भेरीले भित्र्यायो हड्डी उपचारका लागि अत्याधुनिक मेसिन

‘डेक्सा स्क्यान मेसिन’ उपप्रधान एवं स्थास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सोमबार उद्घाटन गरेका हुन्

समाचारदाता
दैनिक नेपालगन्ज

भेरी अञ्चल अस्पताललाई सुविधा सम्पन्न बनाउँदै जाने क्रममा हाड रोग उपचारको महत्वपूर्ण विधिलाई सघाउने उपकरण जडान भएको छ । आज सोमबार औपचारिक कार्यक्रम बीच उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उक्त उपकरण जडित क्लिनिकको शुभारम्भ गरिएको हो ।

 

‘नेपालमै काठमाडांै बाहिर डेक्सा स्क्यान मेसिन जडान गर्ने भेरी अञ्चल अस्पताल पहिलो सरकार अस्पताल हो’, भेरी अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष समेत रहेका डा. बद्री चापागाईले दैनिक नेपालगन्जसँग भने, ‘यो महत्वपूर्ण उपलब्धी हो ।’ उनका अनुसार, मेसिन जडानपछि हड्डीको घनत्व पत्ता लगाएर उपचारका लागि सहज बनाउँछ । ‘एक प्रकारले हड्डीको घनत्व पत्ता लगाउने एक्सरे मेसिन हो’, डा. चापागाईले भने, ‘खासगरी उमेर बढ्दै गएपछि पुरुष र महिनावारी बन्द भएपछि महिलाहरुको हड्डी कमजोर हुँदै जान्छ ।’ उक्त मेसिनका मात्रै ७३ लाख ३४ हजार ८ सय ३० रुपैयाँ मूल्य रहेको बताइएको छ ।

 

डा. चापागाई र वर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाको पहलमा शान्ति कोष सचिवलायद्वारा सञ्चालित रिहाब प्रोजेक्टको सहयोगमा उक्त उपकरण नेपालगन्जमा सम्भव भएको हो । मेसुको जिम्मेवारी पाएको महिना दिन नपुग्दै डा. थापाको नेतृत्वमा भेरी अञ्चल अस्पतालमा डेस्का स्क्यान उपकरण सञ्चालनमा आउँदैछ । साथै, बोन हेल्थ एण्ड ओष्टियोपोरोसिस क्लिनिक पनि सञ्चालनमा ल्याउन लागिएको भेरी अञ्चल अस्पतालले जनाएको छ ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले मेसिन उद्घाटन कार्यक्रममा बोल्दै भेरी अञ्चल अस्पतालको स्तर वृद्धिका लागि प्रतिबद्धता गरेका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष उषा शाहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तिलक गाउँलेले गरेका थिए । कार्यक्रममा अस्पतालका पूर्व अध्यक्ष डा. बद्री चापागाईले अस्पतालको अवस्था जानकारी दिंदै भविष्यका लागि विभिन्न योजना बनाउन स्वास्थ्यमन्त्री यादव समक्ष माग गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया