झाडापखालाले तीन सय बिरामी

दाङ/समाचारदाता
दैनिक नेपालगन्ज

दाङको शान्तिनगर गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ का आधा दर्जन गाउँमा फैलिएको झाडापखालाबाट ३ सय बढी व्यक्तिहरु प्रभावित भएका छन् । माइलीपानी खानेपानी तथा सरसफाई संस्थाले वितरण गर्दै आएको खानेपानीमा खोलाको पानी मिसिएका कारण दुषित पानीले गाउँहरुमा झाडापखाला फैलिएको हो ।

 
शान्तिनगर गाउँपालिका वडा नम्बर ३ र ४ का पातेटाकुरा, गाहटोल, अधेरी, गनारी, राताहाल, बिच गनारी लगायतका गाउँमा दुषित खानेपानीका कारण झाडापखाला फैलिएको स्थानीय रमेश केसीले बताए । ‘गाउँमा झाडा पखलाको प्रकोप फैलिएको छ । विरामीहरु हुने क्रम बढेको छ,’ उनले भने, ‘गाउँको स्वास्थ्य चौकीमा विरामी राख्ने ठाउँ छैन ।’

 
शुक्रबार देखि झाडापखालाको लक्षण देखिएकोमा शनिवार करिब सबै गाउँलेहरु बिरामी परेको स्थानीयको भनाई छ । २ सय ८४ जनाको शान्तिनगरको चिराघाट स्वास्थ्य चौकीमा उपचार जारी छ भने २४ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

 
यसैबीच प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ सहित स्वास्थ्यकर्मीहरुको टोली चिराघाटमा पुगेर अनुगमन गरेको छ । ‘बिरामी अस्पतालमा आउने क्रम रोकिएको छैन । हामीले एम्वुलेन्स सेवा निःशुल्क बनाएका छौं । अस्पतालमा विरामी थपिइरहेको खबर पाएको छु’, श्रेष्ठले भने, ‘स्वास्थ्यकर्मीहरुको संख्या बढाउने विषयमा छलफल गरिरहेको छु ।’ झाडापखालाका विरामीहरुको उपचारमा औषधी अभाव भएको गुनासो आएपनि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले औषधी अभाव नभएको दाबी गरे ।

प्रतिक्रिया

प्रतिक्रिया