अपेक्षित प्रगति नभएकोमा चिन्ता
समाचारदाता
दैनिक नेपालगन्ज
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका विभिन्न योजना निरिक्षण गरेका छन् । मंगलबार सिंचाई विभागका अधिकारीहरु सहित आएका मन्त्री पुनले सिक्टा सिंचाई आयोजना र भेरी भेरी बबई ड्राइभर्सनको स्थलगत निरिक्षण गरेका हुन् ।
त्यसक्रममा सिक्टाको प्रगति विवरण बुझ्दै मन्त्री पुनले अपेक्षित नभएको प्रति चिन्ता गरे । आयोजना प्रमुख रमेश बस्नेतले हालसम्म ५४ प्रतिशत मात्रै प्रगति भएको भन्दै ब्रिफिङ गरेका थिए । स्थलगत निरिक्षणका क्रममा पप्पु कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएको डुडुवा शाखा ठेक्का मिति सकिन लाग्दा पनि दुई प्रतिशत मात्र प्रगति देखिएको थियो । निर्माण कम्पनीले भने ७ प्रतिशत काम सकिएको ब्रिफिङ मन्त्री पुन समक्ष गरेको थियो ।
त्यसक्रममा राप्तीपारीको कटान, विकास लगायतका माग र मुद्दालाई लिएर स्थानीयबासीले मन्त्री पुन समक्ष ज्ञापनपत्र पनि बुझाएका थिए । मन्त्री पुनले बाँकेको राप्तीपारी बघौडा क्षेत्रको समस्याबाट आफु परिचित रहेको बताए ।
मन्त्री पुन मंगलबार नै भेरी बबई ड्राइभर्सनको पनि स्थलगत निरिक्षणमा पुगेका छन् । राष्ट्रिय गौरवका दुवै आयोजनाको स्थलगत जायजा लिएका मन्त्री पुन रानी जमराको स्थलगत निरिक्षणका लागि त्यसतर्फ लागेका छन् । आज बुधबार रानी जमरा सिंचाई आयोजनाको निरिक्षण कार्यक्रम रहेको बताइएको छ ।