बैदेशिक रोजगारीमा ठगीका मुद्दा अब जिल्लामै हेर्न दिने तयारी

नेपालगन्ज/कृष्ण अधिकारी
सरकारले बैदेशिक रोगगारीमा देखिका विकृति र ठगीलाई नियन्त्रण गर्न बैदेशिक रोजगार ऐन संशोधनको तयारी गरेको छ । बैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरु म्यान पाबर कम्पनीबाट ठगिने गरेको गुनासो बढ्दै गएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारमा देखिका समस्या हल गर्नका लागि सुझाब कार्यदल नै गठन गरेर ऐन संशोधनको तयारी गरेको हो ।

 
म्यान पाबर कम्पनीका एजेन्टहरु गाउँगाउँमा गएर युवाहरुलाई आकर्षक रोजगारीमा बिदेश पठाइ दिने आश्वासन दिएर पैसा लिएपनि समयमा नपठाउने, पठाए पनि भनेको भन्दा फरक काममा गर्नु पर्ने, एजेन्टले भने अनुसारको तलब नपाउने जस्ता समस्याबाट युवाहरु पीडित हुने गरेका छन ।

 
गाउँ मै रहेका म्यान पावर कम्पनीका एजेन्टबाट ठगिए पनि उनीहरुका बिरुद्ध गाउँ कै प्रहरीमा नभई काठमाडांै पुगेर बैदेशिक रोजगार विभागमा उजुरी दिनु पर्ने कानुनी बाध्यताका कारण धेरै युवाहरु म्यान पावर कम्पनीका एजेन्टबाट ठगिए पनि न्याय पाउन सकेका छैनन् । ऐन संशोधन गर्दा म्यान पाबर कम्पनीबाट हुने ठगीको एक बर्षसम्म कैद सजाय हुन सक्ने मुद्दाको अनुसन्धान गर्ने अधिकार जिल्ला प्रहरी कार्यालय र मुद्दा हेर्ने अधिकार प्रमुख जिल्ला अधिकारी प्रहरीलाई दिने कानुनी ब्यबस्था गर्न लागिएको कार्यदलका सदस्य अधिवक्ता सोम लुइटेलले बताए ।

 
ठगिको मुद्दा हुने अधिकार प्रहरीलाई भएपनि बैदेशिक रोजगारीमा हुने ठगीको मुद्दा हुने अधिकार बैदेशिक रोजगार विभागलाई दिइएका कारण गाउँमागाउँकै म्यान पाबरका एजेन्टबाट ठगिएका युवाहरुले न्यायका लागि काठमाडौं स्थित बिभागमा जानु पर्ने बाध्यता थियो । बैदेशिक रोजगार बिभागले पीडितको उजुरी दर्ता, त्यसको अनुसन्धान र सुनुवाई गर्ने काम गर्दै आएपनि बिभागले गर्ने काम प्रभाबकारी नभएको गुनासो पीडितहरुको छ ।

 
बैदेशिक रोजगार विभागमा ठगिमा परेका पीडितले उजुरी दिने संख्या ठूलो भएपनि त्यस अनुसार छिनोफानो हुने गरेको छैन । सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा काम गर्दै आएको वकिलहरु संलग्न संस्था पिपुल्स फोरमका अनुसार, चालु आर्थिक बर्षमा विभागमा २ हजार १ सय ७४ उजुरी दर्ता भए मध्ये जेठ मसान्त सम्ममा ४ सय ७२ वटा मात्र फर भएका छन् ।

 
न्यायका लागि पिपुल फोरममा दिइएका निवेदनका आधारमा बैदेशिक रोजगारीमा सवैभन्दा ठूलो समस्या रकम लिएर विदेश नउडाउने देखिएको छ । पीडित युवाहरुले कानुनी सहायतका लागि पिपुल फोरम दिएका अधिकांश उजुरीहरुमा रकम तिरेर पनि विदेश जान नपाएको भन्दै कारबाहीका लागि आग्रह गरेका छन् ।

 
त्यसैगरी भने भन्दा फरक काम गर्नु परेकाले काम गर्न समस्या भएको जनाउँदै उद्दार गरि पाउँ भन्ने ब्यहोराका उजुरीहरु पर्ने गरेका छन् । ग्रामिण क्षेत्रमा अझै पनि बिदेश पठाइ दिन्छु भनेर पैसा र पासपोर्ट लिएर लामो समयसम्म अल्झाइदिएको भन्दै कारबाहीको माग गरेका छन् । देशैभरका जिल्ला प्रहरी कार्यालयहरु पनि बैदेशिक रोजगारीका क्रममा ठगि भएको जनाउँदै प्रायः हरेक दिन नै उजुरी पर्ने गरेका छन् ।

 
त्यस्ता उजुरीहरु परे पछि प्रहरीले दुबै पक्षलाई बोलाएर छलफल गराई दिने र थप कारबाहीका लागि पीडित युवाहरुलाई वैदेशिक रोजगार विभागमा जान सल्लाह दिंदै आएको छ । प्रहरीलाई नै बैदेशिक रोजगारमा हुने ठगीका मुद्दाको अनुसन्धान गरी कारबाहीका लागि मुद्दा चलाउने अधिकार भएमा बैदेशिक रोजगारमा देखिएका करिब ५० प्रतिशत समस्याहरु हल हुने कार्यदलका सदस्य अधिवक्ता लुइटेल बताए ।

प्रतिक्रिया

प्रतिक्रिया