ब्राउस सुगर, अन्त्यहीन चुनौती

प्रहरी कारवाही, अभिभावक सचेतना, नागरिक सहायतापछि पनि तस्वीर पुरानै

समाचारदाता
दैनिक नेपालगन्ज

बाँके भारतीय सिमाना संग जोडिएको जिल्ला भएकोले रुपईडिहाबाट सहजै ब्राउनसुगर लागुऔषध नेपालगन्ज पस्ने गरेको तथ्य नौलो होइन । बाँके प्रहरी र केन्द्रिय अनुसन्धान ब्युरोले संयुक्त रुपमा चलाएको अप्रेशन जुलियटमा लागुऔषधको बजार संगै कारोबारीहरु पनि ध्वस्त भएका थिए । प्रहरीले त्यति बेला भनेको थियो अब बाँकेमा लागुऔषधको खेल समाप्त भएको छ । तर, महिना दिन बित्न नपाउँदै पुनः सेवाकर्ता र तस्कर पक्राउ हुन थालेपछि प्रहरीले त्यस्तो ब्यक्तिको खोजी गरी रहेको छ जो सिमापारिबाट बसेर नेपालमा लागुऔषधको कारोबार गर्छ ।
केन्द्रिय अनुसन्धान ब्युरोले २०६७ चैत्र १० मा चलाएको अप्रेशन जुलियटको सम्झना प्रहरी भित्र अझै ताजा छ । अनुसन्धानकर्ताहरु भन्छन्, ‘फेरि त्यस्तै खालको अप्रेशन आवश्यक छ ।’

 
प्रहरीले अहिले पनि ब्राउन सुगर विरुद्ध अप्रेसन ‘क्लिनिङ इलिगल ड्रग्स’ ‘सिदा अप्रेशन’ लगायत संचालन गरिरहेको छ । त्यस बाहेक सचेना र प्रचार प्रसारका लागि प्रहरी भूमिका उत्तिकै प्रभावकारी भनिएको छ । तर, समस्या जहाँ थियो त्यहीं हुनुले नागरिक समाज र प्रहरी दुबै माथि प्रश्न खडा गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा हिरासतमा रहेका कुल थुनुवा ४२ जना मध्ये २२ जना लागुऔषध मुद्दामा अनुसन्धानमा रहेको बताइएको छ । यस हिसाबले अपराधको आधा बढि भाग लागुऔषधले नै ओगटेको अनुमान गर्न सकिन्छ ।

 
‘अहिले बाँकेको हकमा केहि नियन्त्रणमा छ सिमापारिबाटनै हामीलाई मुख्य चुनौती हो,’ बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङ भन्छन्, ‘लागुऔषध नियन्त्रण गर्नका लागि प्रहरी मात्रैले काम गरेर हुने अवस्था छैन, यसका लागि नागरिक सहभागिता उत्तिकै आवश्यक छ ।’ ‘भारतबाट नै हामीलाई बढी सास्ती खेप्नु पर्छ’, एसपी तामाङले भने, ‘उता २५ ग्राम ब्राउनसुगरलाई अवैधानिक मानिँँदैन, यता १ ग्राममा पनि मुद्दा चलाउने कानूनी ब्यवस्था छ ।’ ‘खुल्ला सिमाना र असमान कानूनले पनि यस्तो समस्या समाधानको सट्टा थप बृद्धि गरेको हो’, उनले भने, ‘यसबारे अन्तरदेशीय हिसाबले पनि पहल गर्न उत्तिकै जरुरी छ ।’

 
‘बाँकेमा भित्रिएको ब्राउन सुगर नेपालगन्ज हुँदै राजधानी, कपिलवस्तु, भैरहवा, पोखरा र अन्य स्थान सम्म जाने गरेको तथ्यहरु यसअघि हात लागिसकेका छन्’, तामाङले भने, ‘हामी सचेतना सहित कारवाहीमा पनि उत्तिकै खरो छौं ।’ २०६९ साल फागुन १६ गते ८५ ग्राम ब्राउन सुगरसहित काठमाण्डौको कलंकीबाट जयसपुरकी ४५ वर्षीया सोफिया भन्ने बिट्टी खानलाई प्रहरीले पक्राउ गरेको थियो । उनले भारतीय क्षेत्र नानपाराबाट काठमाण्डौ सम्म लागुऔषध कारोबार गर्दै आएको खुलाएकी थिइन् ।

 
बाँके प्रहरी सबै खालको लागुऔषध विरुद्ध काम गर्दै आएको छ । हामी गहिराईका साथ अनसन्धान गरेर अभियुक्तहरुलाई फन्दामा लिने प्रयास गरेपनि कतिपय बेला भारतीय क्षेत्रमा नै सेवन गरेर फर्कने गरेकोले सुविधा अनुसार कारवाही हुन नसकेको हो । लागुऔषध बाँकेको लागि ठूलो समस्या र चुनौतीको रुपमा स्थापित छ । हामीले नागरिक सहयोगको पटक पटक आपेक्षा गर्यौं, एसपी तामांगले भने, तर सेवनकर्ताको घर परिवारका सदस्यले नै त्यो कुरा लुकाउने गरेका छन् ।

 
‘कानून कडा गरेर वा प्रहरीले कडाई गर्दैमा मात्रै लागुऔषधको अन्त्य सम्भव छैन’, एसपी तामाङले भने, ‘यसमा समाज र आम नागरिकहरुको भूमिका सकारात्मक रुपमा अघि नबढे लागुऔषध नियन्त्रण एउटा मुद्दा मात्र बनिरहनेछ ।’
जिल्ला प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष २०७२।०७३ मा ९७ मुद्दामा १०८ जनालाई पक्राउ गर्यो । उनीहरुबाट ५८७ ग्राम ब्राउनसुगर, २० केजी चरेस, ५ केजी अफिम, २५ ग्राम गाँजा, ९३४ ट्याबलेट नाइट्रोजेपाम बरामद भयो । आर्थिक वर्ष २०७३।०७४ मा १३७ मुद्दामा १८० जनालाई पक्राउ गर्यो । उनीहरुबाट ५३७ ग्राम ब्राउनसुगर, ५३ ग्राम अफिम, ३७ केजी, कोरेक्स ४ लिटर, ९७५ ट्याबलेट नाइट्रोजेपाम बरामद भयो । आर्थिक वर्ष २०७४।०७५ मा ११७ मुद्दामा ११४ जनालाई पक्राउ गर्यो । उनीहरुबाट २८९ ग्राम ब्राउनसुगर, ८६ चरेस, ८०० ग्राम अफिम, १०० ग्राम गाँजा, १८५० मिलिलिटर कोरेक्स, ३४५४ ट्याबलेट नाइट्रोजेपाम बरामद भएको हो । प्रहरी प्रयास पछि पनि अवस्था पुरानै रहेकोले यसबारे समाजिक बहस चलाउनु पर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया