१० महिनामा बार्षिक लक्ष्यको ८४ प्रतिशत संकलन, १२ हजार बढी करदाता थपिए
देबेन्द्र राज पौडेल
दैनिक नेपालगन्ज
आन्तरिक राजश्व कार्यालय नेपालगन्ज लक्ष्य नजिक पुगेको छ । आ.व. ०७४÷०७५ का लागि ३ अर्ब ३२ करोड १० लाख ७७ लक्ष्य प्राप्त गरेको आन्तरिक राजश्व कार्यालय नेपालगन्जले बैशाख मसान्तसम्म लक्ष्यको ८४ प्रतिशत राजश्व संकलन गरिसकेको छ ।
‘बैशाख मसान्तसम्म २ अर्ब ७८ करोड ९१ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन भैसकेको छ’, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत जनकराज शर्माले भने, ‘उक्त बैशाखसम्मको लक्ष्यको १ सय ८ प्रतिशत हो ।’ आन्तरिक राजश्व कार्यालयले अब राजश्व लक्ष्य प्राप्तका लागि जेठ र असारमा कुल ५३ करोड १९ लाख ६ हजार रुपैयाँ असुल गर्न बाँकी रहेको छ । ‘चालु आवको अन्त्यमा लक्ष्य भन्दा बढी राजश्व असुली हुन्छ भन्नेमा विश्वस्त छौं’, कार्यालय प्रमुख शर्मा भन्छन् ।
आन्तरिक राजश्व कार्यालयमा सबैभन्दा बढी राजश्व संकलन हुने शिर्षक हो आयकर । आयकरको लक्ष्य अन्य करहरु भन्दा बढी हुने गरेको छ । ‘आ.व. ०७४÷०७५ मा आयकरका लागि बार्षिक १ अर्ब ४६ करोड ८९ लाख २४ हजार लक्ष्य निर्धारण गरिएको थियो’, आन्तरिक राजश्व कार्यालय प्रमुख शर्माले भने, ‘बैशाख मसान्तसम्मको लक्ष्यको १ सय ७ प्रतिशत संकलन गरिसकिएको छ ।’ जुन १ अर्ब १४ करोड २७ लाख ५ हजार हो ।
सरकारले निजी व्यक्तिले तिर्ने बहाल कर स्थानीय तहमा जाने घोषणा गरिसकेको छ । आ.व. २०७४÷०७५ मा ९ करोड १२ लाख ७ हजार आन्तरिक राजश्व कार्यालयले संकलन गर्ने राजश्वमा योगदान दिने लक्ष्य निर्धारण गरिएको थियो । ‘चालु आ.व.को वैशाख मसान्तसम्म लक्ष्यको १ सय ६६ प्रतिशत भन्दा बढी बहालकर संकलन गरिसकिएको छ’, आन्तरिक राजश्व कार्यालय प्रमुख शर्मा भन्छन्, ‘जुन आगामी दुई महिनामा पनि थपिनेछ ।’ सरकारले स्थानीय तहमा बहालकर बुझाउने भनिएपनि आगामी आर्थिक बर्षदेखि मात्र त्यो लागु हुनेछ । आगामी आव देखि निजी घर बहालमा दिए वापतको कर स्थानीय तहमा बुझाउनु पर्नेछ । जुन स्थानीय तहले नै निर्धारण गर्नेछ । निजी बाहेकका बहाल कर भने संघीय सरकार अन्तर्गत आन्तरिक राजश्व कार्यालयले नै संकलन गर्नेछ ।
आन्तरिक राजश्व कार्यालयले आ.व. ०७४÷०७५ का लागि ब्याजकरका लागि ६ करोड ९१ लाख १६ हजार, मुअकरका लागि ७७ करोड १७ लाख ४२ हजार, अन्तशुल्क ८४ करोड २३ लाख ७१ हजार राजश्व संकलनको लक्ष्य पाएको थियो । जसमध्ये ब्याज कर बाहेक सबैमा बैशाख सम्मको लक्ष्य भन्दा बढी राजश्व संकलन भएको छ । बैशाख मसान्तसम्म ब्याज कर ५ करोड ६७ लाख २० हजार, मुअकर ६५ करोड,३६ लाख २८ हजार रुपैयाँ, अन्त शुल्क ७९ करोड २८ लाख २८ हजार रुपैयाँ संकलन भएको आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत शर्माले जानकारी दिए ।
बैशाख महिनामा मात्रै १७ करोड, ८१ लाख १८ हजार राजश्व संकलनको लक्ष्य पाएको आन्तरिक राजश्व कार्यालय नेपालगन्जले उक्त अवधिमा २३ करोड २३ लाख ६५ लाख राजश्व संकलन गर्न सफल भएको छ । जुन लक्ष्यको १ सय ३० प्रतिशत भन्दा बढी हो । आन्तरिक राजश्व कार्यालय नेपालगन्जले जेठ महिनामा २२ करोड ९९ लाख ५३ हजार राजश्व संकलनको लक्ष्य लिएको छ । ‘लक्ष्य अनुसार राजश्व संकलन भैरहेको छ’, प्रमुख शर्माले भने ।
कर खारेजीको न्यून प्रभाव
समग्र कर लक्ष्य र संकलनलाई हेर्ने हो भने स्वास्थ्य सेवा र शिक्षा सेवा शुल्क कर खारेज गर्ने सरकारको निर्णयले राजश्व संकलनमा खासै प्रभाव पर्ने देखिएको छैन । सरकारले आगामी बर्ष आ.व. ०७५÷०७६ का लागि गरेको बजेट घोषणामा स्वास्थ्य र शिक्षा सेवा शुल्क कर खारेज गरेको छ । यद्यपि यस आ.व.का लागि भने दुवै कर अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
यसअघि सरकारले शिक्षामा १ प्रतिशत र स्वास्थ्यमा ५ प्रतिशत कर निर्धारण गरेको थियो । १० जिल्ला हेर्ने आन्तरिक राजश्व कार्यालयको उक्त शिक्षा सेवा शुल्कका लागि आ.व. ०७४÷०७५ मा संकलन गर्ने गरी २ करोड ३६ लाख ८८ हजार र स्वास्थ्य सेवा करका लागि ५ करोड ४० लाख २९ हजार रुपैयाँ लक्ष्य प्राप्त गरेको थियो ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जको राजश्व असुली हेर्ने हो भने बैशाखसम्मको लक्ष्य भन्दा कम नै राजश्व संकलन भएको देखिन्छ । कार्यालयले स्वस्थ्य सेवा कर बैशाखसम्म प्राप्त लक्ष्यको ८२ प्रतिशत बढी अर्थात् ३ करोड ८५ लाख ३ हजार र शिक्षा सेवा शुल्क कर ८४ प्रतिशत बढी अर्थात् १ करोड ७५ लाख २ हजार रुपैयाँ संकलन गरेको तथ्यांक छ ।