सीमा क्षेत्रमा प्रहरीबाटै असुली (भिडियो सहित)

घुमुवा प्रहरीलाई ३० हजार सम्म कमिसन, कारवाहीका लागि जिल्ला तानिए
समाचारदाता
दैनिक नेपालगन्ज

नागरिक सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले नै आम नागरिकबाट असूली गर्न थालेको तथ्य बाहिर आएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले कारवाही सुरु गरेको छ । दाङ, सल्यान, जाजरकोट, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, सुर्खेत लगायतका जिल्लाबाट भारत जाँदा नेपालगन्ज नाका प्रयोग हुने गरेको छ । भारतीय क्षेत्रमा रोजगारीका लागि जाने ब्यक्तिहरु दशैं, तिहार जस्ता चाड पर्वका बेला फर्किन्छन् । तर, सिमा क्षेत्रमा सुरक्षाका लागि तैनाथ रहेका सुरक्षाकर्मिले यस्ता आवागमन गर्ने नागरिकबाट रकम असूली गरिरहेको खुलेको हो ।

सिमा क्षेत्रबाट भारतीय सहर, देहरादून, हरिद्वार, लखनउ, लुधियाना, अमृतसर जस्ता सहरमा मजदुरीका लागि जाने आम नेपाली नागरिक एक स्थानमा मात्र हैन, नेपालगन्जकै होटल, यातायातका साधन, जमुनाहा नाकादेखि रुपैडिहा प्रहरीसम्मबाट लुटिन्छन् । ५ सय रुपैयाँ मात्र भाडा पर्ने कोठाको १७ सयसम्म तिर्नु परेको पीडा सुनाउँदै सल्यानका सुरेन्द्र बहादुर खड्काले भने, ‘होटलदेखि यातायातका साधनसम्म बढी रकम लिने गरेको थाहा भएपनि कारवाही गर्ने निकाय नदेखेर मौन बस्नु परेको छ ।’
यातायात ब्यवसायीबाटै सेटिङ गरेर यात्रीलाई होटलमा लैजाने र त्यहाँबाट भारतीय यातायात ब्यवसायी संग साँठगाँठ गरी मोटो कमिसनको खेलमा दलाल फेला पर्नु ठूलो कुरो होइन । तर, चिन्ताको विषय तब हुन्छ, जब आम नागरिकको सुरक्षाका लागि जिम्मेवारी लिएको प्रहरी अधिकारीले सर्वसाधारण माथि लूटपाट मच्याउँछन् । अनि सुरक्षाका लागि आम जनता कहाँ जाने ? कसरी जोगाउने आफुलाई ? समाजमा को लुटेरा छ, को इमान्दार कसरी ठम्याउने ? यो प्रश्न उत्पन्न हुनु स्वभाविक हो ।

भिडियो हेर्न क्लिकि गर्नुहोस्

तीन महिना अघि इलाका प्रहरी कार्यालय जमुनाहामा नागरिक सुरक्षाको जिम्मेवारी सम्हाल्न खटिएका प्रहरी हवल्दार मान बहादुर अधिकारी नै सर्वसाधारण यात्रुलाई ठग्न सक्रिय रहेको पाइएपछि बाँके प्रहरीको सुरक्षा प्रक्रियामाथि गम्भीर प्रश्न उब्जियो । सीमा क्षेत्रमा रहेको यातायात एजेन्सीबाट दिनहुँ १५ हजारदेखि ३० हजार भारतीय रुपैयाँ कमिसन बुझ्न उनी रुपैडिहा पुग्छन् । रुपैयाँ असुल गरि इलाका प्रहरी कार्यालय जमुनाहा पुग्ने गरेका हवल्दार मान बहादुर अधिकारीको दरबन्दी रुपैडिहा नाका स्थित इलाका प्रहरी कार्यालय जमुनाहामा छ ।
तर, इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायब निरीक्षक सुनील कुमार शाहले कुनै सादा पोसाकको प्रहरी जमुनाहा क्षेत्रमा नरहेको बताएका छन् । प्रहरी पोसाकमा तीन दिनसम्म उनी ड्युटी गरेको नदेखिएपछि उनको सोधी खोजीका लागि थालिएको प्रयासमा अधिकारी सिमावर्ती क्षेत्रसम्म रकम असुल गर्न पुग्ने गरेको पाइयो ।
अधिकारीको साथमा जयसपुरका रिजवान कबडिया, नसीम खाँ र सराफत कबडिया समेत संलग्न रहेको भारतीय यातायात एजेन्सीले खुलासा गर्यो । होटलमा बसेका नेपालीलाई रुपैडिहामा लगी यातायात एजेन्सीलाई सुम्पे वापत यात्रीबाट भाडा भन्दा बढी रकम असूली गरेर ७ स्थानमा बाँडफाँड गर्दा एक जनाको भागमा प्रतिदिन करिब १५ हजार देखि ३० हजार रुपैयाँसम्म पर्न आउँछ ।
३ जना जयसपुरका, प्रहरी हवल्दार अधिकारी र ३ जना भारतीय ट्राभल एजेन्सीका एजेन्टले रकम बाँडफाँड गर्छन् । खुलेआम चलिरहेको असूली विरुद्ध तीन दिन लगातार अध्ययन गर्दा उनीहरु रकम बाँडफाँड गर्दै गरेको अबस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार अहिले प्रतिदिन करिब ४ सय नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् । उनीहरु भारतीय सवारी साधन आफै प्रयोग गरेपनि प्रहरी हवल्दार अधिकारी र ६ जना एजेन्टहरुको कमिशन कसैले छेक्न सक्दैन ।
जमुनाहामा स्थापित पब्लिक मेट्रो सर्भिस प्रालि र स्वर्गद्वारी यातायात सेवा प्रालिले भारतीय क्षेत्रमा यातायात संचालन गर्दै आएको खुलेपछि भाडा दर बारे सोधपुछ गरियो । एजेन्सीका प्रतिनिधिले दिएको जानकारी अनुसार, आफै टिकट काटेर यात्रा गरेको खण्डमा बढी रकम तिर्नु पर्दैन । यात्रीहरु भन्छन्, ‘भारतीय क्षेत्रमा मात्र हैन नेपाली क्षेत्रमा पनि चर्को भाडा र प्रहरीलाई रकम तिर्नु परेको छ ।’ दाङका हरिनारायण चौधरीले भने, ‘रुपैडिहामा ३ सय, नेपाली एजेन्टलाई २२ सय र होटललाई १५ सय तिरेर चन्दीगढ पुगिन्छ ।’
मुद्दा चल्ने प्रहरी युनिटले आफ्नो क्षेत्रमा घुमुवा प्रहरी आफै तोक्ने र जिल्ला प्रहरीको हकमा जिल्ला प्रमुखको नेतृत्वमा रहने गरि अहिले ६ जना प्रहरी नियुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ‘सादा पोसाकको प्रहरीको काम हो, आम नागरिक बीच गोप्य रुपमा बसी सूचना संकलन गर्ने र प्रहरीको अनुसन्धानलाई सहयोग गर्ने । यी काम बाहेक कतिपय बेला गोप्य रुपमा अभियुक्तलाई पक्राउ गर्न पनि घुमुवा प्रहरीको प्रयोग हुन्छ’, प्रहरी अधिकारी भन्छन् ।
बाँकेमा घुमुवाको ब्यवस्थापन र परिचालन बारे प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले भने, ‘सादा पोसाकको प्रहरी खास गरि सूचना प्राप्त गर्नका लागि तैनाथ गरिएको हुन्छ ।’ घुमुवा प्रहरी जमुनाहा क्षेत्रमा तैनाथ रहेको बारे प्रहरी प्रमुख तामाङ बेखबर थिए । उनले भने, ‘अन्य क्षेत्रमा घुमुवा प्रहरी तैनाथ रहेको सन्दर्भमा सूचना हुँदैन ।’ ‘मुद्दा चल्ने युनिटले आफ्नो हिसाबले नै सादा पोसाकको प्रहरी तैनाथ गरेका हुन्छन्’, एसपी तामाङले भने, ‘यद्यपि जिल्ला भित्र कुनैपनि प्रहरी अधिकारीले गैरकानूनी काम गरेको खण्डमा कारवाही गर्ने अधिकार जिल्ला प्रहरीलाई छ ।’
प्रहरी हवल्दारको हर्कत बारे सूचना पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई कारवाहीका लागि झिकाएको बताएको छ । सिमा क्षेत्रका असूली गर्दै आएका हवल्दार अधिकारीबारे थप अनुसन्धान पछि कारवाही प्रक्रिया अघि बढाउने तमाङले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया