नेपालगन्ज : सडक अतिक्रमण विरुद्ध प्रहरी सक्रियता

५ वटा सवारी साधन नियन्त्रणमा, फुटपाथ कब्जा, जथाभावी पार्किंङ विरुद्ध प्रहरी कारवाही

समाचारदाता
दैनिक नेपालगन्ज

नेपालगन्ज क्षेत्रमा सडक अतिक्रमण गरि फुटपाथ कब्जा गरि ब्यापार ब्यवसाय संचालन गरिरहेका ब्यवसायी सोमवार प्रहरी कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज र नेपालगन्ज उपमहानगरपालिका निरीक्षण शाखाले नेपालगन्जको न्युरोड, धम्बोझी चोक लगायत क्षेत्रमा गरेको संयुक्त कारवाहीमा दर्जन बढि ब्यवसायीको सामाग्री कब्जामा लिइएको हो ।
२० दिन भित्र सचेतना अभियान संचालन गर्ने तयारीमा रहेको ट्राफिक प्रहरीले जानकारी दिएको दोस्रो दिन संयुक्त अभियान संचालन भएको हो । सो क्रममा धम्बोझी, सेतुबिक चोक, न्युरोड लगायत क्षेत्रमा फुटपाथ अतिक्रमण गरि ब्यवसायीले कब्जा गरेको विषयमा कारवाही अघि सरेको हो ।
सोमवार वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपालगन्ज उद्योग वाणिज्य संघको संयुक्त प्रयासमा फुटपाथ कब्जा विरुद्ध कारवाही अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र बहादुर रोकायले बताए ।
‘सहर अब्यवस्थित राख्न भूमिका निर्वाह गर्ने कुनै पनि पक्ष कारवाही भन्दा माथि रहन सक्दैन’, दैनिक नेपालगन्ज संग कुरा गर्दै प्रमुख रोकायले भने, ‘नेपालगन्जलाई ट्राफिक नियम बमोजिम राख्न हामी प्रयासरत छौं ।’
जथाभावी रुपमा पार्किंग गरेको ५ वटा मोटर साइकल र फुटपाथमा राखिएको सामाग्री नियन्त्रणमा लिएको प्रमुख रोकायले बताए । ‘नेपालगन्जलाई ब्यवस्थित गर्न नागरिक स्तरबाट पनि प्रयास हुन आवश्यक छ’, उनले भने, ‘कानून बमोजिम कारवाही संग नागरिक सहयोग आवश्यक देखियो ।’

प्रतिक्रिया

प्रतिक्रिया