दैनिक नेपालगन्ज
समाचारदाता
आगामी आर्थिक वर्षका लागि खजुरा गाउँपालिकाले झण्डै ६० करोडको बजेट प्रस्ताव गरेको छ । खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले आइतवार भएको गाउँसभामा नीति तथा कार्यक्रम सँगै ५९ करोड ९४ लाख १७ हजारको बजेट प्रस्ताव गरे ।
कृषि उपज बिक्रीका लागी ब्यवस्थित कृषि हाटबजार ब्यवस्था गर्ने देखि कृषकहरुलाई अनुदान तथा प्रोत्साहन, कृषि बिमा, पशु बिमा लगायतका बिषयलाई प्राथमिकता दिएको खजुराले कार्यान्वयनलाई निकै जोड दिएको गाउँपालिका प्रमुख कक्षपतिको भनाइ छ । गाउँपालिका भित्रका सडकहरु क्रमिक रुपमा स्तरोन्नती गर्दै लैजाने र हरेक सडकका दायाँबायाँ पक्की नाली निर्माण गर्ने, साबिकका बस्तीका साना बाटाहरुमा एम्बुलेन्स र दमकल पुग्न सक्ने गरी कम्तिमा ४ मिटरको बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘खजुरा गाउँपालिकालाई शैक्षिक हबको रुपमा बिकास गर्ने गरिनेछ,’ कक्षपतिले आफ्ना योजना सुनाउँदै भने, ‘त्यससँगै खजुरा गाउँपालिकालाई पुर्ण रुपमा साक्षर बनाइने र बिद्यालयलाई शान्ति क्षेत्रका रुपमा हड्ताल निषेधित क्षेत्र बनाइनेछ ।’ खजुराको प्राथामिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरि बिषेशज्ञ सेवा सहितको १५ शैयाको अस्पताल बनाउन पहल गर्ने, जेष्ठ नागरिकहरुलाई भलाकुसारी गर्ने खुसीयाली घर (हेप्पी होम) स्थापना गर्ने नीति तथा कार्यक्रम पनि अघि सारिएको छ ।
उपप्रमुख एकमाया बिकले सञ्चालन गरेको गाउँसभाको बैठकले परिमार्जन सहित नीति तथा कार्यक्रम पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद गुरुङले जानकारी दिए । अर्काे बैठक आगामी असार १९ गते बस्नेछ । ‘बजेटका सबै विषयहरु टुंङ्गिने गरि अबको बैठक डाकिएको छ,’ गाउँपालिका प्रमुख कक्षपतिले भने ।