बीच झण्डै डेढ करोड लागतमा बन्ने लायन्स सर्भिस सेन्टर निर्माण घोषणा गर्दै शिलान्यास गरेका डिष्ट्रिक गभर्नर शर्माले दुई बर्षभित्र निर्माण सकिसक्न लायन्स लिडर मुकुट ढकालको नेतृत्वमा निर्माण तदर्थ समिति गठन गरेका छन् । समितिमा नवराज पराजुली, कृष्ण प्रसाद श्रेष्ठ, संजय थापा, शशी स्वाँर, रेवती सिंह, टिपी न्यौपाने लगायत सदस्य छन् । ‘यसलाई विधिवत बिस्तार गरिनेछ’, संयोजक ढकालले गभर्नरको घोषणा अनुसार समयमै लायन्स सर्भिस सेन्टर तयार गरेर देखाउने जिम्मेवारी पूरा गर्ने गरी टिम तयार हुने बताए ।
शनिबार फेलोसिप कार्यक्रम समेत गरिएको लायन्स पार्क चिसापानीमा भएको शिलान्यास कार्यक्रममै गभर्नर शर्मा र पूर्व गभर्नर सेम शाक्यले ५० हजार ५ सय ५५ रुपैयाँ दरले आर्थिक सहयोग घोषणा गरे । अर्का लायन्स लिडर संजय जैनले ५१ हजार रुपैयाँ सहयोग घोषणा गरेका छन् । ‘यसरी नै सबैको साथ रह्यो भने पूर्व लक्षित समयमा सर्भिस सेन्टर तयार हुन्छ’, संयोजक ढकालले भने ।

 
नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजन कार्यालय रहेको छेउमा रहेको लायन्स क्लबको साझा स्वामित्वमा रहेको ३ कठ्ठा जग्गामा झण्डै ३ सय जना अट्ने सभाहल, २ वटा स–साना बैठक कक्ष, सचिवालय लगायतको संरचना तयार गर्ने योजना छ । ‘यस क्षेत्रका सबै लायन्सहरुले साझा स्वामित्व ग्रहण गर्ने गरी उक्त सर्भिस सेन्टर तयार गरिनेछ’, संयोजक ढकालले भने ।

 
कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर शाक्यले पश्चिम क्षेत्रमा लायनिज्मको विकाससँगै सामाजिक क्षेत्रमा अभियान चलाउने आफुहरुको प्रयास सार्थक हुँदै गएको बताए । शाक्य गभर्नर हुँदा चिसापानी स्थित गाभर भ्यालीमा लायन्स पार्क निर्माण लगायतका काम अगाडि बढाइएको थियो । ‘लायन्स पार्कदेखि डेन्टल अस्पतालसम्मको दायित्व रहेको लायन्सलाई अब सर्भिस सेन्टर निर्माण र बागेश्वरी मन्दिरको बृहत्तर विकासमा ध्यान दिनुपर्नेछ’, शाक्यले भने । लायन्सले बागेश्वरी मन्दिरलाई विशेष प्राथमिकताको क्षेत्रमा राख्न डिष्ट्रिक गभर्नर शर्माले प्रयास गरिरहेका छन् ।

 
कार्यक्रम बीच एरिया चिफ टिपी न्यौपानेले नयाँ लायन बर्षका एरिया चिफ सन्तोष पौडेललाई जिम्मेवारी हस्तान्तरण पनि गरेका छन् । साथै, लायन्स क्लब अफ नेपालगन्जको नर्सिङ्गको शुभारम्भ पनि गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया