कालोबजारी विरुद्ध बजारमा बाँके प्रशासन

समाचारदाता
दैनिक नेपालगन्ज
बाँकेमा स्टक सामाग्री लुकाएर मुल्यबृद्धि गर्ने योजनामा रहेका ब्यवसायी कारवाहीमा पर्न थालेका छन् ।
ब्यवसायीले अतिरिक्त लाभ लिनका लागि पुरानो स्टक लुकाएर मृल्य बृद्धि पछि मात्र बिक्री गर्ने उद्देश्यबाट गरेको क्रियाकलाप विरुद्ध प्रशासन खरो रुपमा उत्रिएको छ । नेपालगन्जको धम्बोझीमा रहेको रोयल इनफिल्ड मोटरसाइकल डिलरमा कारवाही गरेको प्रशासनले आइतवार नेपालगन्ज पाँच वटा ब्यवसायिक फर्ममा कारवाही गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलको नेतृत्वमा गएको टोलीले स्टक लुकाउने, अखाद्य सामाग्री बेच्ने र मापदण्ड विपरीतका सामाग्री एकै स्थानबाट बिक्री गरेको पाइएको जनाएको छ ।
सामाग्री भएको अवस्थामा अभावको कृतिम अवस्था उत्पन्न गरी उपभोक्तालाई ठगी गर्ने ब्यवसायी विरुद्ध प्रशासनले थालेको कारवाहीमा प्रतिष्ठित ब्यवसायिक फर्महरु कारवाहीको दायरामा आउन थालेका छन् । नेपालगन्ज मेडिकल कलेज नजिक रहेको एक ट्रेडर्समा कारवाही गर्दा नापतौलमा प्रयोग भएको तराजु अवैध फेला परेपछि प्रशासनको टोलीले ढक तराजु नियन्त्रणमा लिएको जनाएको छ । मुल्य सूची नभएको, म्याद बाहिरको ब्रेड राखेको पाइएपछि कारवाही अघि बढाइएको प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले बताए ।
कतिपय अगुवा व्यापारीकै पसलमा अवैधानिक क्रियाकलाप भएको फेला परेको छ । ढक तराजु नापतौल तथा गुणस्तर कार्यालयबाट अनुमति प्राप्त नभएको, किराना पसलमा चुरोट, गुट्खा, सुर्तिजन्य पदार्थ बिक्री गरेको, मुल्य सूची नराखेको पाइएपछि कारवाही गरिएको पौडेलले बताए । पसलबाट १५ प्याकेट सुरोट, २० प्याकेट सूर्ति, र २० प्याकेट गुट्खा बरामद गरी नष्ट गरिएको पौडेलले जानकारी दिए ।
मुल्य बृद्धि भएको बहानामा उपभोक्तालाई ठगी गर्ने ब्यवसायी केन्द्रित प्रशासनले कारवाही अघि सारेको हो । वाणिज्य कार्यालय नेपालगन्ज र जिल्ला प्रशासन कार्यालय बाँके सहित प्रहरीको एउटा टोलीले कालो बजारी गर्ने विरुद्ध सक्रिय रुपमा कारवाही अघि बढाएको हो । ‘सामाग्री नहुँदा अभाव भएको भन्नु स्वभाविक हो’, अधिकृत पौडेलले दैनिक नेपालगन्ज संग भने, ‘मुल्य बृद्धि गरि बढी नाफा लिने उद्देश्य भएका ब्यवसायीहरु निगरानीमा छन् ।’
स्टक नभएको वा भएपनि सामाग्री अभाव रहेको सूचना दिएर उपभोक्ताबाट बढी रकम असूल गर्ने सूचना प्राप्त भएकोले सो तर्फ पनि अनुसन्धान सुरु गरिएको अधिकृत पौडेलले बताए । टोलीले स्वस्थानी जनरल स्टोर, अन्सारी टे«डर्स, घिमिरे किराना पसल विपी चोक लगायतमा अनुगमन गरेको प्रशासनले जनाएको छ । कतिपयले कानून विपरीतका क्रियाकलाप गरिरहेको सूचनाको आधारमा अनुगमन गर्दा कमजोरी फेला परेको प्रशासनले जानकारी दिएको छ ।
सबै ब्यवसायीलाई मुल्य सूची देखिने स्थानमा टाँस्न र सुर्तिजन्य पदार्थ तथा खाद्य सामाग्री एकै स्थानमा बिक्री नगर्न निर्देशन दिइएको पौडेलले जानकारी दिए । ब्यवसायीले राखेको स्टक, सामाग्रीको उपलब्धता र सेवाग्राहीको गुनासो लगायतलाई मध्यनजर गरि चेकजाँच र अनुगमन तीब्र पारिएको प्रशासनले जनाएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघमा आवद्ध रहेका सदस्यहरुले संचालन गरेको ब्यवसायिक फर्महरु नै चुस्त अवस्थामा अनुगमन टोलीले जनाएको छ । ‘कानून जान्नेहरुबाटै कानून विपरीतका कामहरु बढी भइरहेको पाइयो’, टोलीका एक सदस्यले भने, ‘कार्यसमितिमा सदस्य रहेकाहरुको पसलमा पनि अवैधानिक क्रियाकलाप पाइयो ।’
प्रशासनले प्रहरीको सहयोगमा सिमाक्षेत्रमा आवतजावत गर्ने सवारी साधन बारे पनि सक्रियता बढाएको छ । आइतवार प्रहरी टोलीले सवारी साधन र त्यसमा भएको पेट्रोलियम पदार्थको उपलब्धता अनुगमन गरेका छन् । सिमाक्षेत्रबाट आवत जावत गर्ने सवारी साधनमा ५ लिटर भन्दा बढि पेट्रोलियम पदार्थ भएको मोटरसाइकल, ५० लिटर भन्दा बढि पेट्रोलियम पदार्थ भएको चार पांग्रे कार जीपलाई कारवाहीमा ल्याउने निर्देशन अनुसार अनुगमन थालिएको हो । सिमा क्षेत्रबाट एकैदिनमा पटक पटक आवतजावत गर्नेहरुलाई निगरानी गरि कारवाहीको दायरामा राख्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय बाँकेले निर्देशन दिएको छ ।
भारत भन्दा करिब २४ रुपैयाँ बढी महंगो रहेको नेपाली पेट्रोल नेपालगन्जबाट भारत तर्फ तस्करी हुँदै आएको खुलेपछि प्रशासनले सो विरुद्ध कडाई थालेको हो । नेपालगन्जमा खाद्य सामाग्री समेतको स्टक गोप्य रुपमा लुकाई राखिएको ब्यवसायीको गुनासो, एक साता सम्म चुरोट अभाव रहेको नेपालगन्जमा मुल्य बृद्धि गरेर शुक्रवारदेखि सहज रुपमा सप्लाई सुरु भएको विषयमा प्रशासनले चासो बढाएको हो । आइतवार अनुगमनमा नापतौल तथा गुणस्तर कार्यालय नेपालगन्जका शम्भु कुमार झा, वाणिज्य कार्यालयका कृष्ण प्रसाद पौडेल र तीर्थ पठायत लगायत सहभागी थिए ।

प्रतिक्रिया

प्रतिक्रिया