नेपालगन्जबाट दिल्ली उडान : प्राविधिक अध्ययनको सहमति

विराटनगर र जनकपुर प्रवेश बिन्दुका लागि भारत सहमत
समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्जबाट भारतको दिल्ली उडानका लागि प्राविधिक मूल्यांकन गरिने भएको छ । नेपाल र भारतका हवाई अधिकारीबीच काठमाडौंमा भएको तीन दिने छलफलका क्रममा नेपालगन्जबाट भारत उडानका लागि सुरक्षा मूल्यांकनको सहमति भएको हो ।
अन्तर्राष्ट्रिय उडानका लागि नेपालगन्ज तथा महेन्द्रनगरबाट प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भारतीय पक्षले सेप्टेम्बर २०१८ भित्र विस्तृत प्राविधिक मूल्यांकन गर्ने सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबार प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
नेपालको तर्फबाट भारतीय अधिकारीहरु समक्ष बढी उचाइमा उडान भर्ने अन्तर्राष्ट्रिय विमानका लागि नेपालगन्ज तथा महेन्द्रनगरबाट प्रवेशमार्ग उपलब्ध गराउनुपर्ने नेपालको प्रस्ताव थियो । उडान सुरक्षाका विषयमा अध्ययन गरेर मात्रै मार्ग प्रयोगका बारेमा द्विपक्षीय सहमति हुने बताइएको छ ।
भारत हुँदै नेपाल प्रवेशका लागि हालसम्म बाराको सिमरा मात्र रुट छ । नेपालले नेपालगन्जसँगै महेन्द्रनगर, विराटनगर र जनकपुरबाट रुट माग गरेको हो । सरकारले हाल सञ्चालनमा रहेका विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढी विमानस्थलबाट भारतीय सहरमा उडान गर्ने लक्ष्यसमेत राखेको छ । सो लक्ष्य कार्यान्वयनका लागि थप हवाई मार्गको जरुरी छ । नेपालको निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले नेपालगन्ज–दिल्ली उडानका लागि तयारी गरेको छ । त्यसका लागि सरकारलाई रुट उपलब्ध गराउन बुद्धले पहल गर्दै आएको थियो ।

 
नेपालगन्ज–दिल्ली उडानका लागि रुट इजाजत पहल गरिदिन नेपाल सरकारको ध्यानाकर्षण गराउने, दबाब तथा समन्वयका लागि नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाको संयोजकत्व स्थानीय सांसद, दलका प्रमुखहरु, नेपालगन्ज उद्योग वाणिज्य संघ सम्मिलित समिति पनि सक्रिय छ । ‘हामी सफल भयौं’, नगर प्रमुख डा. राणाले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘दिल्ली उडान निश्चित जस्तै भयो ।’ डा. राणाले सुरक्षा जाँचका लागि मात्रै समिति बनेको बताए ।

 

भारतले उडान सुरक्षाको अध्ययनपछि नेपाललाई थप चार हवाई मार्ग उपलब्ध गराउन सहमत भएको छ । नेपाल र भारतबीच थप हवाई मार्ग उपलब्ध गराउने विषयमा भएको द्विपक्षीय छलफलमा सहमति भए पनि केही विषयमा भने अध्ययन जरुरी देखिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा द्विपक्षीय छलफलमा भारतीय अधिकारीले जनकपुर– पटनाबीचको एकतर्फी हवाई मार्गलाई दुई तर्फी बनाउन सहमत भएका छन् । तर, उडान सुरक्षा मूल्यांकन गरी सो को आधारमा मात्रै नयाँ मार्ग लागू गरिने भएको छ ।
यस्तै पश्चिम तर्फ महेन्द्रनगर हुँदै कम उचाईमा उडान गर्ने वायुयानका लागि हाल सञ्चालनमा रहेको काठमाडौँ– महेन्द्रनगर– दिल्ली हवाई रुटलाई दुई तर्फी बनाउन दुबै पक्षको सहमतिमा उडान सुरक्षा मूल्यांकन गरी लागू गरिने भएको छ ।

 
पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश विन्दुका लागि काठमाडौँदेखि विराटनगर र काठमाडौँ–जनकपुरबीचको हवाई मार्ग समेत दुई तर्फी बनाउने सहमति भए पनि त्यसमा उडान सुरक्षा मूल्यांकनको आधारमा सो मार्गमा वायुयान प्रवेश गर्नसक्ने व्यवस्था मिलाइने भएको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) र भारतको ‘एयरपोर्टस् अथोरिटी अफ इण्डिया (एएआई) प्रतिनिधिबीच भएको वार्तामा नेपाली पक्षका तर्फबाट प्राधिकरणका उपमहानिर्देशक एवं एयर नेभिगेशन प्रमुख नरेन्द्रबहादुर थापा र भारतीय पक्षको नेतृत्व एयर नेभिगेशन प्रमुख एके दत्ताले गरेका थिए । थप मार्गका विषयमा सहमति भए पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ)ले स्वीकृति दिनुपर्ने भएकाले अझै केही समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया