मोटरसाइकल डिलरमा प्रशासनको छापा, सिमा क्षेत्रमा उच्च निगरानी, आन्तरिक अनुसन्धान सुरु
समाचारदाता
दैनिक नेपालगन्ज
सरकारले बजेट भाषणमा कर बृद्धि गरेको सन्दर्भमा ब्यवसायीले अतिरिक्त लाभ लिनका लागि पुरानो स्टक लुकाउन थालेको खुलेको छ । नेपालगन्जको धम्बोझीमा रहेको रोयल इनफिल्ड मोटरसाइकल डिलरमा जिल्ला प्रशासन कार्यालय बाँकेको एउटा टोलीले कारवाही गरि मोटरसाइकल खरीद बिक्री सहज बनाइराख्न निर्देशन दिएको हो ।
प्रशासकीय अधिकृत खगेन्द्र पौडेलको नेतृत्वमा गएको टोलीले लुकाई छिपाई राखेको सय बढी मोटरसाइकललाई सार्वजनिक रुपमा बिक्री गर्न निर्देशन दिएको हो । ‘मुल्य बृद्धि भएको विषयलाई लिएर कालोबजारी गर्ने ब्यवसायीले सामाग्री लुकाउने, स्टक नै गायब गर्ने जस्ता कार्य गरिरहेको सूचना प्राप्त भएको छ’, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले भने, ‘प्रहरी र प्रशासनको एउटा टोली परिचालन गरि स्टक नरहेको सूचना दिइरहेका ब्यवसायी बारे अध्ययन गरिएको छ ।’
‘शुक्रवार मोटरसाइकल डिलरले मोटरसाइकल नरहेको एउटा उपभोक्तालाई सूचना दिएको केही बेरमै प्रशासनको टोलीले छापा मार्दा भित्र लुकाई छिपाई राखेको अवस्थामा एकसय बढि मोटरसाइकल बरामद भएको थियो’, प्रजिअ केसीले भने, ‘ब्यवसायीलाई कालोबजारी गरे वापत कारवाहीको प्रक्रिया पनि अघि बढाइएको छ ।’
‘सामाग्री भएको अवस्थामा अभावको कृतिम अवस्था उत्पन्न गरी उपभोक्तालाई ठगी गर्ने ब्यवसायी हाम्रो खोजीमा छन्’, प्रजिअ केसी भन्छन्, ‘बढी मुल्य र नाफाको चक्करमा पर्ने ब्यवसायीलाई कानूनको कठघरामा ल्याउन हामी क्रियाशिल छौं ।’ वाणिज्य कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय र प्रहरीको एउटा टोलीले कालो बजारी गर्ने विरुद्ध आन्तरिक अनुसन्धानपछि आज आइतबारबाट धमाधम कारवाही सुरु गर्ने भएको छ ।
स्टक नभएको वा भएपनि सामाग्री अभाव रहेको सूचना दिएका ब्यवसायीको सूची उपभोक्ता मार्फत पनि संकलन भइसकेकोले अब कारवाही प्रक्रिया अघि बढाइने तयारी रहेको प्रशासनको भनाइ छ । त्यसैक्रममा नेपालगन्जबाट सवारी साधनको प्रयोग गरी भारतीय क्षेत्रमा हुँदै आएको पेट्रोलियम तस्करी विरुद्ध प्रशासन खरो रुपमा उत्रिएको छ ।
सिमाक्षेत्रबाट आवत जावत गर्ने सवारी साधन बारे निगरानी बढाइएको छ । खासगरि ५ लिटर भन्दा बढी पेट्रोलियम पदार्थ भएको मोटरसाइकल, ५० लिटर भन्दा बढी पेट्रोलियम पदार्थ भएको चार पांग्रे कार जीपलाई निगरानी थालिएको हो । सिमा क्षेत्रबाट एकैदिनमा पटकपटक आवतजावत गर्नेहरुलाई कालो सूचीमा राख्न र कारवाही गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ । सिमाक्षेत्र संगै पेट्रोल पम्पहरुलाई पनि एउटै सवारी साधनमा एकै दिन पटक–पटक पेट्रोलियम पदार्थ हालेको पाइए कारवाही गर्ने निर्देशन भएको जिल्ला अधिकारी केसीले बताए ।
करिब २४ रुपैयाँ बढी महंगो रहेको पेट्रोल नेपालगन्जबाट भारत तर्फ तस्करी हुँदै आएको खुलेपछि प्रशासनले सो विरुद्ध कडाई थालेको हो । शुक्रवार र शनिवार सिमा क्षेत्रमा निगरानी बढाइएको हो । सवारी साधनको नं., त्यसमा रहेको पेट्रोलियम पदार्थको अवस्था र आवतजावत संख्या बारे विवरण संकलनमा प्रहरी निगरानी बढाइएको हो । यसअघि पनि भारतीय क्षेत्रमा पेट्रोलियम तस्करी हुँदै आएको बाँके प्रहरीले राप्तीपारि क्षेत्रमा कारवाही गरिसकेको छ । नेपालगन्जमा खाद्य सामाग्री समेतको स्टक गोप्य रुपमा लुकाई राखिएको ब्यवसायीको गुनासो, एक सातासम्म चुरोट अभाव रहेको नेपालगन्जमा मुल्य बृद्धि गरेर शुक्रवारदेखि सहज रुपमा सप्लाई सुरु भएको छ ।
त्यसैगरि खाने तेल, चामल, कास्मेटिक, उच्चस्तरीय मदिरा लगायत अभाव रहेको ब्यवसायीले बताउँदै आएका छन् । कृतिम अभाव श्रृजना गरि मुल्य बृद्धिमा खेल भइरहेको बारे प्रशासनले सतर्कता बढाएको जनाएको छ ।
‘कतिपय खानेकुरा र अत्यावश्यक सामाग्री नै अभाव रहेको छ’, दैनिक नेपालगन्ज संग एक ब्यवसायीले भने, ‘स्टक राख्ने ब्यवसायी संग सामाग्री हुँदा पनि मुल्य बढाउने तयारी भएकोले सामाग्रीको सप्लाई रोकिएको हो ।’