समाचारदाता
दैनिक नेपालगन्ज
आगामी १८औं एशियाली खेलकुदका लागि नेपालगन्जमा भएको भारोत्तोलनको राष्ट्रिय छनोट प्रतियोगितामा खेलाडीहरुले विभिन्न कृतिमान कायम गरेका छन् ।
४८ केजीदेखि ७५ केजी समूहसम्मका चार वटै विधामा महिला तर्फ कृतिमान कायम गरिएको हो । पुरुषतर्फ पनि त्यसरी नै रेकर्ड बे्रक भएको नेपाल भारोत्तोलन संघले जनाएको छ । नेपालगन्जमा नेपाल भारोत्तोलन संघले १८औं एशियन गेमको अन्तिम छनोट खेल सोमबार सम्पन्न गरेको संघ केन्द्रीय अध्यक्ष रतन टण्डनले जानकारी दिए ।
फाइनल छनोट खेलबाट कमल बहादुर अधिकारी ६९ केजी, विकास थापा ७७ केजी, तारादेवी पुन ७५ केजी र सञ्जु चौधरी ५३ केजी विजयी भएका छन् । संगीता राई ४८ केजी र कमला श्रेष्ठ ५८ केजी वैकल्पिक खेलाडीका रुपमा छनोट भएको संघका सदस्य रोहित टण्डनले जानकारी दिए ।
छनोटका लागि विजेन्द्र विक्रम शाहको संयोजकत्वमा राम पौडेल, दिनेश भुँजेल, सकिल अहमद हलवाई र सञ्जय महर्जन सम्मिलित टिम बनेको थियो । बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु बीचबाट प्रतिस्पर्धा गराइएको हो ।