‘पल्पी’ले गर्यो नेपालगन्जमा बिक्री शुभारम्भ

पल्प प्रोसेसिङ्ग प्लान्टमा सरकारी सहयोगको अपेक्षा

समाचारदाता
दैनिक नेपालगन्ज

पल्पी ब्राण्डका जुसहरुको नेपालगन्जमा बुधबार बिक्री शुभारम्भ गरिएको छ । यूनाइटेड वेभरेज प्रा.लि.का झण्डै एक दर्जन ब्राण्डहरुको एकसाथ नेपालगन्जमा बिक्री शुभारम्भ गरिएको हो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, यूनाइटेड वेभरेज प्रा.लि.का अध्यक्ष भेषराज दुवाडी, संस्थापक अध्यक्ष समेत रहेका कार्यकारी प्रमुख कृष्ण अधिकारी, एनआरएनका सहकोषाध्यक्ष सोम सापकोटा लगायतले बिक्री शुभारम्भ गरेका हुन् ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष वैश्यले पछिल्लो नाकाबन्दीले नेपालीलाई आफैमा आत्मनिर्भर र सबल हुनुपर्छ भन्ने पाठ सिकाएको बताए । ‘अब कुरा होइन, कामले स्वाभिमानी बनौं’, अध्यक्ष वैश्यले पल्पी जुस लन्च गर्दै भने, ‘त्यसको सुरुवात स्वदेशी उत्पादन प्रयोग गरेर गरौं ।’ संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सकेसम्म नेपाली उद्योगका उत्पादनलाई प्रयोग गरौं नसके नेपालमै खरिददारी गरौं भन्दै सीमापारीको व्यापारमा फाइदा नदेख्न उपभोक्ताहरुलाई सचेत गराए ।
कम्पनीका अध्यक्ष भेषराज दुवाडीका अनुसार, ५ बर्षदेखि रत्ननगर–१० चितवनमा उद्योग राखेर दुई वटा ब्राण्ड उत्पादन गर्दै आएको यूनाइटेड वेभरेजले यसबर्षदेखि थप १० वटा स्वादका ब्राण्ड उत्पादन गरेपछि देशभरी बिक्री शुभारम्भ गर्दै हिडेको हो । गत जेठ २० गते काठमाडौंबाट बिक्री शुभारम्भ गरेको पल्पीले पोखरा, बुटवल, सुर्खेत हुँदै बुधवार नेपालगन्जमा लन्चिङ गर्यो । ‘बिहिबार धनगढीमा लन्च गरेपछि पहाडी क्षेत्रका लागि योजना बनाइनेछ’, बोर्ड अफ डाइरेक्टर समेत रहेका एनआरएनका सहकोषाध्यक्ष सोम सापकोटाले भने, ‘विदेशीभन्दा स्तरीय उत्पादन उपभोक्तामाझ दिइरहेका छौं ।’ सापकोटाले झण्डै ५ करोड लिटर बार्षिक जुसको आयात प्रतिस्थापनका लागि उद्योगले उत्पादन बढाउँदै गएको बताए ।

 

लन्चिङ कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष समेत रहेका कार्यकारी प्रमुख कृष्ण अधिकारीले आयातित जुसको एकाधिकार तोड्ने भरपर्दो विकल्पका रुपमा पल्पी आएको बताए । ‘हामी छिट्टै बजारमा समेत प्रवेश गर्दैछौं’, कार्यकारी प्रमुख अधिकारीले भने ।

 

लन्चिङ कार्यक्रममा लायन्स क्लब इन्टरनेशल डिष्ट्रिक ३२५ बी २ का गभर्नर मधुसुदन शर्मा रिजाल, नेपालगन्ज खाद्य तथा किराना व्यवसायी संघका श्याम सुन्दर अधिकारी, सिद्धार्थ कटेजका प्रबन्धक पुरुषोत्तम आचार्य, सेन्चुरी बैंकका शाखा प्रबन्धक प्रकाश गौतम, उपभोक्ताका तर्फबाट अक्कल बहादुर बम लगायतले स्वदेशी पूँजी संरक्षणसँगै स्वदेशी उत्पादनलाई हरेक नेपालीले प्राथमिकतामा राख्न जोड दिए ।

 

‘७५ प्रतिशत पूँजी स्वदेशमै रहने गरी कम्पनीले काम गरिरहेको छ’, तराईका अधिकांस जिल्लामा बजार बिस्तार गरिसकेको यूनाइटेड वेभरेजका अध्यक्ष दुवाडीले भने , ‘दुई सय बढीलाई रोजगारी दिएका छौं ।’ उनले कच्चा पदार्थका लागि २५ प्रतिशत रकम बाहेक बाँकी सम्पूर्ण रकम स्वदेशमै परिचालित हुने बताए । ‘देशमा कुल मागको झण्डै ७० प्रतिशत जुस स्वदेशी उत्पादनले पूर्ति गर्न सफल भैसकेको छ’, अध्यक्ष दुवाडीले आयातित कच्चा पदार्थको भन्सार महसुल न्यून जोड दिंदै भने, ‘दीर्घकालीन रुपमा समाधान खोज्ने हो भने पल्पको प्रोसेसिङ्ग प्लान्ट सहुलियत दरमा ल्याउन सरकारबाट सहयोग आवश्यक छ ।’

 

मेङ्गो, पिङ्क गोभा ब्राण्डबाट २०७१ चैत्रबाट उत्पादन सुरु गरेको यूनाइटेड वेभरेज प्रा.लि.ले झण्डै ५० करोड लगानी पुर्याएर थप १० वटा स्वादका उत्पादनहरु गत जेठ २० गतेदेखि बजारमा पठाएको हो । ह्याप्पी आवर ब्राण्डका नाममा उत्पादन बजारमा पठाएको कम्पनीले जनाएको छ ।

 

नेपालगन्ज स्थित एरिया म्यानेजर जनक ढकाल र डिष्ट्रिब्यूटर रामकुमार सिंह राठौरले उपभोक्ताबाट राम्रो डिमाण्ड आएको बताए । ‘खाद्य तथा गुण नियन्त्रण कार्यालयले पछिल्लो बर्ष उत्कृष्ट खाद्य उद्योगका रुपमा सम्मान समेत गरेको छ’, उद्योग सञ्चालक भीम पाण्डेले भने ।

प्रतिक्रिया

प्रतिक्रिया