बाँके, बर्दियामा हराउँदै टाँगा

दैनिक नेपालगन्ज/प्रेम विश्वकर्मा
केही वर्ष अघिसम्म सहजै घर खर्च र रोजीरोटी चल्थ्यो, नेपालगन्ज वरपरका क्षेत्रमा टाँगा कुदाउनेहरुको । तर, अब त्यति सहज छैन । खुम्चदो टाँगा व्यवसायले व्यवसायीहरु निराश मात्र छैनन्, टाँगाको सहरका रुपमा रहेको परिचय पनि गुम्न थालेको गुनासो सुनाउँछन् ।

 

पहिले कोहलपुर, ढकेरी, खजुरासम्म जाने टाँगा अहिले नेपालगन्जमै पाउन छाडेका छन् । छिटफुट रुपमा धम्बोजी चोक र नगरभवन अगाडि मात्र टाँगाहरु भेन्टिछन् । टाँगा चालकहरु भने साँझ विहानको जोहो गर्न नै मुस्किल भइरहेको बताउँछन् । बर्दियाको गुलरिया वरपर टाँगा चलाउने ब्यवसायी पनि यस्तै प्रकारको समस्याबाट पीडित भइरहेका छन् । टाँगा चालक नुर महम्मदले भने, ‘नाम मात्रको टाँगा स्टैण्ड छ । ब्यवस्थित पार्किङको सुविधा छैन । पहिले जस्तो सवारी पनि पाइदैनन् । एक पटक यहाँबाट मुर्तिया जाने हो । अर्को पटक पालो आउँदैन । आम्दानी भन्दा खर्च धेरै हुन्छ ।’
अर्का टाँगा चालक राजु सिद्धिकी पनि परम्परागत पेशा हराउँदै गएको बताउँछन् । उनी भन्छन्, ‘बाजेले पनि टाँगा चलाउनुभयो । हामी पनि त्यही टाँगा चलाउँदै छौं । झन्डै सात किलोमिटर परको दुरीमा रहेको मुर्तियासम्म एक पटक मात्र सवारी लिएर जान्छौं । सवारी कम भएकाले त्यति पैसा हँुदैन । पहिले हामी, ताराताल, बगनाहा, भुरीगाउँ, कोठियाघाट, बैरीयाघाट, मैनापोखर, भोलागौटी सम्म जान्थ्यौं । अहिले अटो रिक्सा, गाडिले गर्दा कोही पनि टाँगामा बस्न आउँदैनन् ।’

 

 

भारतीय सिमा नाका जोडिएका सहर बाँकेको नेपालगन्ज–रुपैडिहा, बर्दियाको गुलरिया–मुर्तिहा, राजापुर–कर्तनियामा केही वर्ष अघिसम्म टाँगाको लस्कर हुन्थ्यो । तर, त्यसको ठाउँ अहिले अन्य साना ठुला सवारी साधानहरुले ओगटी रहेको पाइन्छ । तत्कालिन राजा महेन्द्रले समेत नेपालगन्जको टाँगामा सवार गरेको जानकारहरु बताउँछन् । केही समय अघि सम्म नेपालगन्ज वरपरको क्षेत्रमा ६ दर्जनको हारीहारीमा टाँगा रहेका थिए ।

 

 

बाँकेको नेपालगन्ज उपमहानगरपालिका कार्यालय र बर्दियाको गुलरिया नगरपालिका कार्यालयले टाँगा ब्यवसायलाई ब्यवस्थित र आधुनिकरण गर्न सक्रियता देखाएको छैन । जनप्रतिनिधि आएपछि ब्यवस्थित टाँगा स्टैण्ड सहित विभिन्न कामको अपेक्षा गरेका ब्यवसायी असन्तुष्ट बन्न थालेका छन् । पहिले दुबै जिल्लाका नगरपालिकामा टाँगाको दर्ता नविरकण गर्ने परिपाटी भएता पनि पछिल्ला दिनहरुमा पुरै निष्कृय रहेको पाइएको छ ।

 

 

गुलरिया नगरपालिकाले भने वि.सं. २०४५ साल देखि २०७० साल सम्मको अवधिमा ४३ वटा टाँगा दर्ता भएको तर वर्तमान अवस्था बारे कुनै जानकारी नभएको बताएको छ । सम्बद्ध कर्मचारीले भने, ‘टाँगा ब्यवसायीहरु नै चासो दिदैनन् । नगरपालिकाले मात्र के गर्ने ? कार्यालयमा टाँगा ब्यवसायीले आप्mना माग राखेको पनि त्यति देखिन्न ।’ टाँगा व्यवसायलाई संरक्षण गर्न सके यसले पर्यटन व्यवसायमा समेत टेवा पुर्याउन सक्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया