अत्याधिक गर्मी हुने सहरमा सडक बिस्तारका बहानामा रुख फडानी जारी, रोप्नेतिर अझै ध्यान पुगेको छैन
कृष्ण अधिकारी
दैनिक नेपालगन्ज
नेपालगन्ज अर्थात नेपाल मै सबै भन्दा बढी गर्मी हुने सहर । नेपालगन्जमा फागुनदेखि सुरु भएको गर्मी भदौको अन्तिम साता सम्म कायमै हुन्छ । हिजोआज नेपालगन्जको तापक्रम ४० डिग्री नाघेको छ । हावामा पानीको मात्रा कम भएका कारण अत्याधिक गर्मीले नगरबासी आक्रान्त छन् ।
प्रचण्ड गर्मी हुने सहर नेपालगन्जको बिद्युतको सेवा हिजो आज नेपाल मै सबै भन्दा खराब अवस्थामा छ । प्राधिकरणले नेपाल लोडसेडिङ मुक्त घोषणा गरे पनि नेपालगन्जमा भने घन्टौ अघोषित लोडसेडिङको मार छ ।
नेपालगन्जको सुर्खेत रोड फोरलेनको सडक भनिए पनि २ लेन सडक धुलोले ढाकिएका छन् । सडक पेटीहरुमा ब्यापारीहरुले पुरै कब्जा जमाएका छन् ।
त्यति मात्रै कहा हो र ? हाम्रा अग्रजहरुले सडकका किनारामा रोपेका हुर्काएका र जोगाएका सयौं रुखहरु सडक बिस्तारका बहानामा अन्धाधुन्द धमाधम काटिंदै गएपछि नेपालगन्जको शहरी क्षेत्रमा रुखको छायाँ पाउनै मुस्किल हुन थालेको छ ।
सडकहरु फराकिला बनेका छन् । तर सहर उजाड र मरुभुमि छेउ बसेका कंक्रिट जंगल जस्तै बनेको छ । छिन्छिन्मा विद्युत जान, बत्ति भए पनि लो भोल्टेजका कारण पंखा समेत नघुम्ने अवस्थामा कारण पसिनाले निथरुक्क भिजे पनि घरबाट बाहिर निस्केर शितल र छायाँमा सुस्ताउन सक्ने अवस्था नै छैन । १ लाख ३९ हजार जनसंख्या भएको करिब ८५.९४ किलोमिटर क्षेत्रमा फैलिएको नेपालगन्ज उप महानगरपालिका क्षेत्रमा एउटा पनि व्यवस्थित ग्रीन पार्क छैन ।
उप महानगरपालिकासंगै तत्काल नयाँ ग्रीन पार्क बनाउने कुनै योजना सम्म छैन । एक दशक भन्दा पहिले देखि निर्माण सुरु भएको धम्बोझी वाटरपार्कले पनि अझै गति लिन सकेको छैन । रानी तलाउ र चिल्डेन पार्कको अबस्था पनि निक्कै नाजुक छ ।
पछिल्ला दिनमा नेपालगन्जका सडकहरु तिब्र गतिमा विकास र बिस्तार भइरहेका छन् । सडकको तिब्र बिकाससंगै नेपालगन्जको हरियाली र पोखरीहरु पनि मासिंदै गएको छ । किनाराका रुखहरु काटेर सडक बिस्तार गरिए पनि नयाँ रुख रोप्ने तर्फ उप महानगरपालिका लगायत सरोकारबालाहरुको ध्यान नजाँदा नेपालगन्ज तिब्र गतिमा उजाड र कंक्रिट नै कंक्रिटको सहरमा परिणत भएको छ । प्रचण्ड गर्मीमा छायाँ दिंने रुखहरु नहुँदा एक किलोमिटटर हिड्न पनि हम्मे हम्मे पर्ने अवस्था सृजना भएको छ ।
सडक बिस्तार गर्दा सडक किनारामा भएका रुखहरु पनि काटिएकाले नेपालगन्जबासीले घरबाट निस्केपछि सडकमा आधा घन्टा हिड्न सक्ने अबस्था नै छैन । बिकास भनेको कालोपत्रे सडक र नाला मात्रै हो भन्ने बुझाइ भएका हाम्रा जन प्रतिनिधि, कर्मचारी तन्त्र र राजनीतिक दल भएका कारण शहरको हरियाली दिनानु दिन मासिंदै गएको हो ।
यसै बर्ष देखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा करिब ३ अर्ब ३३ करोडको लागतमा करिब ९० किलोमिटर बाटो तथा नालाहरु निर्माण भइरहेको छ । ९० किलोमिटर सडक बनाउदा कति रुख काटिए भन्ने तथ्याङ सम्म उप महानगरपालिका संग छैन ।
सडक निर्माणका लागि करौडौ खर्च गर्ने सरकारी निकायहरुले हरियाली बढाउने तर्फ पटकै ध्यान दिएका छैनन् । उप नगरपालिकाले कहिं कतै रुख रोपेर हुर्काएको छैन । तर सफा र हराभरा नगरपालिका भन्न चाहि छाडेको छैन ।
५ बर्ष पहिले नेपालगन्ज–कोहलपुर सडक खण्डलाई बिस्तार गरी फोरलेनको सडक निर्माण शुरु भए संगै सडकको किनारामा रहेका रुखहरु काट्ने क्रम अझै रोकिएको छैन । फोर लेन सडक निर्माण गर्दा सडकको किनारामा रहेका अशोक, गोल मोहर जामुन तथा स्थानिय बासिन्दाले रोपेर संरक्षण गरेर हुर्काएका बर बिपल सहित १ हजार ४ सय ३७ वटा रुख काटिएका थिए । त्यति धेरै रुख काट्दा सडकको बिच भागलाई ग्रिन बेल्ट बनाउने भनियो । कानुनी बाध्यता पुरा गरेर झाडा टार्ने र बजेट सक्ने मनसायले बनाइएका ग्रीनको अधिकाश क्षेत्र उजाड र कुरुप अवस्थामा छ । त्यसका छाडा चौपायाको बिगबिगीका कारण ग्रीन बेल्टको अवस्था झनै दयनीय बनेको छ ।
हरियालीका साथै शितल छायाँ दिने रुख काटिएपछि पैदल यात्रु, सवारी साधनको पर्र्खाइमा बस्ने यात्रु समस्यामा परेका छन् । रुखको छायाँमुनि बसेर थकाई मेटाउने देखि छायामा बसेर ब्यापार गर्नेहरु पनि मारमा परेका छन् । नेपालगन्ज उप महानगरपालिकाका प्रमुख डा. धबल समशेर राणाले बर्षात्का बेला नेपालगन्जको जमुनाहदेखि राझा चोक क्षेत्रमा बिरुवाहरु रोपेर नेपालगन्जलाई हरियाली बनाउने अभियान सुरु गर्ने बताए ।
विकास निर्माणका योजनाहरु वातावरण मैत्री हुनु पर्छ । बातावरणीय सन्तुलन कायम राख्नका लागि एउटा रुख काटे पछि त्यसको सट्टा २५ वटा नयाँ रुख रोप्नु पर्छ भन्ने मान्यता छ । तर जमुनाह कोहलपुर फोरलेन सडक निर्माण आयोजनमा सडक निर्माण क्षेत्रका रुख काटिए पनि नयाँ रुख रोपेर हुर्काउने काम भने हुन सकेन ।