यदुराज मिश्र
दैनिक नेपालगन्ज
सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमानामा आफ्नो सक्रियता बढाएको छ । ‘फोर्स मार्च’का नाममा सशस्त्र प्रहरीले बाँकेको सीमा क्षेत्रमा निगरानीसँगै सक्रियता बढाएको हो । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय बाँकेबाट सशस्त्र प्रहरी निरीक्षक बिर्ताशेर थापाको नेतृत्वमा खटेको ३२ जनाको टोली सीमाक्षेत्रमा फोर्समार्च ‘अप्रेशन’ सुरु गरेको छ । आठ दिनका लागि खटिएको टोलीले सीमास्तम्भको अवस्था, बस्तुस्तिथि, सीमामा हुने विभिन्न गतिविधि, सीमा अतिक्रमण लगायतको जानकारी लिनुका साथै भव्यतव्य परेमा सीमाक्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा पु¥याउने स्थानको खोजी गर्ने फोर्समार्चको उद्देश्य रहेको कार्यालयका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक फणिन्द्रराज पौडेलले बताए ।
नेपालमा मनसुन भित्रिएसँगै बाढीबाट हुने धनजनको क्षति न्यूनिकरणका लागि सशस्त्र प्रहरीले बाँकेको सीमा क्षेत्रमा निगरानी बढाएको छ । बर्षात्मा राप्ती नदीका कारण हरेक वर्ष आसपासको ईलाकामा ठुलो क्षति हुँदै आएकोले यसवर्ष सशस्त्र प्रहरीले सीमाक्षेत्रमा निगरानी बढाएको हो ।
‘दैविक बिपत्ति आउँदा सीमाक्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित राख्नका लागि यो टोलीले स्थानको पहिचान गर्नेछ’, उपरीक्षक पौडेलले भने, ‘फोर्समार्चले सीमामा हुने विभिन्न उछृङ्खल गतिविधि, अपराध र सीमास्तम्भको अवस्थाबारे जानकारी एकतत्रित गर्छ ।’ बाँकेको जमुनहाबाट सुरु भई जिल्लाको सुदूर मानिने सुईयाबघौडासम्म पुग्ने फोर्समार्चले सीमाक्षेत्रमा रहेका अन्य सुरक्षा निकाय, विभिन्न सरकारी तथा गैह्रसरकारी संघसंस्था र भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँग समन्वय गरेर जानकारी लिने उनले बताए । उनले विभागको निर्देशानुसार सुरु गरिएको सशस्त्र प्रहरीको फोर्समार्चले जनतामाझ सुरक्षाको अनुभूतिसमेत गराउने जिकिर गरे । सशस्त्र प्रहरी उपरीक्षक पौडेलले भने, ‘बाँकेमात्र नभई देशको सबै अन्तर्राष्ट्रिय सीमामा फोर्समार्च परिचालन गरिने छ ।’ यसअघि गरिएको रुटमार्च, लङ रुटमार्चको अभ्यास अन्तर्गत फोर्समार्च भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
‘फौजले निरन्तर गर्ने अभ्यासलाई परिस्कृत गरी फोर्समार्च अप्रेशन भनिएको छ’, उनले भने, ‘चोरी तस्करी नियन्त्रण र हातहतियारसहित ‘मुभमेन्ट’ गरेर फौजको उपस्थितले जनतामा सुरक्षाको प्रत्याभूति पनि हुन्छ ।’ हिजो शनिवार नरैनापुर पुगेको टोली आज आईतवार कटकुईंया प्रस्थान गर्ने उनले जानकारी दिए ।
चार पोष्टको भरमा सीमा सुरक्षा
समाचारदाता
दैनिक नेपालगन्ज
बाँके जिल्लासँग जोडिएको अन्तर्राष्ट्रीय सीमाको सुरक्षाका लागि अहिले जिल्लामा चारवटा मात्र बार्डर आउट पोष्ट (बीओपी) रहेका छन् । नेपालगन्ज सदरमुकामदेखि पूर्वमा रहेका चारवटा बीओपीमध्ये कटकुईंया र कालाबञ्जर स्थायी हुन् भने नरैनापुर र गंगापुर अस्थायी बेस क्याम्प हुन् ।
नेपालगन्जदेखि जिल्लाको पश्चिमी क्षेत्रसम्म सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय बाँके एक्लैले अन्तर्राष्ट्रिय सीमाको सुरक्षा सम्हालेको छ । जबकी भारतले आफ्नो क्षेत्रमा प्रत्येक एक किलोमिटरमा दशगजामै टाँसिने गरी एसएसबी क्याम्प राखेको छ ।
जसले गर्दा खुल्ला सीमानाका कारण भारतीय नागरिक सहजै नेपाली क्षेत्रमा मोटरसाइकलसहित ओहोरदोहोर गर्दछन् भने नेपालीलाई मुख्य नाकाबाहेक एसएसबीले अन्य बाटो प्रयोग गर्न दिँदैनन् ।