नेपालगन्ज न्यूरोडबासीको आग्रह ‘सडकसँगै नाला बनोस्’

समाचारदाता
दैनिक नेपालगन्ज

 

दुई दशकपछि नेपालगन्ज उपमहानगरपालिका न्यूरोड स्थित सडक पुनर्निर्माण भैरहँदा सँगैको नाला तर्फ ध्यान नगएको भन्दै स्थानीयबासीले सम्बद्धहरुको ध्यानाकर्षण गराएका छन् । उनीहरुले बर्षेनी डुबानको जोखिममा रहेको सेतु विक चोक र आसपास क्षेत्रमा नाला पुरिंदा भोग्नु परेको समस्या सम्झदै सडकसँगै नाला निर्माणमा ध्यानाकर्षण गराएका हुन् ।

 
‘बर्षात् आएपछि मात्र नाला तिर ध्यान दिने हाम्रो प्रवृत्तिले सधै न्यूरोड डुबानमा पर्दै आएको छ’, स्थानीयबासी समेत रहेका, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘सडक स्तरोन्नती भैरहँदा नालाबारे ध्यान दिइएको देखिएन ।’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले सेतु विकचोक, न्यूरोड, घरबारीटोल डुबानको मुख्य कारण नालाको सरसफाई अभाव भएको
बताए । ‘हेर्नुस् नाला पुरै भरिएको छ’, सेतु विक चोकदेखि पश्चिम तर्फको नाला नेपालगन्ज उपमहानगरपालिका र सहरी डिभिजन कार्यालय नेपालगन्जका प्राविधिक प्रमुखहरुलाई स्थलगत अनुगमन गराउँदै भने, ‘यही स्थितिमा सडकको जति सुधार गरेपनि अर्थ रहँदैन ।’ श्रेष्ठले डुबानबाट पुनः सडक समय अगावै जीर्ण हुनेमा चिन्ता गरे ।
प्राविधिक टोलीले न्यूरोडका दुवै तर्फ नाला सरसफाई र सुधारमा ध्यान दिने कुराको प्रतिबद्धता जनाएको श्रेष्ठले जानकारी दिए । ‘स्तरीय सडक बनिरहँदा सँगको नाला पनि स्तरोन्नती जरुरी छ’, श्रेष्ठले त्यसका लागि स्थानीयबासी सचेत रहेको बताए ।

 
स्थानीयबासी प्रेम थापाले स्थानीय व्यापारी, होटल व्यवसायीहरुले सोझै नालामा फोहोर फाल्दा नाला भरिएको बताए । ‘सोझै नालामा प्लाष्टिकजन्य फोहोरहरु फालिएका छन्’, सम्बद्ध अधिकारीहरुलाई देखाउँदै भने, ‘यो अवस्था रोक्न नसकेसम्म नेपालगन्ज डुबानको समस्यामा रहिरहन्छ ।’ सहरी डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर होमनाथ भुषालले सडक निर्माणको भाग डिभिजन कार्यालयको रहेपनि नाला सरसफाईको जिम्मेवारी उमहानगरपालिकासँग रहेको बताए । ‘तर, सडकसँगै नालाको सुधारका लागि पनि हामी ध्यान दिएका छौं’, भुषालले दैनिक नेपालगन्जसँग भने, ‘सडकसँगै नाला स्तरीय बनोस् भन्ने कुरामा ध्यान दिएका छौं ।’ भुषालले सडकको पानी नालासम्म पुर्याउने नालीहरुको सुधारमा ध्यान दिइने बताए ।

 
नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर शैलेन्द्र कुमार महर्जनले सडक स्तरोन्नतीसँगै नालाको सुधार जरुरी भएको बताए । ‘यसबारे मेयर सापले पनि सिरियसली हेर्नु भएको छ’, महर्जनले दैनिक नेपालगन्जसँग भने, ‘बर्षात् अगावै नालाको सुधार होस् भन्नेमा उपमहानगरपालिका गम्भीर छ ।’

 
नेपालगन्ज नगरक्षेत्रभित्र व्यापक सडक स्तरोन्नतीमा लागेको उपमहानगरपालिकाले यसबीच झण्डै ३२ किलोमिटर सहरी डिभिजन मार्फत र ४१ किलोमिटर आन्तरिक सडक आरआइडिपी मार्फत स्तरोन्नती गराइरहेको छ । सहरी डिभिजन कार्यालयले त्रिवेणीमोडदेखि सेतुविक चोक हुँदै बसपार्कसम्मको १ हजार ४ सय १ किलोमिटर सडक स्तरोन्नती गर्दैछ । त्यसक्रममा सेतु विक चोकदेखि धम्बोझीसम्मको सडक पनि यसपटक समावेश गरिएको सहरी डिभिजनका इन्जिनियर भुषालले जानकारी दिए ।

 
सहरी डिभिजन मार्फत रहेका विभिन्न ११ वटा आन्तरिक सडक मध्ये ४३ करोडमा १३.५ किलोमिटर ठेक्का लिएको आशिष कुमार श्रेष्ठ जेभी र ८२ करोड बढीमा १७.५ किलोमिटर सडक तथा नालाको ठेक्का स्वच्छन्द लामा डाँफे जेभीले २०७६ असार भित्र काम सक्ने गरी जिम्मा पाएका छन् । ‘न्यूरोडलाई यसै असार भित्र सक्न आग्रह गरिरहेका छौं’, भुषालले भने ।

प्रतिक्रिया

प्रतिक्रिया