क्रियटिभ भ्वाइस
टीएस ठकुरी
‘१२ बर्षमा त खोलो पनि फर्कन्छ’ सायद असम्भव जस्तै मानिएका कामहरु सम्भव भएपछि बुढापाकाहरु यस्तो सुनाउने गर्छन् । बाँकेमा छात्रा क्रिकेट प्रतियोगिता नभएको पनि ठ्याक्कै १२ बर्ष भएछ । करिब करिब सबैले आश मारिसकेको अवस्था हो कि ?
शनिवारदेखि कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपमेयर कप अन्तर विद्यालय छात्रा क्रिकेट प्रारम्भ हुँदा किशोरीहरुमा छुट्टै उत्साह देखिएको छ । सरोकारवाला निकायका निम्ति असम्भव जस्तै मानिएको छात्रा क्रिकेटलाई कोहलपुर नगरपालिकाले जगाइदिएको छ । यो त्यही मैदान हो, जहाँबाट महिला क्रिकेटको बिजारोपण भएको थियो २०६१ सालमा ।
नेपालमै पहिलोपटक बाँकेबाट महिला क्रिकेटको सुरुवात हुँदाका साक्षी नेपालगन्जस्थित मंगल प्रसाद माविको मैदान र कोहलपुर क्रिकेट मैदान नै हुन् । महिला क्रिकेटको चर्चाले नै कोहलपुर र कोहलपुर क्रिकेट मैदानको चर्चा चुलिएको हो । साथै उक्त मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यमा नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले पनि आफ्नो बार्षिक क्यालेन्डरमा समावेश गर्दै आएको छ र नाम नै रहेको छ कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदान ।
बाँकेका किशोरीहरुलाई पहिलो पुस्ताको महिला क्रिकेटरका रुपमा इतिहासमा नाम दर्ज गर्ने सौभाग्य पनि यही मैदानले जुराएको हो । नेपालगन्जकै नेरी थापा पहिलो कप्तान बन्न सफल भइन् । नेरी निरन्तर क्रिकेटमै छिन्, पहिलो पुस्ताका अधिकांसले क्रिकेट छाडिसके । एक समय थियो, नेपालको राष्ट्रिय महिला क्रिकेट टिममा आधाको संख्यामा बाँके जिल्लाकै खेलाडी हुन्थे । नेरी थापा, ममता थापा, सीता राना, बिनु बुढा मगर, तृष्णा सिंह, मनिषा रावल, सरिता मगर र केसरी चौधरी नेपालको राष्ट्रिय टिमका अनुहार हुन् । अब यो एकादेशको कथा लाग्न थालिसकेको छ । किनकी बाँकेबाट नेरीले मात्र राष्ट्रिय टिममा प्रतिनिधित्व गर्छिन् । बिनु र सीता विभागिय टिम एपीएफका खेलाडीका रुपमा चिनिन्छन् ।
उपमेयर सञ्जु चौधरी उद्घाटन खेल सुरु हुँदासाथ मैदान छाडिन् । त्यतिनै बेला झुल्किए ममता र तृष्णा । उनीहरुसँग केही समय भलाकुसारी गर्ने मौका मिल्यो । दुवै निकै रोमाञ्चित देखिन्थे, विगत सम्झिएर ।
‘क्रिकेट पनि महिलाको खेल हो र?’ आम सोचाइ भएका बेला ममता र तृष्णाले ब्याट समातेका थिए । ‘हामी ब्याट समातेर अभ्यासका लागि मैदानतर्फ जाँदा सबैजना आश्चर्य मानेर हेरिरहेका हुन्थे ।’ नेपाली राष्ट्रिय क्रिकेट टिमकी सफल विकेट किपर ममताले सुनाइन्, ‘अझ कतिपयले त हामीलाई जिस्काउँथे पनि ।’ वास्तवमा खेलकुद नबुझेका धेरैका निम्ति उनीहरुले जादुगरी देखाइदिए । क्रिकेट पुरुषको मात्र हैन, महिलाहरु पनि अवसर पाए ब्याटिङ र बलिङ गर्न सक्छन्, चौका र छक्का हान्न सक्छन्, विकेट लिन सक्छन् भनेर यी किशोरीहरुले देखाइदिए । समानता र महिला सशक्तिकरणको बलियो उदाहरण बनेर देखाए हाम्रा यी किशोरी क्रिकेटरले ।
ब्याट समात्न थालेको चौथो बर्षमै उनीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर प्राप्त गरेका थिए । दुई बर्ष लगातार टेनिस बलले भएको प्रतियोगितालाई तेस्रो बर्ष अर्थात २०६३ सालमा लेदर बल प्रयोग गरी प्रतियोगिता गराइयो, जतिबेला बाँकेका जिल्ला शिक्षा अधिकारी चुडामणि पौडेल थिए । युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सम्हालीसकेका सहसचिव चुडामणि पौडेल नेपाली खेलकुदमै सम्झिइने नाम हुन् । उनकै सक्रियता र बिशेष चासोमा २०६३ सालमा तेस्रो संस्करण सफलतापुर्वक सम्पन्न भएको महिला क्रिकेटका अभियन्ता एलबी क्षेत्री यतिबेला पनि सम्झिन्छन् । किनकि सुरुवाती दुई संस्करण प्लान नेपालको आर्थिक सहयोगमा भएको थियो । प्लानप्रति त सबै कृतज्ञ पनि छन् । दुई संस्करण टेनिस बलमा अभ्यस्त गराइसकेपछि आयोजक क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं. ५ नेपालगन्जले अन्तर्राष्ट्रिय मञ्चमा पुराउने उद्देश्यका साथ लेदर बल प्रयोग गरेर खेलाएको थियो २०६३ सालमा । लगत्तै नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु गर्यो । जसमा नेपालगन्ज च्याम्पियन बन्यो ।
क्यानले राष्ट्रिय प्रतियोगिता सुरु गरेपछि नै एशियाली क्रिकेट परिषद(एसीसी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी)ले नेपाली महिला क्रिकेटलाई आधिकारिक मान्यता दियो र किशोरी क्रिकेटरका लागि अन्तर्राष्ट्रिय ढोका खुल्यो । पहिलो पटक नेपाली किशोरी क्रिकेटर मलेसिया जाने मौका पाए सन् २००७ मा । त्यतिबेला राष्ट्रिय टिममा बाँकेबाट नेरी, ममता, सीता, बिनु, केसरी, तृष्णा र मनिषा गरी सात जना थिए । नेरी र तृष्णा मंगल प्रसाद, बिनु र केसरी एञ्जल्स, ममता र सीता ग्रिनपीस तथा तृष्णा रामजानकीमा पढ्दै थिए । तत्कालीन समयमा जिल्लाको खेलकुदमा यी विद्यालयहरु नै अग्रपंक्तिमा थिए । मंगलप्रसाद माविले बिशेषगरी महिला क्रिकेटमा राम्रो गरिरहेको थियो । मलेसियामा भएको एसीसी वुमन्स च्याम्पियनसीपको फाइनलमा बंगलादेशसँग पराजित भइ नेपाल उपविजेता बन्न सफल भयो । पहिलो पटक विदेशबाट सफलता हासिल गरेर फर्किएका किशोरीहरुको गृहजिल्लामा भब्य स्वागत भयो ।
कोहलपुरमै स्वागत गरी किशोरी क्रिकेटरको टोलीलाई गाडीमा राखेर बाजागाजासहित नेपालगन्ज नगर परिक्रमा गराइयो । दोस्रो बर्ष २००८ मा फेरि नेपाली टोली थाइल्याण्डको चियाङमाइ जाने मौका पायो, एसीसी यु–१९ च्याम्पियनसीपको सिलसिलामा । राष्ट्रिय टोलीका यी अधिकांस खेलाडी १९ बर्षमुनिका भएकाले प्राय सबैले यु १९ राष्ट्रिय टिममा अवसर पाए । नेरीले नै कप्तानीको जिम्मेवारी पाइन् । नेपालले ऐतिहासिक विजेताको च्याम्पियन ट्रफी उचाल्न सफल भयो । त्यतिबेला मनिषा टिममा परिनन्, सरिता मगले राष्ट्रिय टोलीमा डेब्यु गरिन् । अरु सबैले राष्ट्रिय टोलीमा निरन्तरता पाए । किशोरी क्रिकेटरहरुलाई भब्य स्वागत तथा सम्मान प्रदान गरियो राजधानीमा । महिला क्रिकेटले लय समातेको संकेत थियो त्यो । फेरि २००९मा मलेसियामै भएको एसीसी च्याम्पियनसीपमा नेपाल तेस्रो स्थान हासिल गर्न सफल भयो नेरीकै कप्तानीमा । यसबीच नेपालले ग्वान्जाव एशियाड पनि खेल्यो, तर स्थान सुरक्षित गर्न सकेन ।
एकातिर राष्ट्रिय टोलीमा परिसकेका क्रिकेटरहरु त समर्पित नै थिए, उता जिल्लामा स्थानीय प्रतियोगिताहरु आयोजना हुन छाडिसकेको थियो । क्यानमा बिस्तारै राजनीति प्रवेश गरिसकेको थियो । अर्कोतर्फ खेलाडीहरु विकल्प खोज्न थालिसकेका थिए । केसरी नेपाल पुलिस क्लबमा पुगिन्, उनले आफ्नै मुल खेल एथलेटिक्सलाई नै निरन्तरता दिइन् । उनी अहिले खेल करिअरलाई नै ब्रेकअप दिएर वैदेशिक रोजगारीमा छिन् । उता नेपाल एपीएफ क्लब ज्वाइन गरेका क्रिकेटरमध्ये सीता र बिनु मात्र अहिले पनि एपीएफमै छन् । ममताले राष्ट्रिय टिममा उपकप्तानको जिम्मेवारी पनि सफलतापुर्वक निर्वाह गरिन्, अहिले क्रिकेटलाई चटक्क छाडेर स्टेज प्रोग्राम र टेलिभिजन टक शो सञ्चालनमा करिअर खोजिरहेकी छिन् ।
‘जिम्मेवारी पाएमा अझै पनि क्रिकेटमा काम गर्ने ठुलो इच्छा छ ।’ उनले शनिवार मैदानमा सुनाइन्–‘हाम्रो रगत र नसामा क्रिकेट छ ।’ ममताका कुरा सुनिरहँदा तृष्णा भने मुस्कुराइरहेकी थिइन् । किनकी तृष्णा पछिल्लो समय गुमनाम जस्तै छिन् । उनी पनि अर्कै पेशा अँगालेकी छिन् । ‘क्रिकेटमा जिम्मेवारी पाइयो भने त गर्ने नै हो नि ।’ तृष्णाले पनि भनिहालिन्–‘पहिलो पुस्ताको क्रिकेटर भन्नुबाहेक अरु त के छ र हामीसँग, कम्तीमा त्यत्तिले पनि सन्तुष्ट नै छौं ।’ राज्यले पहिलो पुस्ताको सफल क्रिकेटरहरुका लागि मात्र हैन कि महिला क्रिकेट सम्बन्धि कुनै ठोस कार्यक्रम ल्याइदिए हुने उनीहरुको साझा धारणा छ ।
महिला क्रिकेट सुरुवात गर्दाताका अगुवा थिए एलबी क्षेत्री । उनी नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान हुन् । उनकै सोंचले महिला क्रिकेटको जन्म भएको हो नेपालमा । भलै उनलाई सघाउने दर्जनौं क्रिकेटकर्मीको हात थियो, अनि नेपालगन्जको प्रभावशाली मिडियाको साथ थियो । उनकै लबिइङमा कोहलपुर नगरविकास समितिले प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि जमिन दियो, जसले कोहलपुरको चर्चा ह्वात्तै चुलियो राष्ट्रिय स्तरमा । उनै एलबी यतिबेला सुस्ताएको महिला क्रिकेटको उत्थानमा जागेका छन् ।
स्थानीय तहलाई महिला क्रिकेटको महत्व आत्मसात गराउन सफल भएका छन्, बुझाउन सफल देखिएका छन् । अनि त, नगरपालिका स्तरीय अन्तर विद्यालय उपमेयर कप छात्रा क्रिकेटले जन्म लिएको छ । यसको निरन्तरताले फेरि यहाँको महिला क्रिकेटको लिगेसीलाई जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा बाँकेवासीले गर्व गर्ने दिन आउनेमा आशा गर्ने ठाउँ देखिन्छ । समृद्ध इतिहास, संघर्षमय वर्तमान र सुखद भबिष्य बोकेको ऐतिहासिक महिला क्रिकेटको उत्थान एवं प्रवद्र्धनमा कोहलपुर नगरपालिकाको चासोलाई साधुवाद ।