नक्कली प्रज्ञापन पत्र काण्ड, नेपालगन्ज भन्सार प्रमुख विभाग तानिए

पाउडर दूधमा नक्कली प्रज्ञापन पत्र, राजश्व चोरी मुद्दामा कारवाही, विभागमा ३ जना तानिए
समाचारदाता
दैनिक नेपालगन्ज
पटक–पटक तस्करीको विषयमा विवादित बन्दै आएको नेपालगन्ज भन्सारका कर्मचारीले राजश्व छली गर्न नक्कली प्रज्ञापन पत्र फेला परेपछि भन्सार प्रमुख सहित तीन जना कर्मचारी विभागमा तानिएका छन् । नेपालगन्ज भन्सार नाका हुँदै काठमाण्डौ गएको एक ट्रक दूध पाउडर कलंकीमा बरामद भएपछि अनुसन्धान गर्दै जाँदा नक्कली प्रज्ञापन पत्र बरामद भएको फेला परेको हो । विदेशी क्षेत्रबाट नेपालमा प्रवेश गर्दा भन्सार कर तिरेको अनुमति पत्र दिने ब्यवस्थालाई प्रज्ञापन पत्र भनिन्छ ।

 
दिइएको पत्र नै नक्कली भएको र सो वापत असूल गरिएको राजश्व सरकारी खातामा दाखिला नभएको पाइएपछि नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्य सहित ३ जना कर्मचारी भन्सार विभागमा तानिएका छन् ।
ना.६ ख.५८५० नं.को ट्रकमा गएको ड्राई दूध कति लिटर वा केजी थियो भन्ने विषयमा अझै अनुसन्धान भएको छैन । राजश्व छलीको ठूलो खेल भइरहेको बेला भन्सार विभाग र अर्थमन्त्रालयले संयुक्त रुपमा गरेको कारवाहीमा भन्सार कर्मचारीहरु संगठित रुपमा अपराध गरिरहेको फेला परेको हो ।

 
नेपालगन्ज भन्सार नाकाबाट यसअघि मात्रै ८४ हजार केजी चामल भारतीय ब्राण्डको भएपनि नेपाली प्याकेजिङमा भित्रिएको बरामद भएको छ । सो विषयमा अनुसन्धान पूरा हुन नपाउँदै भन्सार प्रमुख आचार्य तस्करीमा मिलेमतोको तथ्य भेटिएपछि उनी सहित सहायक भन्सार अधिकृत कृष्ण अधिकारी र एक जना नासुलाई विभागमा तानेर अर्थमन्त्रालयमा हाजिर गराइएको छ । जेष्ठ २४ गते नेपालगन्ज नाका हुँदै काठमाण्डौ गएको ड्राई दूधमा २० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट चोरी गरेको अभियोगमा उनीहरुलाई विभागले कारवाही सुरु गरेको हो ।

 
‘लामो समयदेखि नेपालगन्ज भन्सारमा नक्कली प्रज्ञापन पत्रको अधारमा काम भइरहेको पाइयो’, भन्सार विभाग काठमाडौबाट जाँचमा खटिएका एक सदस्यले दैनिक नेपालगन्ज संग भने, ‘भन्सार प्रमुख लगायत कर्मचारीहरुको चोरी करोडौं रहेको छ ।’ बिस्तारै अनुसन्धानको दायरा फराकिलो बनाउँदै यसमा विस्तृत कारवाही गरिने जानकारी दिँदै सदस्यले, नेपालगन्ज भन्सार बारे पछिल्लो समयमा प्रकाशित भएका विभिन्न समाचारहरुमा समेत थप अनुसन्धान अघि बढाइने भएको छ ।

 
प्रहरीले चेकजाँचको क्रममा प्रज्ञापन पत्रमा लेखिएको परिमाण र ट्रकमा भएको परिमाणमा आशंका उत्पन्न भएपछि अनुसन्धानको दायरमा लिँदा प्रज्ञापन पत्रनै नक्कली फेला परेपछि सो बारे कारवाही गर्न भन्सार विभागमा लेखी पठाएको थियो । महानगरीय प्रहरीले मालवस्तु बारे प्राप्त कागजातमा हेराफेरी भएको आशंका गरेपछि भन्सार विभाग र अर्थमन्त्रालयको संयुक्त टोली एक साता अघि नेपालगन्ज पुगेर घटना बारे अनुसन्धान गरेको हो ।

 
नेपालगन्ज भन्सार नाकाबाट भन्सार कर्मचारीको मिलोमतोमा सामाग्री भित्रिने घटना पहिलो होइन । पटक पटक प्रहरीले विना भन्सार भित्रिएको सामाग्री बरामद गरेर भन्सारमा ठूलो चलखेल भइरहेको प्रमाणित गर्दै आएको छ ।
भन्सारमा भइरहेको कारवाही बारे विभागले जानकारी नदिएपनि विभिन्न संचार माध्यमबाट आंशिक जानकारी प्राप्त भएको निमित्त भन्सार प्रमुख माधव आचार्यले बताए । ‘हामीलाई अझै अनुसन्धान बारे जानकारी दिइएको छैन’, दैनिक नेपालगन्ज संग कुरा गर्दै आचार्यले भने, ‘घटना बारे अझै अनुसन्धान भइरहेकोले विशेष जानकारी हुन सकेको छैन ।’

प्रतिक्रिया

प्रतिक्रिया