अनुपाको मत्युको कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिंदै

समाचारदाता
दैनिक नेपालगन्ज

 
सोमबार राती एक्कासी बेहोस भई उपचारका क्रममा मृत्यु भएकी सञ्चारकर्मी अनुपा सिंह राजवंशीको निधनको कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिने भएको छ । बाँके प्रहरीका अनुसार, पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको स्पष्ट कारण खुल्न नसक्ने देखिएपछि भिसेरा परीक्षण गर्न लागिएको हो । ‘करेन्ट लागेको वा डुबेको भन्ने प्राइमरी इन्फरमेशन सही देखिएन’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामांगले दैनिक नेपालगन्जसँग भने, ‘कुनै दुर्घटना हो वा स्वभाविक मृत्यु हो भन्ने बारे एकिन गर्न पनि भिसेरा रिपोर्ट जरुरी देखियो ।’ उनका अनुसार, भिसेरा परीक्षणले अनुपाले सेवन गरेको ‘ड्रिङ्क्स’मा विषादी मिसिएको÷नमिसिएको एकिन गर्नेछ ।

 
‘उनलाई कसैले विषादी खुवाएको रहेछ भने भिसेरा रिपोर्टले बोल्छ’, प्रहरी प्रधान कार्यालय स्थित प्रयोगशालामा जाँच गरिने भिसेराको रिपोर्ट आउन १५÷२० लाग्न सक्ने जानकारी दिंदै प्रहरी उपरीक्षक तामांगले त्यसअघि मृत्युको कारण यसै भन्न नसकिने बताए । ‘कही, कतै देखिने मृत्युका कारण पाइएन’, उनले भने, ‘घटनाको हरेक एङ्गलबाट अनुसन्धान गरिरहेका छौं ।’

 
जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार दिवंगत अनुपा सिंह राजवंशीका श्रीमान्, आमा लगायत परिवार र साथी, संगतीहरुसँग विभिन्न चरणको बयान लिएको छ । बयानका क्रममा न्यून रक्तचापका कारण बेलाबेला अनुपा अस्वस्थ हुने गरेको जानकारी परिवार दिएको बताइएको छ ।

 
यसैबीच, होटल सिग्नेट इन कृष्णाको व्यवस्थापनले घटनाप्रति स्तब्ध हुँदै प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ । ‘हाम्रो होटल परिसरमा आयोजित पुल पार्टीमा हाम्रो होटल स्टाफको परिवार मृत्यु भएको घटनालाई गम्भीरतापूर्वक लिएका छौं’, होटल सञ्चालक दिपु अग्रवालले दैनिक नेपालगन्जसँग भने, ‘प्रहरी अनुसन्धानमा हाम्रो तर्फबाट पूर्ण सहयोग रहनेछ ।’ उनले घटनाको वास्तविकता प्रहरी अनुसन्धानबाट खुल्नेमा आफु विश्वस्त रहेको बताए ।
होटल व्यवस्थापनका तर्फबाट महाप्रबन्धक राहुल भट्टले बुधबार नै शोक वक्तव्य जारी गरी होटल सिग्नेट इन कृष्णा परिसर भित्र एक्स जेनेरेशन इभेन्ट म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको पुल पार्टीमा सहभागी अनुपा सिंह राजवंशीको घटनाले आफुहरुलाई दुःख सँगै आश्चर्य चकित पारेको जनाएका छन् । ‘उक्त आयोजनामा होटलको कुनै संलग्नता छैन’, महाप्रबन्धक भट्टले वक्तव्यमा भनेका छन्, ‘प्रहरी अनुसन्धान, चिकित्सक स्वास्थ्य प्रतिवेदन लगायतबाट सत्यतथ्य पत्ता लाग्नेमा हामी पूर्ण विश्वस्त छौं ।’

 
पीडित परिवारले अनुपाका पिता वैदेशिक रोजगारमा रहेकाले दाहसंस्कार समेत गरेको छैन । अनुपाकी आमा र श्रीमान लगायतको परिवार घटनापछि भावविव्हल अवस्थामा रहेको परिवार स्रोतले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया