सोमबार राती पत्रकार अनुपा सिंह राजवंशीको निधन भएको छ ।
रेडियो हुँदै टेलिभिजन पत्रकारितामा सक्रिय अनुपाको असामयिक निधन भएको हो । पछिल्लो समय बागेश्वरी टेलिभिजनमा समाचार वाचिका रहेकी अनुपा उद्घोषण र मोडलिङ्ग क्षेत्रमा पनि सक्रिय थिइन् ।
अनुपाको निधनसँगै बाँकेका सञ्चारकर्मीहरुले सामाजिक सञ्जालमा स्तब्धता व्यक्त गरेका छन् । उनलाई श्रद्धाञ्जली दिनेहरुले घटनालाई अकल्पनीय, असामयिक भन्दै चिरशान्तिको कामना गरेका छन् । अनुपा केही समय अघि मात्रै वैवाहिक बन्धनमा बाँधिएकी थिइन् ।
पत्रकार अनुपाको निधनप्रति नेपालगन्जन्यूजडटकम परिवार स्तब्ध छ । उनको आत्माको चिरशान्तिको कामना गर्दै शोक, सन्तप्त परिवारजनप्रति धैर्य धारणको शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं ।
सोमबार राती नेपालगन्ज नर्सिङ्ग होम पुर्याइएकी अनुपालाई डाक्टरले मृत घोषणा गरेका थिए । उनको पार्थिव शरीर सोमबार राती अस्पतालमा नै राखिएको थियो ।
अनुपाको शव पोष्टर्माटमका लागि भेरी अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी राजेन्द्र अर्यालले पोष्टमार्टम रिपोर्ट परिवारसँगको कुराकानीपछि थप विषय प्रष्ट हुने बताएका छन् ।