कमलरी राख्नेलाई कारबाही लगायतका माग सहित पूर्व कमलरीहरुले पाँचौं मुक्ति दिवसमा उत्सव नभै शोकसभा मनाएका हुन् ।
समाचारदाता
दैनिक नेपालगन्ज
सधैं उत्सव र आन्दोलनका रुपमा मनाइदै आएको कमलरी मुक्ति दिवस यस पटक ‘शोक सभा’ गरि मनाइएको छ ।
सरकारले कमलरी मुक्त घोषणा गरेको ४ वर्षसम्म असार १३ गते मुक्ति दिवसका रुपमा मनाइदै आएपनि यस वर्ष ‘शोक सभा’ गरिएको हो । बाँकेका पूर्व कमलरीहरुले पाँचौं मुक्ति दिवसमा बुधवार खुशीयाली नभई शोक सभा गरिएको बताए ।
‘हाम्रो सुरक्षा चुनौती विरुद्ध न्यायका लागि खुशीयाली भन्दा शोक सभा गरिएको हो,’ मुक्त कमलरी विकास मञ्चले आयोजना गरेको कार्यक्रममा अगुवा पूर्व कमलरीहरु भन्छन्, ‘केही दिन अघिमात्र बलात्कारपछि हत्या गरिएकी बर्दिया बासगढीकी अस्मिता थारुको घटनामा न्याय चाहियो भन्ने आन्दोलन पनि हो ।’
गत जेष्ठ २९ गते राती बर्दिया बासगढी नगरपालिका वडा नं. ४ अस्नेहरीकी ११ बर्षीया अस्मिता थारु मृत भेटिएपछि उनको हत्या वा आत्महत्या भन्ने विवाद चल्दै आएको छ । काम गर्नेको घरमा बलात्कारपछि हत्या गरिएको भन्दै आन्दोलित भएका कमलरीहरुले आफ्नो खुसीको दिनलाई पनि शोकमा मनाएका हुन् । मुक्त कमलरी विकास मञ्चले बाँके, बर्दिया, कैलाली, कन्चनपुर र दाङमा एक साथ बुधवार शोकसभा गरिएको जनाएको छ ।
सरकारले २०७० साल असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो । असार १३ गतेका दिनलाई मुक्तकमलरीहरुले आफुहरु मुक्ति भएको दिन सम्झेर हर्ष र उल्लासका साथ मनाउँदै आएका छन् । उत्सवसँगै मुक्त कलहरी पुनःस्थापना र उनीहरुको अधिकारको वकालत गर्दै आएको मुक्त कमलरी विकास मञ्चले यस पटक सुरक्षा लगायतका सवाललाई उठाएको हो ।
‘कमलरी मुक्ति घोषणा गर्दा राज्यले गरेका १० बुँदे सहमति कार्यान्वयन नहुँदा मुक्त कमलरीहरुले अझै न्याय पाउन सकेका छैनन्,’ मुक्त कमलरी विकास मञ्चका केन्द्रीय उपाध्यक्ष दिल कुमारी चौधरीले शोक सभामा भनिन् । उनका अनुसार, १० बँुदे सहमतिलाई सरकारले कार्यन्वयन नगर्दा कन्चनपुर, कैलाली, दाङ, बाँके र बर्दिया जिल्लाका मुक्त कमलरीहरु पुनः मालिककहाँ फर्कनु परेको छ । ‘थारु समुदायका बालिकाहरु कमलरी बस्न बाध्य भैरहेका छन्,’ कमलरी प्रथा प्रचलित कानुन बमोजिम निषेधित कार्य भएकोले कारबाही गर्नुपर्ने माग राख्दै चौधरीले भनिन्, ‘कमलरीहरुको उद्दार र पुनःस्थापनाका लागि सरकार गम्भीर भएन ।’
मुक्त कमलरी विकास मञ्च बाँकेकी अध्यक्ष सिता थारुले कमलरीले घरमा काम गर्दा यातना दिने, बलात्कार गर्ने र हत्या सम्म हुने गरेको बताइन् । हालसम्म ६ जना मुक्त कमलरी बेपत्ता पारिएको मञ्चको भनाइ छ । सरकारले मुक्त घोषणा गरेपछि १२ हजार ८ सय ६९ जना कमलरीहरु मुक्त गरिएका छन् । ‘अहिले पनि सबै यी जिल्लामा पुनः कमलरी बस्नेको संख्या रोकिएको छैन,’ मञ्चका अगुवा भन्छन्, ‘सरकारले यसबारे गम्भीर हुनुपर्छ ।’