समाचारदाता
दैनिक नेपालगन्ज
पश्चिम नेपालमै पहिलो पटक बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा आज सोमबारबाट क्यान्सर रोगको उपचार सुरु हुने भएको छ । आज सोमबार औपचारिक कार्यक्रम बीच नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले क्यान्सर अस्पतालको बहिरंग सेवा उद्घाटन गरेका हुन् ।
‘एक दशकदेखिको सपना साकार भयो’, अस्पताल विकास समितिका अध्यक्ष किस्मत कुमार कक्षपतिले भने, ‘बाँके, बर्दियाका आम जनताको प्रत्यक्ष सहभागितामा यो अस्पतालको जग बसालिएको हो ।’
स्वास्थ्य मन्त्रालयबाट एक सय बेडको पूर्वाधार निर्माण स्वीकृति लिएपनि हाललाई बहिरंग विभाग निर्माण कार्य सकिएकाले सेवा शुभारम्भ गर्न लागिएको अस्पतालले जनाएको छ । जटिल प्रकारका उपचारका लागि रेडियोलोजी तथा रेडियसन भवन निर्माण कार्य पनि अन्तिममा पुगिसकेको जानकारी दिंदै अध्यक्ष कक्षपतिले भने, ‘तत्कालका लागि त्यसखालको जटिल समस्या देखिए थप उपचारका लागि भरतपुर रेफरको व्यवस्था मिलाइएको छ ।’
अस्पतालले बाँके, बर्दियामा क्यान्सर रोगबारे सचेतना फैलाउन सम्पूर्ण स्थानीय तह स्थित महिला स्वयंसेविकाहरुलाई अभिमूखिकरण गरिसकेको छ । ‘महिलाहरुका लागि निःशुल्क पाठेघरको क्यान्सर चेकजाँच शिविर सञ्चालन गरिसकिएको छ’, अध्यक्ष कक्षपतिले भने, ‘त्यसक्रममा कतिपय बिरामीहरु फेला परेर उपचारका लागि रेफर गरिएको छ ।’ क्रमशः सेवा शुभारम्भ सँगै बाँकी निर्माणाधिन कामहरु सक्दै अगाडि बढ्ने योजना बनाइएको जानकारी दिंदै अध्यक्ष कक्षपतिले त्यसका लागि सरकारले निरन्तर सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताए ।