काम नगर्नेलाई १५ दिनभित्र कारवाही : मन्त्री राई

मेगा सिटिका लागि लबिङ्ग

समाचारदाता
दैनिक नेपालगन्ज

सहरी विकास मन्त्री मो. इस्तियाक राईले काम नगर्ने ठेकेदारलाई १५ दिनभित्र कारवाहीको दायरामा ल्याउने बताएका छन् । आइतबार नेपालगन्जमा आयोजित जनप्रतिनिधि र कर्मचारी बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले गुणस्तरही काम गर्ने, काम नगर्ने ठेकेदार र गैर जिम्मेवार कर्मचारी कारवाहीको भागिदार हुने बताएका हुन् । उनले राजनीतिक आस्थाका आधारमा दोषीले कारवाहीबाट उन्मुक्ति नपाउने स्पष्ट पारे । ‘कारवाहीका लागि आवश्यक कानुन समेत निर्माण गरिनेछ’, मन्त्री राईले भने ।
‘हामी सबैले जनताका लागि काम गर्ने हो’, मन्त्री राईले कर्मचारीहरुलाई भने, ‘मिलेर जनहितमा काम गरौं ।’ ‘व्यवस्था बदलिएको छ’, कार्यालय प्रमुखहरुलाई निर्देशक दिंदै मन्त्री राईले भने, ‘जनताले सहज रुपमा भेदभावपूर्व व्यवहार नगरी सेवा दिनुस् ।’ जनतालाई सेवा दिन आनाकानी गर्ने, अनावश्यक दुःख दिने कर्मचारीहरु पनि कारवाहीको भागिदार हुनुपर्ने चेतावनी मन्त्री राईको थियो ।

 

राप्तीपारीको विद्युतीकरण प्राविधिक कारण रोकिएको उल्लेख गर्दै मन्त्री राईले समस्या समाधान तर्फ रहेकाले तत्कालै काम सुरु हुने आश्वासन दिए । ‘रुख काट्न अनुमति लिनुपर्ने भएका कारण समय लागेको हो’, मन्त्री राईले त्यसका लागि सबै प्रक्रिया पुरा भैसकेको जानकारी दिंदै भने ।

भारतीय बाँध जस्तो सडकले नेपाली भुभाग डुबेको विषयमा अध्ययन कार्यदल बनिसकेको जानकारी दिंदै मन्त्री राईले भने, ‘कार्यदलबाट सिफारिस भए वमोजिम भारतीय सडकबाट निकासको व्यवस्था गरिने छ ।’, उनले यस बर्षदेखि उक्त समस्या समाधान हुने आश्वासन समेत दिएका थिए । विगतमा राप्तीपारी आएको बाढीका कारण पीडितहरुलाई पहिलो किस्ता उपलब्ध भैसकेकाले सरकारले दोस्रो किस्ताका लागि थप रकम छिट्टै निकासा गर्न आफुले पहल गर्ने प्रतिबद्धता मन्त्री राईले जनाएका थिए ।
बाँकेलाई देशकै नमूना जिल्ला र नेपालगन्जलाई नमूना सहर बनाउन बाँकेका सबै स्थानीय तहसँग हातेमालोको आग्रह गर्दै मन्त्री राईले सात वटा प्रदेशमा मेगा सिटि बनाउने सरकारको योजनामा नेपालगन्जलाई पार्न आफुले लबिङ्ग गरिरहेको जानकारी दिएका थिए । मन्त्री राईले सरकारले भूमि खण्डिकरण रोक्न सरकारले भू उपयोग नीति ल्याउने बताएका थिए ।
कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरामा यसै साताबाट सञ्चालनमा आउने लागेको क्यान्सर अस्पतालबारे जानकारी गराउँदै आवश्यक सहयोगको लागि मन्त्री राईसँग आग्रह गरेका थिए । त्यस्तै, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले २०७१ सालका बाढी पीडितहरुले अझै सम्म सरकारले घोषणा गरे अनुसार राहत पाउन नसकेको भन्दै मन्त्री राईको ध्यानाकर्षण गराएका थिए ।
जिल्ला समन्वय समितिका अध्यक्ष अजय कुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा उपसंयोजक ज्ञानेन्द्र चौधरीले विपन्न वर्गका लागि आवास योजना ल्याउन आग्रह गरे । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले सिक्टा सिंचाई आयोजना सञ्चालनमा ढिलाई हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

 

प्रतिक्रिया

प्रतिक्रिया