समाचारदाता
दैनिक नेपालगन्ज
अन्ततः नेपालगन्जदेखि निकै लामो पखाई पछि नेपालगन्जबाट भारतको राजधानी दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना बढेको छ । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने माग र मुद्दाले तिव्रता पाइरहँदा बुद्ध एयरले नेपालगन्जदेखि नयाँ दिल्लीका लागि नियमित उडान सञ्चालन गर्ने घोषणा गरेको हो ।
उडानको औपचारिक प्रक्रिया सुरु गरिसकिएको जानकारी दिन राजधानी काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले ६ महिनाभित्र नेपालगन्जदेखि दिल्ली सिधा उडान भर्ने घोषणा गरे । त्यसका लागि नागरिक उड्डयन प्राधिकरणमा औपचारिक प्रक्रियामा जान लागिएको जानकारी दिंदै बस्नेतले बिहिबार नै भारतीय पक्षले सकारात्मक स्वीकृति जनाएपछि नागरिक उड्डयन प्राधिकरणको इजाजत लगत्तै दिल्ली उडानले सार्थकता पाउने बताए ।
बुद्धले बैशाख १ गतेदेखि नै नेपालगन्जबाट दिल्लीका लागि उडान भर्ने योजनाका साथ लामो समयदेखि पहल र प्रयास गर्दै आएको थियो । तर, अन्तर्राष्ट्रिय उडानका लागि रुट नपाएपछि नेपालगन्ज विमानस्थलबाट दिल्ली उडान भर्ने योजनामा ढिलाई हुँदै आएको छ । खासगरी मानसरोवर तिर्थ यात्राका लागि पछिल्ला बर्षहरुमा नेपालगन्ज ट्रान्जिट प्वाइन्टका रुपमा विकास भएपछि भारतीय यात्रुहरुलाई मध्यनजर बुद्धले नेपालगन्ज–दिल्लीको उडानलाई प्राथमिकतामा राखेर पहल गर्दै आएको हो ।
बुद्ध एयरले भारतको ऐतिहासिक तथा धार्मिक नगरी बाराणसीमा साताको दुई उडान गर्ने भएको छ । आउँदो असार १५ गतदेखि साताको दुई उडान गर्ने कम्पनीले जानकारी दिएको हो । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले दुई पौराणिक नगरी काठमाडौँ र बाराणसीलाई हवाई उडानबाट जोडेको बताए । बुद्धले वाराणसीमा यसअघि मासिक दुई उडान भर्ने गरेको थियो । बुद्ध एयरले उडानसँगै नेपाली तथा भारतीय यात्रु र तीर्थालुलाई भारी छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज पनि उपलब्ध गराउने जनाएको छ ।