समाचारदाता
दैनिक नेपालगन्ज
सहरी विकास मन्त्री मो. इस्तियाक राईले नेपालगन्जमा छात्रा विश्व विद्यालय स्थापना आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
नेपालगन्ज न्यूरोडमा शुक्रबार आयोजित नेपालगन्ज नगर विकास समिति र सहरी विकास तथा भवन डिभिजन कार्यालयको परियोजना उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री राईले छात्राहरुका लागि छुट्टै विश्व विद्यालय नहुँदा उच्च शिक्षाबाट वञ्चित भैरहेको नेपालगन्जको परिवेशलाई मध्यनजर गर्दै छात्रा विश्वविद्यालयलाई प्राथमिकतामा राखेको बताएका हुन् ।
‘मुस्लिम, मधेसी समुदायमा छात्र पढ्ने विद्यालयमा छोरी पठाउन नचाहँदा नै यस क्षेत्रमा ठुलो संख्यामा छात्राहरु उच्च शिक्षाको अवसरबाट वञ्चित हुने गरेका छन्’, मन्त्री राईले भने, ‘पहाडी समुदायमा पनि छात्राहरुका लागि छुट्टै विश्व विद्यालय होस् भन्ने सोंच छ ।’ उनले सबैको माग सम्बोधन होस् र छोरीहरुको उच्च शिक्षा अध्ययन गर्ने अवसर सुरक्षित होस् भनेर छात्रा विश्वविद्यालयलाई प्राथमिकतामा राखेको बताए ।
‘सरकारको तर्फबाट छात्रा विश्वविद्यालयको मान्यता दिलाउने पहल हुन्छ’, मन्त्री राईले भने, ‘नेपालगन्ज उपमहानगरपालिकाले विश्वविद्यालयका लागि जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको छ ।’ मन्त्री राईले छात्रा विश्वविद्यालयका लागि संसदीय क्षेत्र विकास कोष मार्फत आफुले रकम छुट्याउने प्रतिबद्धता जनाए ।
बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा सांसद निर्वाचित राईले आफु यस क्षेत्रको जनप्रतिनिधि पनि भएकाले नेपालगन्जका लागि आवश्यक योजना सुझाउन आग्रह गरे । चुनावका क्रममा आफुले गरेका प्रतिबद्धता सम्झदै मन्त्री राईले भने, ‘तपाईहरुका योजना छन् भने ल्याउनुस् त्यसलाई पुरा गर्न बजेटको व्यवस्थापन गर्ने जिम्मेवारी मेरो हो ।’ उनले नेपालगन्जका कुनै पनि बाटो कच्ची नराख्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
नेपालगन्जमा भैरहेका विकास निर्माणको गुणस्तर प्रति आफुले गुनासो पाइरहेको बताउँदै मन्त्री राईले भने, ‘मेरो मन्त्रालय सँग सम्बन्धी गुनासो भए विभागमा उजुरी गर्नुस्, विभागले कारवाही नथाले सिधै मसँग सम्पर्क गर्नुहोस् ।’ उनले गुणस्तरहीन काम गर्ने ठेकेदार र कर्मचारी कारवाहीको भागिदार हुने चेतावनी समेत दिए ।
‘नेपालगन्जलाई नमूना सहर बनाउने हो’, मन्त्री राईले भने, ‘त्यसका लागि सबै क्षेत्रबाट सुझाव र सहयोग प्राप्त होस् ।’ त्यसलाई पुरा गराउने जिम्मेवारी र पहल मेरो हुनेछ । नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि बाँके, बर्दियाका सांसदहरुको संयुक्त पहलका कारण नै क्षेत्रीय स्तरमा स्तरोन्नतीका लागि बजेटमा सम्बोधन भएको मन्त्री राईले उल्लेख गरे ।
स्वास्थ्य मन्त्रालय पनि आफ्नो पार्टीसँग रहेकाले स्वास्थ्य क्षेत्रमा आवश्यक सुधारका लागि पहल गर्ने प्रतिबद्धता मन्त्री राईको थियो । उनले भेरी अञ्चल अस्पतालालाई स्तरोन्नती गरी आधुनिक बनाउने प्रतिबद्धता गरे । नगर विकास समितिले नेपालगन्जको न्यूरोड बौद्ध गुम्बा नजिक २ करोड २७ लाख ७१ हजार ८ सय ३८ रुपैयाँ लागतमा बनाउन लागेको बहुउद्देश्यीय भवन शिलान्यास गरेका मन्त्री राईले सहरी विकास तथा भवन डिभिजन कार्यालय अन्तर्गत नेपालगन्जका विभिन्न ठाउँमा बन्न लागेको सडकको पनि निर्माण उद्घाटन गरेका थिए । त्यसअघि एक छुट्टै कार्यक्रममा नेपालगन्ज नगर विकास समिति र सहरी विकास तथा भवन डिभिजन कार्यालयले मन्त्री राईलाई स्वागत सम्मान पनि गरेको थियो ।