कर्णाली नदीमा आज ‘द कर्णाली वण्डरफुल वन डे’ भन्दै झण्डै एक हजार जनाले सामूहिक जलयात्रा गरेका हुन् ।
समाचारदाता
दैनिक नेपालगन्ज
मुलुककै सबैभन्दा लामो र सुन्दर कर्णाली नदीमा आज शुक्रबार बृहत जलयात्रा सुरु भएको छ । ‘द कर्णाली वन्डरफुल वन डे’ भन्दै कैलालीको गोदावरी च्याम्बर अफ कमर्सले आज एकसाथ झण्डै एक हजार जनालाई जलयात्रामा सहभागी गराएको हो । ‘विश्वकै जलयात्राको इतिहासमा यो एउटा उदाहरणीय र अभूतपूर्व प्रयास हो’, गोदावरी च्याम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले दैनिक नेपालगन्जसँग भने, ‘एक सय बोटमा एक हजार जनाले एकसाथ जलयात्रा सुरु गर्नु भएको छ ।’
प्रदेश ५, कर्णाली र प्रदेश ६ को हिमाल, पहाड र तराईदेखि तिब्बत मानसरोवर श्रृंखलाको पर्वत हुँदै तराईका फाँटसम्मलाई छुने गरी जलयात्रा तय गरिएको जानकारी दिंदै अध्यक्ष मल्लले ‘व्यवसायिक र्याफ्टिङका लागि पूर्वाधार, समृद्धिका लागि पर्यटन’ भन्ने मूल नाराका साथ भव्य आयोजना राखिएको बताए ।
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले कैलाली, सुर्खेतको सीमानामा पर्ने कुइनेबाट हरियो झण्डा दिएर जलयात्राको शुभारम्भ गरेका छन् । शुभारम्भ गर्ने यात्राले झण्डै साढे ३ घण्टामा १६ किलोमिटर दुरी तय गर्नेछ ।
‘२० किलोमिटरको लक्ष्य राखिएकोमा एकाएक परिवर्तन भएको पानीको वहावका कारण दुरी घटेको छ’, रोमाञ्चक यात्राबारे जानकारी दिंदै अध्यक्ष मल्लले भने, ‘कर्णालीमात्र एउटा यस्तो नदी हो जहाँ जिरोदेखि सिक्स प्लससम्मको लेबलमा एडभेन्चर फिल गर्न सकिन्छ ।’