सनत रेग्मी
नेपालगन्ज बाँके । नेपालगन्ज मोरङ–मोरङ गोग्रहा–गोग्राहा विराटनगर । त्यति बेला हाम्रो संचार व्यवस्था कस्तो थियो होला । बाँकेमा नेपालगन्ज नगर बसिसकेको कुरा मोरङका कृष्ण प्रसाद कोइरालालाई पत्तै थिएन । उनले मोरङको गोग्राहा बजारलाई व्यवस्थित गर्दै नेपालगन्ज नाम दिएका थिए रे । मोरङमा नेपालगन्जको आधाआधि बस्ती विकास भैसकेपछि पश्चिम नेपालमा नेपालगन्ज बजार बसिसकेको थाहा पाएपछि गोग्राहा बजार, नेपालगन्जबाट विराटनगर भयो रे ? यस्ता थुप्रै रे का कुराले हाम्रो सहर गाउँघरका थुप्रै लुकेका कुराहरु उजागर हुन्छन् । पश्चिम नेपालका इतिहासका धेरै कुरा इतिहासका गर्भमा पुरिएर रे मा विलुप्त भएका छन् । आउने पिढिलाई यी सबै कुरा रे भइदिएका हुन्छन् । यस्तै अनुश्रुतिहरुको रे का कुराहरुमा यस आलेख मार्फत भन्न चाहन्छु ।
सन् १८६० को स्वतन्त्रता संग्राममा अवधकी बेगम हजरत महल आफ्नो राज्यलाई स्वतन्त्र गराउन ब्रिटिश सरकारसँग लडेको सरकारसँग लडेको र उनको भीषण युद्धलाई अंग्रेजहरुले गदर भनेर दबाउन खोजेको र त्यस गदरलाई दबाउन नसकेर लखनउको गदरलाई साम्य पार्न जंग बहादुरले सेना पठाइ सहयोग गरेको ऐतिहासिक सत्य हो । त्यस गदरमा लखेटिंदै लखेटिंदै बेगम हजरत महल बाँकेमा आएर बाँके गाउँमा पडाव हालेकी थिइन् रे ! क्याप्टन म्युर उनलाई पिछा गर्दै बाँके गाउँमा पुगेका थिए रे । क्याप्टन म्यूरको सेना नापारा हुँदै बाँके गाउँ तर्फ आउँदैछ भन्ने थाहा पाएर, हजरत महल बाँके गाउँबाट पश्चिम लागिन् र खजुराको जंगल हुँदै उत्तर तर्फ लागेर, डिगिया जब्दहवा हुँदै जंगलै जंगल ठुडियामा बास बस्न पुगिन रे । ठुडियाको जंगलमा उनका सहयोगी नाना साहब पेशवा, राणा बेनी माधव सिंह आदी बिरामी भएका हुनाले एउटा टुकडी सेना र केही सेवकलाई लिएर उनी बैजापुर तिर लागिन रे । त्यतिबेला सिधनिया घाटमा ब्रिटिस सरकारका क्याप्टन म्युरको सेना र हजरत महलको बीचमा युद्ध भएको थियो रे, त्यस युद्धमा ब्रिटिश सेनाका तमाम हाथी, घोडा, सैन्य सामाग्री र सेनाहरु राप्तीमा बगेका थिए रे, यो रे को कुरालाई सत्यापन गर्न लन्दन लाइब्रेरीमा रहेको क्याप्टन म्युरको पुस्तक ‘माई मूटिनी डायरी’ पढ्न पर्छ रे ।
यस्तै रे का कुरामा अर्को रे के थपियो भने काम हजरत महल नेपाल कि चेली थिइन रे, सल्यान जिल्लाका उनका मामाले आफ्नी काखे भान्जी सहितकी विधवा बहिनीलाई सेनामा काम गर्ने एकजना मुस्लिम खानसामा (भान्छे)लाई बिक्री गरिदिएका थिए रे । त्यही भान्से खानसामाको छोरी भएर उनी समयको हन्डर खाँदै लखनउको हाजी कहाँ पुगिन् र लखनउका नबाब वाजिद अलि शाहले मन पराएर उनलाई हजरत महलको खिताब दिएर आफ्नी बेगम बनाए र पछि प्रमुख बेगम पनि बनाए रे । त्यसै हुनाले बेगम हजरत महल नेपाल पसेकी हुन रे ।
बेगम हजरत महलले नेपालमा शरण लिएपछि उनीसँगसँगै आएका तमाम दासदासीहरु केही लखनउ फर्के त केही उता फर्कन मानेनन् । तिनीहरु नेपाल मै बसे । बेगम हजरत महलकी एकजना मुख्य दासीलाई कुष्ट रोगले छोएछ । त्यसो हुनाले उनी लखनउ फर्कन चाहिनन् र बाँकेको शाहपूर्वामा जंगलको छेउमा घर बनाएर बस्न थालिन् । उनको अण्डरमा रहेका केही ख्वाजाहरु पनि उनी सँगै बसे । उनीहरु मुस्लिम धर्मावलम्वी थिए । त्यसैले उनीहरुले शाहपूर्वा पछाडि वनकट्टीको जंगलमा एउटा सानो मस्जिद बनाएर बसेका थिए रे । त्यो मस्जिद २००७ साल सम्म त्यहाँ थियो रे, हिजडा स्वाजाहरुले नमाज पढ्ने मस्जिद भएकाले त्यसमा अरुले नमाज पढ्दैनन् । समय चक्रमा ती निःसन्तान ख्वाजाहरु मरे पछि त्यो मस्जिद खण्डहर हुँदै गयो ।
भन्छन्, बेगम हजरत महलकी ती दासीसँग हिरा, जवाहरात र सुनका मोहरहरु थिए । तर, कुष्ठ रोग लागेकाले उनी सारै दुखित थिइन् रे । एक दिन उनले थाहा पाइन नेपालगन्ज बजार बसाउन आएका सुब्बा पद्यनाभ जोशीले एउटा कुष्ठ रोग लागेका रोगीलाई ठिक पारेका छन् रे । उनी पनि एक दिन सुब्बा साहब कहाँ गएर आफुलाई कुष्ठरोग लागेको र यसको इलाज गरिदिनुस् भनिन् र आफुसँग धन सम्पत्ति भएर पनि कुष्ठरोग लागेको र यसको इलाज गरिदिनुस् भनिन् । र, आफुसँग धन सम्पत्ति भएर पनि कुष्ठरोग लागेकाले सबै व्यर्थ भएको कुरा गरेर रोइन् ।
सुब्बा पद्यनाभ जोशीले भने, म जडिबुटी र तान्त्रिक विधिले तिम्रो इलाज गर्छु । इश्वरको अनुकम्पा भएमा तिमी ठिक पनि हुन्छौं । नेपालगन्ज नगर बन्दै छ तिमीले यहाँको जनतालाई पानी खाने सुविधाका लागि इनारहरु बनाइदिनुपर्छ, हाम्रो नव दुर्गालाई समर्पण हुने गरी नौ वटा इनार तिमीले बनाइ दियौ भने तिम्रो कल्याण हुन्छ । तिम्रो कुष्ठरोग पनि निको हुन्छ ।
तिनले मेरो कुष्ठरोग निको हुन्छ भने हजुर मेरो धनले आफ्नो पद्धति अनुसार पुजाआजा गर्ने र इनारहरु बनाउने काम गर्नुस् । म अल्लाहको इबादत गर्छु भनिन् । भन्छन्, उनको त्यही धन खर्च गरेर उनले तान्त्रिक साधना गरेर शाहपूर्वा देखि धम्बोझीसम्म ९ वटा ठूला कुँवा बनाउन लगाएका थिए । ती कुँवाको जगत र कुँवा, अष्टकोण आकारका र एउटै नक्साका थिए रे ।
शाहपूर्वाको राप्ती सडकमा १, पुरैनी गाउँमा १ अनि साहवाको गगनगन्जको मोडमा कुनामा १ बागेश्वरी मन्दिर पछाडि १, मुक्तिनाथ अर्यालको घरनेर १, रानी तलाउको छेउमा १, चोक बजारमा एक गरी नौ वटा ठूला इनार बनाएका थिए । भन्छन्, तान्त्रिक विधिले पुजाआजा, कुँवा निर्माण र जडिबुटीको प्रयोगले सुब्बा पद्यनाभ जोशीले उनको कुष्ठरोग निको पारिदिए । कुष्ठरोग निको भएपछि मात्र उनी लखनउ फर्किइन् रे । यी रे कुरा कहाँसम्म सत्य हुन् मलाई थाहा छैन । बुढा पाकाबाट सुनेको हुँ ।
भन्छन्, बाँके किल्लाको पूर्वद्वार र उत्तरद्वार भत्काएर बीचबाट त्रिवेणीमोडदेखि कालिमाई मन्दिरसम्मको बाटो खोलेपछि बिस्तारै अवशेष नै रहेन । किल्लाको वरिपरिको पानीको खाईको अलिकता अवशेष उत्तर पट्टिको नालाको रुपमा रहेको छ ।
बाँके किल्लाको पछाडिको जंगलमा बाघ देखिन्थ्यो रे । नेपालगन्ज बजार बसिसकेपछि पनि बजारको नजिकैसम्म बाघ आउने गर्दथ्यो रे । सन् १८६० भन्दा पूर्व नै तुलसीपुर स्टेट भएका बखतमै पनि नेपालगन्ज सानो मस्जिद बनाएका थिए । अहिलेको जामे मस्जिद बनेको ठाउँमा मस्जिदको तीन तिर खाडल थियो । त्यो खाडल पं. शिवनारायण जोशी, नानीबाबु सुब्बाले हनुमान गढी मन्दिरको निर्माण हुँदा खनेको माटोको कारण हो । पहिला मस्जिदको वरिपरि खाडल थिएन । सम्वत् १९७७ मा पुरानो मस्जिदको जीर्णोद्वार गरी ठूलो जामे मस्जिद र मदरसा समेत बनाइयो । त्यस पश्चिममा रहेको मदरसामा ‘दाना शाह’ नामक मौलवीले धार्मिक पठनपाठन गर्दथे । पछि मो. गुलाम वारिस (गगनगन्ज निवासी)ले पनि पढाउन थाले । जामा मस्जिदको निर्माणमा दाना शाहको निकै योगदान थियो रे ।
वाजिद अलि शाहका उस्ताद संगीतज्ञ ताज खाँ अंग्रेजहरुको डरले बेगम हजरत महलका साथ बाँकेमा आएका थिए । बेगम हजरत महल जंग बहादुरको शरणार्थी भएर काठमाडौं गएपछि ताज खाँ नेपालगन्जमै बसे । भर्खरको जंगबाट विकसित सहर नेपालगन्जमा उनको हुनर कसले बुझ्ने, उनी जामा मस्जिदको किनारमा उभिएर धार्मिक गीत गाउँथे रे । पछि वीर समशेर महाराज शिकारको शिलशिलामा नेपालगन्जमा आउँदा उनले उनको गायनको प्रसिद्धि सुनेर आफ्नो टुर मुकाममा बोलाएर उनको गीत नयन सुनरे सोधपुद्ध गर्दा त उनी नवाव वाजिद अलि शाहका उस्ताद भएको कुरा थाहा पाएछन् । अनी उनले वाजित अलि शाहका उस्ताद ताज खाँलाई काठमाडौं लगेका रे । ताज खाँ, दिपक राज गाएर तानसेनले झै बत्ति बाल्दिन्थे रे । उनी महाराज वीर समशेरका दरबारका ठूला गवैयामा दरिन थाले रे ।
बेगम हजरत महलको सरकारका पुलिस मन्त्री थिए ठा. उमराव सिंह, उनी पछि हजरत महल काठमाडौं गएपछि लखनउ फर्कन चाहेनन् । उनले आफुसँगै आएका सैनिकहरु जो लखनउ फर्कन चाहेनन्, उनीहरुसँगै उदयपुर (हालको लालपुर्वा) भन्ने ठाउँलाई उमराव सिंह पूर्वाको नाममा आवाद गरेर गाउँ बसाए । उनी धेरै बाँच्न सकेनन्, उनको मृत्यु औल लागेर भएको थियो । उनी उमराव सिंहका नातीको नाम पनि उमराव सिंह थियो रे । उनी दुई भाई थिए । उमराव सिंह र कल्लु सिंह । दुवै भाई सारै न्याय प्रिय थिए । चौधरी, जिमिदार, पटवारीबाट शोषित पीडितहरुको रक्षा गर्न उनले बन्दुक उठाएका थिए रे । उनी सरकारका प्रतिनिधि, चौधरी जिमिदार र पटवारीलाई मान्छे न गन्ने भएकाले वागियान डाँकु करार गरिए । तर, उमराव सिंह भने ठूलालाई लुटेर गरिब गुरुवाहरुलाई बाँट्ने गर्दथे । उनले आफ्नो धन सम्पत्ति सबै नुनको व्यापार गर्ने काशी लोनियालाई राख्न दिन्थे रे । त्यस समयमा एकजना कहारकी दुई छोरी सुर्जा र मेढा नेपालगन्जका शरायमा बस्दथे रे, दुवै सारै दबंग र कसैलाई नटेर्ने र आफैमा मैमत्त भएर हिड्ने हुनाले निकै चर्चित युवतीहरु थिए रे । भन्छन्, ती दुवै उमराव सिंह ठाकुरको संरक्षणमा थिए रे । उमराव सिंहले उनीहरुलाई रानी तलाउमा एउटा घर किनेर राखी दिएका थिए रे । नेपालगन्जमा रहँदा उनी त्यही बस्ने गर्दथे रे । ठाकुर उमराव सिंह चौधरी, जिमिदार पटवारीहरुका लागि आतंक र अन्य सर्वसाधारणका लागि मुक्तिदाता नायक थियो । व्यापक जन समर्थन पाएकाले उनलाई समाउन थुन्न सकेका थिएनन् । एक पटक उनी के भएर हो समातिए रे, उनलाई अहिले पानी ट्यांकी भएको ठाउँमा भएको जेलमा राखिएको थियो । उनी त्यहाँ धेरैदिनसम्म टिक्न सकेनन् । कल्लु सिंहले उनको कानीघोडी लिएर बालदा तलाउ निर उभिए रे अनि उमराव सिंह जेलको पर्खालमा चढेर त्यहाँबाट हाम फालेर बालदा तलाउमा उभिएको आफ्नो कानी घोडीमा चढेर बेपत्ता भए रे । बिस्तारै उनको प्रसिद्धि सुर्जा, मेढा र उनको अन्तर कथाहरु विस्तृत हुँदै यो र हामी जस्ताले नेपालगन्जका एक नायक उमराव सिंह पनि थिए रे भन्ने सम्म जानेका छौं ।
यस्तै, यस्तै थुप्रै रे का कुराहरुमा नेपालगन्जको विगत पुरिएर बसेको छ । म त्यसलाई उधिन्ने प्रयत्न गर्दैछु ।