नेपालगन्जबाट छिमेकी मुलुकहरुमा उडान सम्भव हुने भएको छ । संघीय सरकारको आ.व. ०७५÷०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले नेपालगन्ज विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गरिने बताएका हुन् ।

 
अर्थमन्त्री खतिवडाले नेपालगन्जसँगै विराटनगर, जनकपुर र धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थलको रुपमा स्तरोन्नती गरिने बजेट भाषणका क्रममा बताएका हुन् । नेपालगन्ज विमानस्थल क्षेत्रीय स्तरवृद्धि सँगै छिमेकी मुलुकहरुमा उडान सुरु गरिने बजेट वक्तव्यमा उल्लेख छन् ।

 
बाँकेको सिक्टा सिचाई आयोजना, बाँकेमा समेत प्रभाव पार्ने सुर्खेतको भेरी डाइभर्सन र बर्दियाको बबई सिंचाइ आयोजनाका लागि सरकारले १० अर्ब ९९ करोड ३९ लाख विनियोजन गरेको छ । सरकारले विद्युत प्रसारण लाइनलाई व्यवस्थित गर्न बाँकेको कोहलपुरदेखि भारतको लखनउसम्मको प्रसारण लाइन निर्माणका लागि डिपिआर गर्ने भएको छ । अर्थमन्त्री खतिवडाले संघीय संसदमा बजेट प्रस्तुत गर्दै प्रसारण लाइनका लागि डिपिआर सुरु गर्ने जानकारी दिएका हुन् ।

 
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बजेट उत्साहजनक रहेको प्रतिक्रिया दिंदै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । उनले विमानस्थलको स्तरोन्नतीका लागि लामो समयदेखि नेपालगन्जमा गर्दै आएको स्मरण गर्दै बजेटले त्यसलाई सम्बोधन गरेको खुशी व्यक्त गरे । ‘विमानस्थलको स्तरोन्नतीबाट भारतमा उडान सुरु हुन सक्छ’, केन्द्रीय सदस्य श्रेष्ठले त्यसले यहाँको व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने बताउँदै भने ।

 
सिक्टा सिंचाई आयोजनाले कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने केन्द्रीय सदस्य श्रेष्ठको भनाइ थियो । उनले निजी क्षेत्रका लागि समेत बजेट सकारात्मक रहेको बताए । ‘प्रारम्भिक अध्ययनमा बजेट विकासमूखि देखिएको छ’, केन्द्रीय सदस्य श्रेष्ठले भने, ‘यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ ।’ त्यसका लागि निजी क्षेत्र र आम जनसमुदायले सरकारलाई सहयोग गर्नुपर्ने धारणा केन्द्रीय सदस्य श्रेष्ठको थियो । सरकारले प्रदेशमा औद्योगिक ग्राम र क्षेत्र स्थापना गर्ने, कृषि, पर्यटन क्षेत्र, युवा रोजगारका लागि बजेटमा समेटेको विषय सकारात्मक रहेको सदस्य श्रेष्ठले बताए ।

 
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले निजी क्षेत्रका केही विषयहरुको समेटिनु सकारात्मक भएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया