आज १५ औं राष्ट्रिय धान दिवस, पर्याप्त पानी नपर्दा किसान चिन्तित

रोपाईका लागि ब्याड उखेल्दै खजुरा–२ एलगाउँका किसान । ब्याड तयार भएपछि उनीहरुले बोरिङ्गबाट सिंचाई गरी रोपाई गरेका हुन् ।

प्रदेश नं. ५ १२ लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य

बुटवल/समाचारदाता
दैनिक नेपालगन्ज
आज १५ औं राष्ट्रिय धान दिवस २०७५ देशभर मनाइँदै छ । ०६१ सालदेखि मनाउन लागिएको धान दिवसको यस बर्षको नारा ‘धान उत्पादनमा वृद्धिः राष्ट्रको सम्वृद्धि’ तय गरिएको छ ।

 

नेपालमा १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गर्दछ । जस मध्ये प्रदेश नं. ५ मा मात्रै ३३ हजार ४ सय २६ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । यो प्रदेशमा १२ लाख ७४ हजार २ सय ६८ मेट्रिक ट्रन धान उत्पादन हुने मन्त्रालयका सचिव यामनारायण देवकोटाले जानाकारी दिए ।
नेपालमा कुल ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक टन धान उत्पादन हुने तथ्याङक छ । यस अनुपातमा समग्र प्रदेश नं. ५ मा २१ प्रतिशत हुन आउँछ । उत्पादन तर्फ भने कुल उत्पादनको २४ प्रतिशत प्रदेश न. ५ मा हुने सचिव देवकोटाले बताए । प्रदेश नं. ५ मा १९ लाख ६९ हजार ७ सय ७६ हेक्टर क्षेत्रफल रहेकोमा खेती योग्य जमिन ६ लाख ९७ हजार ३ सय ३३ रहेको मन्त्रालयको दावी छ । जसमा ५ लाख ३९ हजार २ सय ६३ हेक्टरमा खेती गरिएको छ । २ लाख ७६ हजार ८ सय १९ हेक्टर क्षेत्रफलमा सिचाईको सुविधा रहेको उनले बताए ।
नेपालमा हालसम्म ६२ वटा धानका जातहरु उन्मोचन गरिएको मध्ये ३६ वटा धानहरु पञ्चिकरण मात्र गरिएको छ । कृषिलाई व्यवसायीकरण गर्ने अभियान सरकारले थालेपछि साथर्कता नभएको सचिव देवकोटाको भनाइ छ । सिंचाइ पर्याप्त नहुनु, माटोमा प्राङ्गारिक पदार्थको कमी, नेपालको बर्णशंकर जात नहुनु, उन्नत बीउको पूर्ण उपलब्धता नहुनु, भारतीय खुला बोर्डर धान तथा बीउको अबैधानिक आयात निर्यात, भात प्रतिको आकर्षण बढ्नु तथा अन्य खाद्यान्नको उपभोग घट्नु, मसिनो चामलको माग बढ्नु र आयात भएका कारण उत्पादनमा चुनौती र समस्याहरु रहेको बताए ।
त्यस्तै उत्पादन लागतको तुलनामा प्रतिफल कम हुनु, उत्पादनशिल जमिन घडेरीमा परिणत हुनु र भूमिको खण्डिकरणले यान्त्रिकरणमा असहजता भएका कारण उत्पादनमा चुनौती रहेको सचिव देवकोटाले बताए ।
सचिव देवकोटाले धानको उत्पादनमा गुणात्मक वृद्धि गर्न भू उपयोग नीति कार्यान्वयन गर्न जरुरी रहेको बताए । त्यस बाहेक सिंचाई विस्तार, चैते धान विस्तार र विक्री व्यवस्थापन, न्यूनतम समर्थन मूल्य कायम, यान्त्रिकरण मार्फत् उत्पादन लागत न्यूनिकरण, परिकार विविधिकरण, अत्याधुनिक प्रशोधन मिलहरु स्थापना, प्राविधिक सेवा विस्तार गर्नुपर्ने उनले बताए ।

नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । प्राप्त तथ्याङ्कअनुसार नेपालमा धानको उत्पादन सरदर ५२÷५३ लाख मेट्रिक टन रहेको छ । तर गतवर्ष भने यसको उत्पादन ४२ लाख मेट्रिक टनमा मात्र खुम्चन पुग्यो । नेपालीहरू दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ । हाल प्रतिमहिना रु दुई अर्बको चामल आयात हुन्छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव शङ्कर सापकोटाले सरकारले आगामी पाँच वर्षमा धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको बताउँछन् । ‘ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पकेट, ब्लक, जोन र सुपरजोनमार्फत क्षेत्र पहिचान गरी धानको उत्पादन वृद्धि गर्दै लैजाने नीति सरकारको छ’ उनले भने ।
विश्वको कूल जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या एशिया महादेशमा बसोबास गर्छन् । एशियाका धेरै मानिसको आहार भात हो । त्यसैले सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन र भारत एशियामै पर्छन् । त्यसपछि क्रमशः इण्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान धेरै धान उत्पादन गर्ने देशको गणनामा सूचीकृत भएका छन् ।
नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, उक्त धान मागअनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ ।

 

सन् १९६६ मा एशियाका थुप्रै देशमा भोकमरी भयो । द्वन्द्व र लडाइँका कारण सो भोकमरी भएको थियो । त्यसैले संयुक्त राष्ट्रसंघ (युएन) ले सन् १९६६ लाई धानबाली वर्षका रूपमा घोषण गरेको थियो । युएनले घोषण गर्नुअघि फिलिपिन्सको राजधानी मनिलामा मुख्य कार्यालय रहने गरी सन् १९६० मा अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरीको) स्थापना भइसकेको थियो ।

 

खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ । तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये झण्डै ११ लाख हेक्टर जमीन बाँझो छ । सरकारी तथ्याङ्कअनुसार करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य छ । उन्नत जात भित्र्याउने नाममा स्थानीय धानका जात प्रायः लोप भइसकेका छन् । सरकारले देशलाई धानमा आत्मनिर्भर गर्न इरीसँग हालै सम्झौता पनि गरेको छ ।
कृषि सचिव डा युवकध्वज जिसीले नयाँ नयाँ धानको जातको पहिचान र सिफारिस, माटोको उर्वराशक्तिमा बढोत्तरी कायम गर्ने, रोग तथा किराको रोकथाम, उत्पादकत्व वृद्धिको उपाय पहिचान तथा सीप र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले इरीसँग सो सम्झौता भएको जानकारी दिए ।

इरीले सर्वप्रथम सन् १९६६ मा पहिलोपटक आइआर ८ नामक धानबालीको जात सिफारिस गरेको थियो । जुन बीउले विश्वभर नै धानको उत्पादकत्व दर वृद्धि गरेको थियो । इरीले हालसम्म आविस्कार गरेका ८२ नयाँ जातका धानको बीउमध्ये ५० थरीका बीउ नेपाललाई प्राप्त भएको छ ।
नेपालमा विगत दश वर्षदेखि धानको उत्पादन सन्तोषजनक देखिएको छैन । २०६४ देखि २०७४ सम्म अर्थात् १० वर्षमा धानको उत्पादन दर र जमीनको उपभोगको तथ्याङ्क हेर्दा उत्पादन दर भने कछुवाको गतिमा देखिएको छ ।
विसं २०६४ मा १४ लाख ३९ हजार ५२५ हेक्टर जमीनमा खेती हुँदा ३६ लाख ८० हजार ८३८ मेट्रिक टन, २०६५ मा १५ लाख ४९ हजार २६२ हेक्टरमा खेती गर्दा ४२ लाख ९९ हजार २४६ मेट्रिक टन, २०६६ सालमा १५ लाख ५५ हजार ९४० हेक्टरमा खेती हुँदा ४५ लाख २३ हजार ६९३ मेट्रिक टन, २०६७ मा १४ लाख ८१ हजार २८९ हेक्टरमा खेती गर्दा ४० लाख २३ हजार ८२३ मेट्रिक टन, २०६८ मा १४ लाख ९६ हजार ४७६ हेक्टरमा खेती गर्दा ४४ लाख ६० हजार २७८ मेट्रिक टन, २०६९ मा १५ लाख ३१ हजार ४९३ हेक्टरमा खेती गर्दा ५० लाख ४७ हजार ४७ मेट्रिक टन धान उत्पादन भएको थियो ।
त्यसैगरी, २०७० मा १४ लाख २० हजार ५७० हेक्टरमा खेती गर्दा ४५ लाख चार हजार ५०३ मेट्रिक टन, २०७१ मा १४ लाख ८६ हजार ९५१ हेक्टरमा खेती गर्दा ५० लाख ४७ हजार ४७ मेट्रिक टन, ०७२ मा १४ लाख २५ हजार ३४६ हेक्टरमा खेती गर्दा ४७ लाख ८८ हजार ६१२ मेट्रिक टन, २०७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टरमा खेती गर्दा ४२ लाख ९९ हजार ७८ मेट्रिक टन र २०७४ मा १५ लाख ५२ हजार ४९६ हेक्टर जमीनमा धानखेती गर्दा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

पर्याप्त पानी नपर्दा किसान चिन्तित

समाचारदाता
दैनिक नेपालगन्ज

खेतीको समय सुरु भैसक्दा पनि पर्याप्त बर्षा नहुँदा बाँकेका किसानहरु चिन्तित भएका छन् । आकाशे पानीको भरमा रहेको बाँकेको खेती असारको दोस्रो सातासम्म पनि पर्याप्त नपरेपछि किसान उत्पादन घट्ने मै चिन्तित भएका हुन् ।
बाँकेको ३६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानी खेती हुन्छ । जसमध्ये १५ हजार हेक्टर क्षेत्रफल मात्र सिंचाइको पहुँचमा रहेको जिल्ला कृषि समन्वय कार्यालय बाँकेका प्रमुख कृष्ण बस्नेत बताउँछन् । उनी साउन पहिलो सातासम्म पर्याप्त पानी परेमा धानी उत्पादनमा खासै फरक नपार्ने बताउँछन् ।
समयमै पानी नपरेपछि किसानहरुले बोरिङ्गबाट धानको बिउ राख्ने गरेका छन् । थोरै क्षेत्रफलमा रोपाई गर्ने किसानहरुले बोरिङ्गको प्रयोगबाट नै रोपाई गर्छन् । तर, ठूलो क्षेत्रफलमा रोपाईका लागि आकाशे पानीको विकल्प छैन । ‘समयमा पानी नपर्ने हो भने खेती चौपट हुन्छ’, किसान गंगाप्रसाद काँदु भन्छन् । ‘पानी पर्ला भनेर ब्याड राखियो, तर आवश्यक मात्रामा पानी परेन’, उनी भन्छन्, ‘समय गुज्रिएमा ब्याड नै काम नलाग्ने होला भन्ने चिन्ता छ ।’
‘नगर छैन, भएका नाला सुकेका छन्’, खजुराकी सुनिता बिसी भन्छिन् । उनी पनि पानी नपरे रोपाई कसरी गर्ने हो भनेर चिन्तित रहेको बताउँछिन् । ‘पानी समयमा पर्ने हो भने अपेक्षा अनुसार धान उत्पादन हुँदैन’, उनी भन्छिन् ।
बोरिङ्ग चलाउनेले पनि महँगो र भोल्टेज कम भएकाले पानी नै नतान्ने गरेको बताउँछन् । ‘भोल्टेज हुँदैन बोरिङ्ग पनि चल्न गाह्रो छ’, सितापुरका एम बहादुर खत्रीले भने, ‘ब्याड पनि बिग्रेला भन्नेर चिन्तित छु ।’

प्रतिक्रिया

प्रतिक्रिया