अर्जेन्टिनी कप्तान लियोनन मेस्सीलाई आइसल्याण्ड विरुद्ध पेनाल्टी मिस गर्नेबित्तिकै सामाजिक सञ्जालमा आलोचनाका शब्द खर्चनेको संख्या अनपेक्षित रह्यो । ‘मिस पेनाल्टी’ अंकित पोशाकमा मेस्सीको तस्वीर एकहिसाबले भाइरल बन्यो ।
चाँडै उत्साही र चाँडै निराश हुने नेपाली समाजको बिशेषता जस्तै छ । सामाजिक सञ्जालको विकासले त्यसलाई थप मलजल गरेको छ । सामाजिक सञ्जालमा हुने आलोचना र समर्थनले कतिबेला कहाँ कसलाई डुबाइदिने हो, भर हुँदैन । तसर्थ यसलाई सिर्जनशील र फलदायी कामका लागि मात्र प्रयोग गर्ने बानीको विकास गराउन सके सभ्य समाज निर्माण हुनेछ ।
बार्सा मुटु मेस्सी तिलस्मी जादु देखाउन सक्ने अद्भुत कला भएका महान फुटबलर पक्कै हुन् । तर उनी व्यक्तिगत सफलतामा रमाउँदैनन्, टिम सफलतामा खास बिश्वास गर्छन् । गत विश्वकपमा गोल्डेन बुट जस्तो अतुलनीय ठुलो पुरस्कार समेत हात पार्दा पनि उनको मुहारमा खुशी देखिएन, अर्जेन्टिनीको हातमा बिश्वकप ट्रफी देख्न चाहन्थे उनी । किनकि उनले फुटबलमा जित्नुपर्ने सबै जितिसकेका छन्, विश्वकप बाहेक । यसपटक पनि उनी यही उद्देश्यका साथ रसिया पुगेका छन् । आफ्नो सार्थक प्रयास पुरा नहुँदा पश्चाताप गर्ने धेरै व्यक्तिको स्वभाव हुन्छ । मेस्सी पनि त्यही सुचिमा पर्छन् । अब हामीले बुझ्नुपर्ने चाहि के हो भने सच्चा समर्थकले मनोबल गिराउने हैन, उत्साहको उडान भरिदिने हो ।
खेलकुद र राजनीति उस्तै उस्तै लाग्छ मलाई । दुवैमा हारजितको अंकगणित हुन्छ । दुवै विधामा कला, क्षमता र प्रतिभा आवश्यक छ । यद्यपी खेलकुद थप बिशेष छ । किनकि खेलकुदले राजनीतिलाई मत्थर पार्ने गरेको छ । दुई देशबीचको शितयुद्धलाई साम्य पार्ने गरेको छ । त्यसैले त भनिन्छ । जात, धर्म र वर्गभन्दा माथि उठेको खेलकुदले देश जोड्छ, समाज जोड्छ । आपसी भाइचारा र मित्रता बढाउँछ । यतिबेला बिश्वकपले बिश्वलाई नै जोडिदिएको छ । फुटबल आफैंमा ठुलो शक्ति बनिसकेको छ । र, मेस्सी आम फुटबलप्रेमीका मियो बनेका छन् । उनी आम युवाहरुका ढुकढुकी हुन् । सबैका साझा मञ्च हुन् ।
यतिबेला नेपालकै पुरानोमध्येको शहर नेपालगन्जलाई पनि वल्र्डकपको हनहनी ज्वरोले छोएको छ । खेलाडीको शहरका रुपमा परिचित नेपालगन्ज अलग पहिचान निर्माण गर्ने अभियानमा जुटेको छ । प्रदेश राजधानीको सम्भावना तुहिएपछि नेपालगन्जले भौतिक पुर्वाधार विकास, स्वास्थ्य, शिक्षा, साहित्य, सिनेमा, खेलकुद र पर्यटनबाट आफुलाई स्थापित गर्ने जमर्को गर्दैछ । आफुलाई पुरानै लयमा फर्काउने तयारी गर्दैछ । किनकि कुनै बेला नेपालगन्ज पश्चिम नेपालकै केन्द्र थियो । जनप्रतिनिधिको अहोरात्र खटनपटनले नयाँ नेपालगन्जको आशा जगाएको पनि छ ।
यसैबीच एकातर्फ मेस्सी, रोनाल्डोकै चर्चा परिचर्चा छ, अर्कोतर्फ स्थानीय सरकारको कार्यशैलीप्रति असन्तुष्टीका स्वरहरु पनि मुखरित हुन थालेका छन्, त्यो पनि सामाजिक सञ्जालमै । केही दिनअघि मात्र नेपालगन्ज उपमहानगरपालिका प्रमुखका बारे सामाजिक सञ्जाल रंगिएको देख्दा चियापसलमा एक स्थानीयले मन दुखाए । उनको मुखबाट निस्कियो–‘विचारालाई काम गर्न नदिने भए ।’ ती व्यक्तिलाई म चिन्दिन । उनी सायद कोइ रैथाने छोटे व्यापारी हुन् । तर उनले दर्शाएको चिन्ता साँच्चिकै मननयोग्य भने छ । डा. धवल शमसेर राणा जुनसुकै राजनीतिक दलबाट चुनाव जितेर आएका हुन्, उनी यतिबेला नगरपिता हुन् । समग्र नगरको मुहार फेर्ने आम नगरवासीको सपना कार्यान्वयन गर्ने जिम्मेवारी उनले बोकेका छन्, वा उनी जस्तै जनप्रतिनिधिले । जनमत हेर्दा पक्कै उनीसँग मिसन र भिजन दुवै हुनुपर्ने हो । देश विदेश शयर गरेका उनी विकास सम्बन्धि बिषयमा विद्यावारिधी पनि हुन् । त्यसैले उनले तय गरेका सबै योजनाले सार्थकता पाउलान्, नपाउलान् । समिक्षा गर्ने बेला पक्कै आउनेछ । गत बर्ष छरेका टुक्रे बजेट र त्यसको प्रतिफल आगामी बर्ष कसरी विनियोजन गर्दैछन्, त्यो पनि हेर्न बाँकी नै छ ।
खेलकुद, सिनेमा र साहित्यको विकासमा उनका सोंच अझैं बुझ्न सकिएको छैन । विज्ञ समुह नियुक्त नगरीकनै यति ठुलो उपमहानगर चलाउने हिम्मत बटुलेका छन् । सडक र पुलपुलेसा मात्र विकास हो भन्ने धङधङीबाट माथि उठ्न अब जरुरी छ अब सबै जनप्रतिनिधिलाई । किनकी बहस जो विश्वकप पेरिफेरिमै केन्द्रित छ । प्रमुख, उपप्रमुखले बृहत छलफल र परामर्शमा कन्जुस्याईं गरेको बेलाबखत सुन्न पाइन्छ । हरेक बिषयमा सराकोरवालासँग परामर्शबिना नै अघि बढेको भन्ने आरोप पनि छ उनीमाथि । यद्यपी यतिबेला उनको आलोचना गर्ने समय हैन भन्नेहरु पनि धेरै छन् । उनले बुनेका योजनालाई साकार पार्ने दायित्व हामी सबैको हो । नेपालगन्ज सबैको साझा गन्तव्य हो ।
स्थानीय तह निर्वाचन भएको एक बर्षमा नेपालगन्जले मुहार फेर्दै गरेको संकेत मिलेको छ । अघिल्ला परियोजना कार्यान्वयनमा प्रभावकारी अनुगमन अर्को सबल पक्ष हो । वडाध्यक्षहरुको सक्रियता पनि त्यत्तिकै छ । वडा वडामा खेल गतिविधि सञ्चालन भएका छन्, विकास निर्माणका कामले गति समातेका छन् । यसको भविष्यमा हुने प्रतिफलका बारेमा पक्कै नवनिर्वाचित टिम जानकार छ भन्ने लाग्छ । फेरि पनि स्मरण गराउनुपर्ने हुन्छ, झण्डै साढे तीन लाख जनसंख्या भएको आइसल्याण्ड योजना बिना विश्वकप यात्रा तय गरेको हैन । उसले अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गरेर अघि बढेपछि नै विश्वकपको ढोका खोलेको हो । बिना तयारी र लगानी यो लोभलाग्दो सफलता पक्कै हात पारेको हैन । डेढ दशकअघि एक जना पनि लाइसेन्स होल्डर कुशल प्रशिक्षक थिएनन् । तर आज उसले ५५० जना जनसंख्या बराबर एक प्रशिक्षक नियुक्त गरेको छ । प्रशिक्षण केन्द्रहरु विद्यालयनजिक खोलेर विद्यार्थीहरुलाई आकर्षण बढाएको छ ।
तसर्थ हामीले पनि आइसल्याण्डबाट पाठ सिक्ने कि ? निर्वाचनका बेला गरिएका चिप्ला भाषण सम्झिने बेला भने पक्कै आएको छ । किनकी धेरैले धेरै वाचा गरेका थिए । यद्यपी नेपालगन्ज शहर मेगा सिटी बन्नु वा नेपालगन्ज दिल्ली हवाइमार्गले जोडिनु नेपालगन्जको भविष्य हो । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइनको वाचा पनि सञ्चारमाध्यममा आइरहेको छ । यसले पनि अलग तरंग उत्पन्न गरिदिएको छ ।
आसन्न आठौं राष्ट्रिय खेलकुद अर्को महत्वपुर्ण पाटो हो नेपालगन्जका निम्ति । त्यो सफल हुँदा समग्र नेपालगन्जले सफल अवतरण गरेको मानिनेछ । देशभरका दशौं हजार मानिसहरु जमघटको थलो नेपालगन्ज बन्नेछ । त्यसका लागि पनि शहरविकास मन्त्री वा उपमहानगर पालिका र आसपासका सम्पुर्ण पालिकाहरु होस्टेमा हैंसे भएर लाग्नसके नेपालगन्जले आफ्नो सक्षमता प्रकट गर्नसक्छ । अन्यथा कुरा मात्र गरेको ठहर्नेछ । निराशाका धर्साहरु फेरि देखिन थाल्नेछन् नगरवासीका मुहारमा । जसरी नतिजाविहीन हुँदा मेस्सी निराश थिए ।
वास्तवमा मेस्सी स्वयं अलि बढ्ता निराश देखिए आइसल्याण्ड विरुद्धको नतिजाबाट । अन्य अर्जेन्टिनी खेलाडी भन्दा बढी । उता पहिलोपटक बिश्वकप खेलेको आइसल्याण्ड विश्वकप नै जितिसकेको अनुभुति गरिरहेको थियो । दुई पटकको विश्वविजेतालाई बराबरीमा रोक्नु नै उसको सायद ठुलो सफलता र बहादुरी पनि हो । अझ मेस्सी जस्ता सुपरस्टारलाई गोल गर्न नदिनु त उनीहरुको ठुलो सफलता हो ।
फुटबलमा नतिजा अन्तिम विकल्प हो । नतिजा आफ्नो पोल्टामा पार्न नसक्दा मेस्सी निराश हुनु अस्वाभाविक हैन । तर मेस्सीले फुटबल राम्रोसँग बुझेका छन् । उनी नतिजा भन्दा पनि राम्रो फुटबलमा बिश्वास गर्छन् । राम्रो फुटबल खेल्दा नतिजा त स्वयंसिद्ध कुरा हो । दर्शकलाई समेत नतिजा भन्दा खासमा राम्रो फुटबलले बाँधेको हो । फुटबल सीप हो, कला हो, क्षमता हो, प्रदर्शन हो । अब फुटबल जीवनशैली हो, सभ्यताको मापन हो । संस्कृति हो, संस्कार हो । यो संयमता र धैर्यता पनि हो । त्यसैले त ९० मिनेटको फुटबल सबैको हो, सबैका लागि हो । फुटबल संस्कार बुझेकाहरु मेस्सीले पेनाल्टी मिस गर्दा दुख मनाउ गर्दैनन् । किनकी पेनाल्टी प्रबल सम्भावना हो, शतप्रतिशत नतिजा हुँदै हैन । सम्भावना त पुरा पनि हुन्छ, अधुरो पनि । पेनाल्टी मिस गर्ने मेस्सी मात्रै छैनन् । फुटबलमा ठुला नामहरु म्यारोडोना, रोबर्टो बाजियो, क्रिष्टियानो रोनाल्डोलगायतले पनि पेनाल्टी मिस गरेको इतिहास छ ।
आठौं राष्ट्रिय खेलकुद, नेपालगन्ज अन्तर्राष्ट्रिय विमानस्थल, मेगा सिटी निर्माण, अस्पताल, विश्वविद्यालय आदि नेपालगन्जलाई कायापलट गर्ने विकास निर्माणका काम हुन् । सर्वाधिकारप्राप्त स्थानीय सरकार छ, शहरी विकास मन्त्री स्वयं नेपालगन्जले पाएको छ । यस्तो बेला नतिजा निकाल्न सकिएन भने मेस्सीको पेनाल्टी जस्तै हुनेछ । त्यतिबेला मेस्सीका बिश्वभरका समर्थकलाई झैं नेपालगन्जवासीलाई निराश तुल्याउने सिवाय हातमा केही हुनेछैन ।
आसन र भाषणमा कसैको चासो छैन । आम जनता मेस्सीले गोल गरेको हेर्न चाहे जस्तै विकास चाहेका छन्, नतिजा खोजिरहेका छन् । किनकि परिणाम नै अन्तिम विकल्प हो । सबैको जय होस ।