नागरिक सुरक्षामा संवेदनहीन प्रविधि, एउटा लाइनबाट साढे ५ लाख नागरिकको सुरक्षा
समाचारदाता
दैनिक नेपालगन्ज
तपाईलाई कुनै आपत परयो ? सुरक्षा जोखिम भयो ? १०० नम्बर डायल गर्नुस्, प्रहरीले भाषणमा भन्ने यो नम्बर बेलैमा नलाग्न सक्छ । नेपाल प्रहरीले आपातकालिन नागरिक सुविधाका लागि संचालनमा राखेको १०० नम्बर, पछिल्लो समयमा पटक पटक घण्टौ सम्म ब्यस्त हुने गरेको पाइएपछि नागरिक सुरक्षा प्रति देखिएको लापरवाही बारे विभिन्न प्रश्न खडा भए ।
एउटा विषयमा बुझ्न दैनिक नेपालगन्जबाट शनिवार साँझ ९ः१५ बजेदेखि ९ः४६ बजेसम्म फोन गर्दा लाइन ब्यस्त भएको पाइयो । यद्यपि यो पहिलो घटना होइन । केहि दिन अघि मात्र आधा घण्टा सम्म १०० नं. ब्यस्त भएका कारण समयमा सूचना प्रवाह हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वसन्त शर्मालाई सूचना दिँदा ब्यस्तता हटेको थियो ।
प्रहरीको यो नम्बर आम नागरिकदेखि बालबालिका, महिलासम्मलाई सहजै थाहा हुने नम्बर हो । आम बुझाई पनि १०० नम्बरलाई इमरजेन्सी परेको बेला प्रयोग गर्ने रुपमा रहेको छ । ९ः४६ बजे फोन सम्पर्क भएपछि फोन उठाउने प्रहरी अधिकारीलाई दैनिक नेपालगन्जको प्रश्न थियो, ‘१०० नम्बर किन चलाइएको छ र यसको प्रयोग के हो ?’ कन्ट्रोल रुममा बसेका प्रहरी अधिकारीले नाम खुलाएनन् । तर भने, ‘यो आम जनताको सुरक्षाका लागि इमरजेन्सी परेका बेला निःशुल्क फोन गर्न मिल्ने नम्बर हो, कसैलाई कुनै इमरजेन्सी परेका बेला फोन गर्दा तुरुन्त प्रहरी सेवा प्राप्त हुन्छ ।’
‘निःशुल्क भएका कारण फाल्तु र विना कारण फोन गर्ने चलन पनि ब्यापक छ’, अधिकारीले भने, ‘आम नागरिकले यो नं. को दुरुपयोग पनि गर्न थालेका छन् ।’ ‘एउटै लाइन भएका कारण ब्यस्तता हुन गएको होला’, उनले भने, ‘सूचना कुनै कुनै बेला लामो हुने गरेकोले ब्यस्त हुनु स्वभाविक हो ।’
एउटा लाइन, लामो ब्यस्तता र जिल्लामा रहेका ५ लाख ५० हजार नागरिकको सुरक्षा । यो आफैमा गम्भीर चुनौतीयुक्त प्रविधि हो । जरुरी छैन तपाईले चाहेकै बेलामा १०० नं.मा फोन लाग्छ । १०० नं.लाई बलात्कार, हिंसा, हत्या, अपराध, चोरी, अपहरण, फिरौती जस्ता गम्भीर समयमा आम नागरिकले प्रयोग गर्ने गर्दछ । यद्यपि यो नम्बर लामो समय सम्म ब्यस्त हुन थालेपछि आम नागरिकले आपतकालिन समयमा कसरी सुविधा लिने ? उनीहरु प्रतिको सुरक्षा चुक होइन यो ?
बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामांगलाई यस बारे बुझ्न खोज्दा फोन सम्पर्क प्रयास सफल हुन सकेन । विभिन्न सुरक्षा सम्बन्धी कार्यक्रममा प्रहरी प्रमुख तामाङले आफुले चलाउने ९८५८०५५५५५ सार्वजनिक गर्दै आएका छन् ।
सुरक्षा बारे चासोमा फोन सम्पर्क गर्दा वडा प्रहरी कार्यालय प्रमुखले संचालन गर्ने नम्बर ९८५८०९०१०७ पनि पनि उठेन । बाँकेको सुरक्षाको हालत चिन्ताजनक देखियो । फुल्टेक्रा बाइपासमा शनिवार साँझ ५ः३० बजेको समयमा केहि युवा विच रड हानाहान हुँदा स्थानीय १०० नं. प्रयोग गरे ।
दुर्भाग्य, जे हुनु थियो त्यो भएरै छाड्यो । ‘१०० नम्बरको फोन ब्यस्त थियो, वडा प्रहरीको फोन उठेन’, स्थानीय बासिन्दाले भने, ‘बेलैमा प्रहरीलाई सूचना गर्न नसक्दा केहि युवाहरु घाइते भए ।’ पीडित र पीडक दुबै पक्ष बारे स्थानीयहरु अनभिज्ञ छन्, र बाँके प्रहरी बेखबर ।