राप्तीसोनारीमा करेन्ट लागेर दुईको मृत्यु, एक गम्भीर

एक्कासी शनिबार विहान गाउँमा विद्युत करेन्ट प्रवाह भएपछि ठुलो धनजनको क्षति भएको छ । करेन्ट लागेर बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ लक्ष्मीराजपुरका २४ वर्षिय सुरेश चौधरी र ४२ वर्षका टिकाराम चौधरीको मृत्युभएको हो । ‘हाइ भोल्टेजका कारण आगलागी समेत भएको छ’, अरुण यादवले भने ।


मृतक टिकाराम चौधरी सोही वडाका महिला वडा सदस्य जुगरी थारुका श्रीमान हुन । दुबैको हात्त–खुट्टामा करेन्ट लागेकोले उपचारका लागी नेपालगंज ल्याउदै गर्दा बाटोमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शनिबार नै मृतक द्वयको पोष्टमार्टम पछि शव आफन्तको जिम्मा लगाएको छ । सुरेशको शनिबार नै अन्तिम दाहसंस्कार गरिएको छ भने टिकारामका छोराहरु बाहिर रहेकाले आइतबार मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ ।


करेन्ट लागेका पाँच जना मध्ये गम्भिर घाइते राप्ती सोनारी गाउँपालिका ६ मेहमानपुरकी ३५ वर्षिया तिला शाहीको भेरी अञ्चल अस्पताल नेपालगंजमा उपचार भईरहेको छ । शाहीले भनिन, “बर्खेखेतिको सिजनमा घाईते भईयो, घरमा कोही छै्नन । साना बाबुनानी र आमा हुनुहुन्छ, अहिले आफ्नै खर्चले उपचार गराई रहेका छौ, उपचार खर्च ब्यर्होरीदिए हुन्थ्यो, हामी सँग आर्थिक समस्या छ, अझ कति उपचार खर्च लाग्ने हो । यस्तो होला भन्ने सोचेको पनि थिएनौ ।” अन्य सामान्य घाइते कमला बुढाथोकी, दिनेश बुढाथोकीको उपचार पछि घर फर्किएका छन ।


विहान ३ देखी ४ बजेको विचमा गाउँभरी करेन्ट प्रवाह भएपछि अन्य थुप्रै पशुचौपायहरु पनि मरेको स्थानिय बासीन्दाहरुले जनाएका छन । घटना बारे निष्पक्ष छानविन सहित दोषीलाई कडा कारबाही र पीडितलाई निःशुल्क उपचार तथा उचित क्षतिपूर्ति दिलाइनु पर्ने उनीहरुको माग छ । यता नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले भने एक्कासी पिन इन्सुलेटर फुटेर घटना घटेको दाबी गरेको छ । वितरण केन्द्र प्रमुख राम दुलार यादवका अनुसार पिन इन्सुलेटर फुटेपछि ११ हजार भोल्टेजको विद्युत लाइन ४ सय विद्युत भोल्टेज भएको विद्युतीय तार (लाइन) मा परेको थियो । जसका कारण १ सय केभीए ट्रान्सफर्मरमा जोडिएका करिब १ सय ६ जना जति ग्राहकहरुको विद्युत मिटर सम्म हाइभोल्टेजको करेन्ट प्रवाह भएको हो । विद्युत सप्लाई भएका कतिपय विद्युतीय तारहरु तातिएर चुडिँएपछि वर्षाले भिजेको जमिनमा समेत थप करेन्ट प्रवाह भएपछि यसले ठुलो धनजनको क्षति गराएको वितरण केन्द्रको भनाई छ । “हाम्रो लापरबाही छैन, यस्तो भवितब्य आइपर्ने घटनाहरुको प्रि–इन्फरमेसन हुने कुरा पनि भएन, साहपुर्रवा फियुज सेवाले कार्यालयमा जानकारी गराउन साथ विद्युत लाइन कटाएर त्यसबारेमा जानकारी लिएका छौं” प्रमुख यादवले भने । उनका अनुसार घटना घटेपछि त्यसक्षेत्रवरीपरीका ठाउँमा विद्युत सप्लाई पुरै बन्द गरिएको छ ।

 
आइतबार देखी प्राविधिकहरुले त्यस क्षेत्रमा विद्युत सप्लाईको काम थाल्ने छन । विद्युतीय ऐन–नियम अनुसार ब्यक्तिको मृत्युभएमा रु ५ लाख, अंगभग भएमा रु २ लाख र घाइतेको उपचार खर्च बिल बमोजिमको क्षतिपुर्ति रकम उपलब्ध गराउने ब्यवस्था रहेको छ । सोही बमोजिमको तयारी कार्यालयले पनि थालेको छ । अन्य पशुचौपाय, विद्युतिय सामाग्री लगायतको पनि अवस्था हेरी क्षतिपुर्ति दिलाउने बारेमा प्रमुख जिल्ला अधिकारी सहितका विशीष्ट ब्यक्तित्वहरु सम्मिलित समिति गठन गरी प्रक्रिया थालीने जनाईएको छ । कुनै ठाउँमा विद्युतीय समस्या भए तत्काल खबर गर्न पनि नेपालगंज वितरण केन्द्रले आग्रह गरेको छ । नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको स्वामित्व भएको एउटा निकाय हो ।

प्रतिक्रिया

प्रतिक्रिया