कर्णाली नदीमा आज ‘द कर्णाली वण्डरफुल वन डे’ भन्दै झण्डै एक हजार जनाले सामूहिक जलयात्रा गर्न लागेका हुन् ।
समाचारदाता
दैनिक नेपालगन्ज
मुलुककै सबैभन्दा लामो र सुन्दर कर्णाली नदीमा आज शुक्रबार बृहत जलयात्रा हुँदैछ । ‘द कर्णाली वन्डरफुल वन डे’ भन्दै कैलालीको गोदावरी च्याम्बर अफ कमर्सले आज एकसाथ झण्डै एक हजार जनालाई जलयात्रामा सहभागी गराउने भएको हो ।
‘विश्वकै जलयात्राको इतिहासमा यो एउटा उदाहरणीय र अभूतपूर्व प्रयास हो’, गोदावरी च्याम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले दैनिक नेपालगन्जसँग भने, ‘एक सय बोटमा एक हजार जनाले एकसाथ जलयात्राको तयारी गरिएको छ ।’ अध्यक्ष मल्लले बिहिबार साँझ तयारीको व्यस्तता बीच ७८ वटा बोटमा झण्डै ८ सय यात्रु बुक भैसकेको जानकारी दिंदै भने, ‘हामी लक्ष्यको अत्यन्तै नजिक छौं ।’
मुलुकले पर्यटनबाट आर्थिक समृद्धिका लागि लिएको लक्ष्यलाई सघाउन गोदावरी च्याम्बर अफ कमर्सले यो प्रयोग गरेको अध्यक्ष मल्लको भनाइ छ । प्रदेश ५, कर्णाली र प्रदेश ६ को हिमाल, पहाड र तराईदेखि तिब्बत मानसरोवर श्रृंखलाको पर्वत हुँदै तराईका फाँटसम्मलाई छुने गरी जलयात्रा तय गरिएको जानकारी दिंदै अध्यक्ष मल्लले ‘व्यवसायिक र्याफ्टिङका लागि पूर्वाधार, समृद्धिका लागि पर्यटन’ भन्ने मूल नाराका साथ भव्य आयोजना राखिएको बताए । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले कैलाली, सुर्खेतको सीमानामा पर्ने कुइनेबाट हरियो झण्डा दिएर शुभारम्भ गर्ने यात्राले झण्डै साढे ३ घण्टामा १६ किलोमिटर दुरी तय गर्नेछ ।
‘२० किलोमिटरको लक्ष्य राखिएकोमा एकाएक परिवर्तन भएको पानीको वहावका कारण दुरी घटेको छ’, रोमाञ्चक यात्राबारे जानकारी दिंदै अध्यक्ष मल्लले भने, ‘कर्णालीमात्र एउटा यस्तो नदी हो जहाँ जिरोदेखि सिक्स प्लससम्मको लेबलमा एडभेन्चर फिल गर्न सकिन्छ ।’ सशुल्क जलयात्रा गराउँदै गरेको गोदावरी चेम्बर अफ कमर्सले आयोजनाको सफलतालाई मध्यनजर कर्णाली जलयात्रालाई नियमित गराउने उद्देश्य बोकेको छ । ‘नेपाल, भारत र चिनका पर्यटकलाई नियमित जलयात्रामा निम्त्याउने योजना हो’, अध्यक्ष मल्लले शुक्रबारको सामूहिक जलयात्राका लागि भारतीय पर्यटकहरु राम्रो उपस्थिति रहने जानकारी दिए । ‘भारतीय पत्रकारहरुको राम्रो उपस्थिति छ’, भारतीय पर्यटक भित्र्याउन यसले ठूलो मद्दत पुग्ने विश्वास गर्दै अध्यक्ष मल्लले भने, ‘१ सय ५० बढी भारतीय पर्यटक जलयात्राका लागि निश्चित भएको छ ।’ मल्लका अनुसार, भारतीय सञ्चारमाध्यमले कर्णालीको जलयात्रालाई लिएर उत्साहपूर्ण समाचार सम्प्रेषण गरिरहेका छन् ।
‘द कर्णाली वन्डरफुल वन डे’ ले नेपालको र्याफ्टिङ व्यवसाय र जलमार्गको सम्भावनालाई विश्व स्तरमा प्रचारप्रसार सँगै प्रवद्र्धन गर्ने विश्वास लिएको गोदावरी चेम्बर अफ कमर्सले यो आयोजनापछि सरकारले व्यवसायिक र्याफ्टिङका लागि पूर्वाधार निर्माणमा ध्यान दिने विश्वास लिएको छ । ‘प्रदेश ७ को मुख्य प्रवेशद्वार कर्णाली चिसापानी त्रिवेणीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ’, त्यसका लागि सरकारले ध्यान दिनुपर्ने धारणा राख्दै अध्यक्ष मल्लले भने, ‘त्यसैको दबाब पनि हो यो ।’ कर्णाली जलमार्गलाई स्थापित गर्न सकिए रोजगारीका लागि ठूलो अवसर सिर्जना हुने विश्वास गरिएको उनको भनाइ छ ।
कर्णाली जलयात्राको रुपमा मान सरोवर पर्वत, महाभारत पर्वत, बर्दिया राष्ट्रिय निकुञ्ज, टिकापुर पार्क, गोदावरी धाम, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष लगायतका पर्यटकीय स्थलहरुलाई जोडेर प्याकेज निर्माण गर्न सकिने पर्यटन व्यवसायीहरुको विश्वास छ ।
‘यसले नेपालगन्जको पर्यटन व्यवसायलाई पनि फाइदा पुर्याउँछ’, कर्णाली सामूहिक जलयात्रा बारे नजिकबाट नियालिरहेका होटल व्यवसायी महासंघका संस्थापक महासचिव भाष्कर काफ्लेले भने । काफ्ले सहितको टोली जलयात्रामा जान लागेको छ । होटल व्यवसायी संघ बाँके नेपालगन्जका महासचिव भीम कंडेलका अनुसार, संघको एउटा टोली कर्णाली जलयात्रासँगै नेपालगन्जको पर्यटन व्यवसायलाई कसरी ‘लिङ्क अप’ गर्न सकिन्छ भनेर अध्ययनका लागि जान लागेको हो ।