४० ग्राम ब्राउनसुगर सहित नेपाली सेनाका मेजर र एक तस्कर पक्राउ, अनुसन्धान सुरु
समाचारदाता
दैनिक नेपालगन्ज
बाँके ढकेरीबाट नेपाली सेनाको बाँके राष्ट्रिय निकुन्जमा सुरक्षार्थ स्थापित रहेको श्री मेयर गणमा कार्यरत मेजर धिरेन्द्र जंग शाही ४० ग्राम ब्राउन सुगर सहित प्रहरीको फन्दामा परेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नं.९ बस्ने रेम पौडेलबाट खरीद गरेको ४० ग्राम ब्राउन सुगर राखेर लग्ने क्रममा मेजर शाही फन्दामा परेको प्रहरी श्रोतको दावी छ । कोहलपुर प्रहरीको प्रयासमा पक्राउ परेका मेजरलाई घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बाँके पुर्याइएको छ ।
विरेन्द्रनगर नपा वडा नं.६ सुर्खेत घर भई श्री मेयर गणमा कार्यरत मेजर शाही लामो समय देखि लागुऔषध ब्राउनसुगरको कारोबार र सेवन गर्दै आएको प्रहरी श्रोतको दावी छ । ३३ वर्षिय मेजर शाहीले रेम पौडेलबाट ब्राउनसुगर खरीद गरी आवश्यकता अनुसार पहाडी जिल्लामा बिक्री गर्दै आएको भन्ने विशेष सूचनाको आधारमा कारवाही गर्दा मेजर रंगे हात पक्राउ परेका हुन् ।
आवश्यक अनुसन्धान र कारवाहीका लागि साँझ करिब ८ बजे जिल्ला प्रहरी पुर्याइका दुबै जना लागुऔषध सेवन गरेकै अवस्थामा पक्राउ परेको प्रहरी श्रोतको दावी छ । ‘सेवनकर्ता र काराबारी दुबै भएका कारण सुराकीको आधारमा पक्राउ गर्न सफल भइएको हो’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘मेजर यसै कारोबारमा लामो समय देखि सलग्न रहँदै आएको सूचना प्राप्त भइरहेको थियो ।’
‘रेम पौडेल बैजापुर र विनौना क्षेत्रमा ब्राउनसुगरको ठूलो कारोबार चलाउँछन्’, प्रहरी श्रोतले भन्यो, ‘बैजापुरमा रेमलाई ब्राउनसुगरको बैंकको रुपमा चिन्ने चलन छ ।’ यद्यपि सेनाको मेजर ब्राउनसुगरमा संलग्न पाइएपछि सोही अनुसार थप अनुसन्धान अघि बढाइएको अधिकारीले बताएका छन् ।
प्रहरीले शनिवार अवेर राति सम्म घटना बारे अनुसन्धान चलि रहेको प्रतिक्रिया दिएको हो । ‘अझै अनुसन्धान चलिरहेकोले पछि विस्तृत आउँछ’, नाम गोप्य राख्दै एक अनुसन्धान अधिकारीले भने । उनले, ‘घटनामा ब्राउन सहित मेजर शाही र ब्राउन सुगर बिक्रेता पौडेल फन्दामा परेको पुष्टि गरे ।’ कोहलपुर प्रहरीको एउटा टोलीले बाँके ढकेरी स्थित एवन कटेज एण्ड लजमा छापा मार्दा दुबै जनालाई पक्राउ गरिएको जनाएको छ ।